• ११ मंसिर २०८१, मङ्गलबार

पोखरा थिएटरमा पाठ्यक्रम लक्षित नाटक

blog

सन्तोष सुवेदी

कास्की, साउन १५ गते । पोखरा थिएटरमा कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयको ‘घरको माया’ एकाङ्कीलाई नाट्य रुपान्तरण गरेर तयार भएको ‘दुई नाटक’ मञ्चन सुरु भएको छ । 

नाटकलाई पहिलो दिन ‘प्रिमियर सो’ मार्फत गन्धर्व नाटकघरमा मञ्चन गरिएको हो । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक अब भने ‘बुकिङ सो’ मार्फत मञ्चन हुने भएको छ ।  जसका लागि पोखराका विद्यालयबाट ‘सो बुक’ हुने क्रम सुरु भइसकेको पोखरा थिएटरले जनाएको छ ।

नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय हेर्न पाइनेछ । भीमनिधि तिवारीले लेखेको कथा र एकाङ्कीलाई परिवर्तनको परिकल्पना र निर्देशनमा नाटक तयार भएको हो । निर्देशक परिवर्तनले पछिल्लो समयमा विद्यार्थीको आर्कषण नाट्य क्षेत्रमा बढ्न थालेकोले उनीहरुलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागिएको बताउनुभयो । 

यो नाटकले विद्यार्थीलाई उनीहरुको स्थानीय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउने उहाँको भनाइ छ । "यो नाटकले विद्यार्थीका लागि व्यावहारिक दृष्टिकोण प्रदान गर्नेछ, उनीहरुमा विषयवस्तु तथा सन्देशहरुको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउनेछ,” पोखरा थिएटरका अध्यक्षसमेत रहेका निर्देशक परिवर्तनले भन्नुभयो ।