• १२ मंसिर २०८१, बुधबार

राजनीतिमा सूर्यप्रसादको सान्दर्भिकता

blog

नेपालमा प्रजातन्त्रको बिगुल फुक्ने दल र तिनका नेताहरूको त्याग र सङ्घर्षका गाथालाई जति कोट्यायो उतिनै पत्र निस्कन्छन् । नेपाली कांग्रेसका संस्थापक चार नेता ‘बिग फोर’ का रूपमा बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय सुपरिचित छन् । आज नेपाली कांग्रेसका मस्तिष्कका रूपमा परिचित सूर्यप्रसाद उपाध्यायको ४३ औँ स्मृति दिवस पनि हो । कांग्रेसले उहाँको स्मृति दिवसमा खासै कार्यक्रम राख्ने गरेको पाइँदैन । कांग्रेसले उपाध्यायलाई चार महान् नेताको मर्यादा क्रममा पुनस्र्थापित गर्ने निर्णय गरेको छ । 

१९७० साल वैशाख १९ गते जन्मिएका उपाध्यायको २०४१ साल साउन १५ गते उपचारको क्रमममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो । यसर्थ आजको दिन उपाध्यायको राजनीतिक, सामाजिक तथा बौद्धिक व्यक्तित्वको चर्चा गर्नु सान्दर्भिक हुने छ । २०१७ साल अघिसम्म चार नेतालाई ‘बिग फोर’ का रूपमा सम्मान गरिन्थ्यो । कांग्रेसलाई जीवन्त र गतिशील बनाउनमा यी नेतामा रहेका विशेष गुण र क्षमताले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको निम्ति निरन्तर सङ्घर्ष गरिरहने कर्मठ योद्धाका पङ्क्तिमा सूर्यप्रसादको नाम अग्रपङ्क्तिमा आउँछ । यिनै मूल्य मान्यतमा उभिएर राजनीति गर्नेका लागि सूर्यप्रसाद एक अब्बल पाठशाला मानिन्थे । 

 राणाकालमै एमए, एलएलबी र बीएड जस्तो उच्चशिक्षा प्राप्त गरेका उपाध्याय उच्च बौद्धिक व्यक्तित्व थिए । सायद उनमा रहेको यही बौद्धिकताका कारण होला राजा महेन्द्रले प्रधानन्यायाधीश र विश्वविद्यालयको कुलपतिमा बसेर सहयोग गर्न प्रस्ताव गरेका थिए । सूर्यबाबुको मनले राजाका यस्ता प्रस्ताव स्वीकार गर्न मानेन । किनकि उनी २०१८ सालमा जेलबाट छुटेपछि कांग्रेसमा फरक विचार लिएर उभिए पनि कांग्रेसको नीति र मूल नेतृत्वलाई असर पर्ने किसिमका कुनै सम्झौता गर्न तयार भएनन् । २०१७ साल पुस १ गते बिपीसँगै गिरफ्तारीमा परेका उपाध्याय करिब नौ महिनापछि रिहा भए । उनको यो रिहाइका बारेमा जे जस्ता आशङ्का व्यक्त भए पनि २०१७ सालदेखि २०२५ सालसम्मको सङ्कटपूर्ण अवस्थामा कांग्रेसको हित र संरक्षणमा अठोटपूर्ण तवरले निरन्तर लागिरहे । 

राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो अध्ययन गरेका गर्नुभएका सूर्यप्रसाद रष्ट्रिय तथ अन्तर्राष्ट्रिय घटनाक्रम र परिस्थितिलाई गम्भीर विश्लेषण गर्न सक्ने खुबी र क्षमता राख्थे । उनमा रहेको यस किसिमको विचार र दृष्टिकोणलाई बिपीले पनि भरपूर उपयोग गरे भन्ने कुरा विभिन्न सन्दर्भबाट प्रस्ट हुन्छ । सायद यिनै कारण होला बिपी उनको घरमा बरोबर गइरहन्थे । हरेक विषय वस्तुमा विचार विश्लेषण गर्ने तार्किक क्षमता भएका सूर्यप्रसाद कांग्रेसको बौद्धिक सम्पत्ति नै मानिन्थे । कार्यकर्ता र साथीभाइबाट फुर्सद लिएका बेला उनी प्रायः आफ्नै घरको पुस्तकालयमा भेटिनुले उनमा अध्ययन विशेष रुचिको विषय थियो भन्ने प्रमाणित हुन्छ । उनको पुस्तकालयमा नेपालबाट निस्कने सबै पत्रपत्रिका र भारतबाट प्रकाशित हुने अधिकांश अखबार र म्यागेजिनसमेत हुन्थे । नेताहरूमा सुवर्ण शमशेरको पुस्तकालय पनि ठुलो थियो । उनी पनि निकै अध्ययनशील नेतामा गनिन्थे । कांग्रेसको पछिल्लो पुस्ता यसतर्फ कति सचेत छ, त्यो थाहा छैन । त्यति बेला राजनीतिसँगै पठन संस्कृतिको पनि राम्रो विकास भएको थियो भन्ने नेताहरूको दैनिकीले स्पष्ट पार्दछ । 

कांग्रेसका नेताहरू बिपी, सुवर्ण शमशेर, गणेशमान र सूर्यप्रसादका बारेमा अध्ययन मनन् गर्दा वा बुझ्दा २००७ देखि २०१७ सम्म उनीहरू एक अर्काका परिपूरक बनेर रहेको देखिन्छ । सबैभन्दा ठुलो स्वार्थ देश र पार्टी भन्ने सोच र चिन्तन बोकेका नेता भएकै कारण नेताहरूको ध्यान पार्टीको नीति, सिद्धान्त र आदर्शमा मात्र केन्द्रित रहने गरेको पाइन्छ । त्यति बेला नेताहरू पदमा जान त्यत्रो ठुलो हानाथाप भएको पनि देखिँदैन । सुवर्ण शमशेर, सूर्यप्रसाद र गणेशमानले बिपीका धेरै कदममा निरन्तर साथ दिए । बिपीले पनि यी नेताको सल्लाह र सुझावलाई सधैँ ग्रहण गरेर अघि बढे । २०१६ सालको निर्वाचनमा दुई–दुई ठाउँबाट हारेका सूर्यप्रसाद उपाध्ययको घरमा बसेर मन्त्रीमण्डलको नाम बिपीले तय गर्नु र मुलुकको शक्तिशाली गृहमन्त्री बनाउनुले पनि बिपी र सूर्यप्रसाद बिचको सम्बन्ध कस्तो थियो भन्ने स्पष्ट हुन्छ । सूर्यप्रसादले पनि बिपीको धेरै कदमलाई सहयोग र साथ दिए । सूर्यप्रसाद जेलबाट छुटेपछि राजा महेन्द्रले ऋषिकेश शाहमार्फत उनलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाउने कुरा पु-याए तर उनले त्यसलाई स्वीकार गरेनन् । नेताहरूलाई जेलमा राखेर आफूलाई कुनै पद नचाहिने भन्दै उनले अन्य पदको जिम्मेवारीसमेत अस्वीकार गरे । यसरी सत्तालिप्साबाट टाढा रहेर सत्तामा बसेकाहरूलाई खबरदारी गर्न सक्ने आँट र सामथ्र्य भएकै कारण त्यस बेलाका शासकका लागि उनी चुनौती बनेर उभिए । २०१७ सालको घटना हुनुभन्दा केही दिन अगाडि सुवर्ण शमशेर दिल्ली जानु र सूर्यप्रसाद नौ महिनामै जेलबाट छुट्नुलाई पनि शङ्काको दृष्टिकोणबाट हेर्ने गरेको पाइन्छ । तर यी घटनामा कुनै सत्यता भेटिँदैन । यस्तो हो वा थियो भने तत्कालीन समयमा उनीहरूले ठुलै लाभ लिन सक्थे । त्यो काम न सुवर्णले गरे न सूर्यप्रसादले नै । सुवर्णजी बिपी, गणेशमान सिंहसँग सल्लाह गरेरै दिल्ली गएको कुरा पनि विभिन्न विचार र बहसमा प्रस्तुत भइसेका छन् । सुवर्ण शमशेरलाई एयरपोर्टसम्म पु-याउन बिपी र गणेशमानजी स्वयं गएको कुरा बिपीले आफ्नो आत्म वृत्तान्तमा पनि उल्लेख गरेका छन् । बरु एयरपोर्ट जानेक्रममा बिपीले सुवर्णलाई राजाले कुनै कदम चल्न सक्छन् भन्ने कुरा गर्दा सुवर्णजीले अहिल्यै त्यस्तो केही नगर्लान् भनेको कुरा बाहिर आएको थियो । बिपीलाई पनि राजाले यति चाँडै यस्तो कदम चाल्छन् भन्ने विश्वास थिएन । २०१७ सालपछि र सूर्यप्रसाद जेलबाट छुटेपछि भने बिपी र सूर्यप्रसादबिच सत्र साल अगाडिको जस्तो सम्बन्ध नरहेको विभिन्न सन्दर्भ र राजनीतिक घटनाक्रमले पनि देखाउँछ । २०१८ सालमा सुवर्ण शमशेरले सुरु गर्नुभएको सशस्त्र विद्रोह र २०३१ सालमा बिपीको निर्देशनमा भएको सशस्त्र विद्रोहको पक्षमा सूर्यप्रसाद रहनुभएन तर जनमत सङ्ग्रहको प्रचार प्रसारमा बिपीसँगै धेरै कार्यक्रममा सहभागी भए । आफू जेलबाट छुटेपछि पनि जेलमा रहेका बिपी कोइरलालगायत नेताको रिहाइ र कांग्रेसका नेता तथा कार्यकर्ताको संरक्षणमा लागिरहनुले सूर्यप्रसादको राजनीतिक निष्ठा प्रस्ट हुन्छ । प्रजातन्त्रमा विधि, व्यवस्थापन र आचरणले मात्र व्यक्तिको सर्वोच्चता कायम राख्न सकिने र नैतिकवान् बनाउन सकिने विश्वासमा अडिग सूर्यप्रसादको जीवनका आखिरी दिनहरू यिनै मूल्य, मान्यता र विश्वासमा बितेको पाइन्छ । 

नेपाली कांग्रेस इतिहासका लेखक तथा कांग्रेस नेता पुरुषोत्तम बस्नेत २०४० तिर बिपीको आत्मकथा लिएर सूर्यबाबुलाई भेट्न जाँदा उनले मेरो पनि अटो बायोग्राफी तयार छ, अब चाँडै प्रकाशनमा आउँछ भनेका रहेछन् । यति बेला नेता बस्नेतको भौतिक शरीरको अवसान भइसकेको छ । सूर्यप्रसादको बहुआयामिक पक्षका बारेमा नेता बस्नेतसँग बसेर धेरै जान्ने बुझ्ने अवसर यस पङ्क्तिकारलाई पनि मिलेको थियो । अब त्यो अवसर सदाका लागि बन्द भएको छ । नेता बस्नेतको अनुभवमा सूर्यप्रसाद निकै अध्ययनशील र सुझबुझ भएका नेता थिए । उनको घरमा ठुलो पुस्तकालय थियो, त्यसमा नेपाल बाहिरबाट निस्केका राम्रा–राम्रा र हालसालै प्रकाशित भएका पुस्तक पनि हुन्थे । २०१७ सालपछि सुन्दरीजल बन्दी गृहमा रहनुभएका बिपी कोइरालालाई आवश्यकपर्ने कतिपय पुस्तक बस्नेतले नै सूर्यप्रसादको पुस्तकालयबाट लैजानु भएको थियो । उनको निधन भएको यतिका वर्ष भइसक्यो तर त्यो कहाँ छ कसैलाई पत्तो छैन । त्यसलाई प्रकाशनमा ल्याउन परिवार र आफन्तजनले सक्रियता देखाउनु पर्ने हो । यो बायोग्राफी प्रकाशनमा ल्याउन सकेमा नेपाली राजनीतिमा चाणक्य मानिने उपाध्यायका समग्र जीवन अझ झल्किने थियो । कांग्रेसको गरिमामय इतिहास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता सूर्यप्रसादप्रति हार्दिक श्रद्धासुमन । 

   

Author

गोकर्ण अर्याल