• १५ मंसिर २०८१, शनिबार

मुसहर महिलालाई बाख्रा वितरण

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन १५ गते । चन्द्रनगर गाउँपालिकामा ३१ परिवार मुसहरलाई बाख्रा वितरण गरिएको छ।

मुसहर समुदायको उत्थानमा क्रियाशील संस्था साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) ले अति विपन्न मुसहर परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा बाँडेको हो। 

चन्द्रनगर गाउँपालिका–२, बबरगन्ज र दनुवारी टोल तथा वडा नं. ३, बडकुर्वाका अति विपन्न मुसहर महिलालाई आयआर्जनका लागि एक एक वटा बाख्रा वितरण गरिएको साप–नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो। आज कमाएर आजै रमाउँछन् भन्ने आरोप खेप्दै आएको मुसहर समुदायले पछिल्लो समय साप–नेपालबाट सचेतनामूलक कक्षा पाएपछि समूहमा आबद्ध भई बचत गर्ने र विभिन्न आयआर्जनमूलक काम गर्न थालेको छ।

गाउँपालिकामा कृषि समूह दर्ता गरेका मुसहर महिलालाई आयआर्जनका लागि बङ्गुर, बाख्रा, पाडीलगायतका चौपाया वितरण गर्दै आएको संस्थाका प्रादेशिक संयोजक कार्कीले बताउनुभयो। उहाँका अनुसार सर्लाहीमा सबैभन्दा बढी मुसहर समुदायको बसोबास रहेको चन्द्रनगर गाउँपालिकामा मात्रै १७ वटा समूहमा आठ सयभन्दा बढी मुसहर महिला आबद्ध छन्। 

चन्द्रनगर गाउँपालिका–६, कामदमा यसअघि १७ घरपरिवारलाई खोर निर्माण गरी बङ्गुर वितरण गरिएको थियो। हालसम्म चन्द्रनगर र बसबरिया गाउँपालिका तथा हरिपुर र बरहथवा नगरपालिकामा १९१ मुसहर परिवारलाई बाख्रा, पाडी, बङ्गुर र कुखुरा तथा तरकारीको बिउ वितरण गरिसकिएको छ।