• २० असोज २०८१, आइतबार

धरानमा डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

blog

नीशा राई

धरान, साउन १४ गते । पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु तीव्र गतिमा फैलिँदै गएको छ । जेठ तेस्रो साता यता धरानमा डेङ्गु सङ्क्रमणबाट ८ जनाले ज्यान गमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा बढी छ । 

धरानमा सबैभन्दा बढी प्रभावित वडा १८, १५, १६, १७ र ८ रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभएको छ । अहिले देशभरका अधिकांश जिल्लामा डेङ्गु फैलिरहेको छ जसबाट बिरामीको सङ्ख्या बढ्दो रूपमा छ भने सबै भन्दा बढी प्रभावित धरान उपमहानगरपालिका रहेको छ । 

धरानमा अहिले डेङ्गु आक्रमित रूपमा फैलिरहेको छ । दैनिक डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या २ सयभन्दा बढी रहेको छ । साउन ११ सम्म धरानका तीन हजार ७ सय ३१ जनाले परीक्षण गराउँदा दुई हजार १ सय ९९ सय (अर्थात् ५९ प्रतिशत) मा पोजेटिभ रिपोर्ट आएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो ।

दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका डेङ्गुबाट जोगाउन धरान उपमहानगरले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियानलाई तीव्रता दिएको छ । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बढी प्रभावित वडा र टोलमा यो अभियान चलाइरहेको बताउनुभयो । सोमबारबाट धरानका सम्पूर्ण स्थानीयवासीलाई लक्षित गर्दै सभा हलमा डेङ्गुको बेग्लै परीक्षण गर्ने पनि उहाँले जानकारी दिनुभयो । 

स्थानीय सरकार नगर प्रमुख हर्क राज राई र उपप्रमुख आइन्द्र विक्रम बेघाले पनि दिनहुँ डेङ्गुको बारेमा घरघरमा गएर सचेत तथा सर्च एन्ड डेस्ट्रोय समेत गर्दै आउनुभएको छ । स्थानीय सरकारले विभिन्न डेङ्गु नियन्त्रणको बारेमा अभियान, पहलहरू गरेपनि अझैसम्म डेङ्गु नियन्त्रण भने हुन सकेको छैन, यसको प्रकोप झन् बढ्न थालेको छ । 

डेङ्गु महामारीको रूपमा फैलिँदा हाल धरान उपमहानगर र बिपी प्रतिस्थानको संयुक्तमा डेङ्गुको उपचारको लागि कोभिड अस्पतालमा ३० बेड सञ्चालनमा ल्याएर बेग्लै उपचार हुँदैछ। डेङ्गुका बिरामी बढेपछि जिओपिडी अघि अलग्गै डेङ्गु क्लिनिक सञ्चालनमा ल्याएको बिपी प्रतिष्ठानले छुट्टै डेङ्गु वार्ड पनि सञ्चालनमा ल्याएको हो । 

बिरामीहरूलाई सहज उपचार सेवा उपलब्ध गराउन प्रतिष्ठानले अलग्गै ३० बेडको डेङ्गु वार्ड सञ्चालनमा ल्याएको प्रतिष्ठानका सह प्रवक्ता डा.पोखरेलले बताउनुभयो । 

डेङ्गु सङ्क्रमितका बिरामीहरू बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभएर विजयपुर हस्पिटल र निजी मेडिकलहरूमा पनि डेङ्गु सङ्क्रमितका बिरामीहरूको सङ्ख्या बढ्दो छ। अहिले साना साना मेडिकलहरूले पनि डेङ्गु बिरामीहरूको उपचार गराइरहेका छन् ।

समयमै डेङ्गु नियन्त्रण नहुँदा धरानमा यसले प्रकोप रूप लिएको छ । डेङ्गुको सङ्क्रमणले धरानमा अहिले प्रत्येक घर घरमामा बिरामीहरू छन् । बिरामीको सङ्ख्या धेरै भएर अस्पतालले पनि उचित मात्रामा बिरामीको ख्याल राख्न सकेका छैन । बिरामीको सङ्ख्या धेरै र स्वास्थ्यकर्मीको सङ्ख्या थोरै हुनाले डेङ्गुको बिमारीहरूको अस्पतालमा बिजोक भइरहेको स्थानीयवासी विनीता राई बताउनुहुन्छ ।