फडिन्द्र अधिकारी
लेखनाथ, साउन १४ गते। पोखरा-३२ को लामेआहालका स्थानीयले फोहोर फाल्न रोकेपछि सडकमै फालिएको फोहोर आइतबार उठाइएको छ। स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएकोमा पाँच दिनदेखि स्थानीयले फोहोर फाल्न दिएका छैनन्।
सडकमा फालिएको फोहोर निरन्तरको वर्षाले जताततै छरिएर दुर्गन्ध फैलिन थालेपछि नागरिकले फोहोर चाँडै व्यवस्थापन गर्न खबरदारी गर्न थालेका छन्। उठाइएको फोहोर कहाँ फाल्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन। टुङ्गो नलाग्दासम्म फोहोर गाडीमै राखिने महानगरपालिकाकी सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिनुभयो।
फोहोर फाल्ने विभिन्न विकल्पमा छलफल भइरहेको उहाँको भनाइ छ। ‘आजबाट फोहोर उठाउन थालेका छौँ। टुङ्गो नलाग्दासम्म फोहोर गाडीमै राख्छौँ,’ उहाँले भन्नुभयो।
महानगरले पुस दोस्रो साता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ। फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका हुन्।
बिहीबार पोखरा-३२ का रविन केसीसहित तीन जनाले लामेआहालमा फोहोर फाल्न रोक्न माग गर्दै पोखरा महानगरविरुद्ध रिट दायर गरेका छन्। उच्च अदालत पोखराले रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।