भ्रष्टाचारविरुद्धको सरकारी अभियानप्रति सबैले खुलेरै प्रशंसा गरिरहेका छन् । शृङ्खलागत रूपमा एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्ने क्रम बढिरहेको छ । यसले जनजनमा सकारात्मक उत्साह र सन्देश छाएको छ । यो सरकारले केही नयाँ काम गर्छ कि भन्ने झिनो आशा जागेको छ । यो पार्टी र त्यो पार्टी अनि तेरो मान्छे र मेरो मान्छे भन्ने परम्परागत गलत प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेको देखिन्छ ।
यद्यपि निकृष्ट निहित स्वार्थमा रुमलिएको हाम्रो अर्थ राजनीतिक प्रणालीमा सहीलाई सही र गलतलाई गलत भन्ने चलन छैन । बरु उल्टै आफ्नो स्वार्थमा असर गर्छ भने सही विषयमाथि पनि विभिन्न दिग्भ्रम सिर्जना गर्ने गरिन्छ । अहिले भ्रष्टाचार नियन्त्रणको विषयमा पनि यही भइरहेको छ । कतिपय पार्टी तथा नेताहरू आफ्नोसमेत फाइल खोलिने त्रासमा उल्टै भ्रष्टाचार नियन्त्रणको यस्तो महाअभियानमाथि अन्टसन्ट कुरा गरिरहेका छन् । यो सरकारले राम्रो काम गर्दै छ भन्नुको साटो उल्टै मसाल जुलुस निकालिरहेका छन् । उनीहरू चुनावी जनमत बढ्छ भनेर त्रसित हुँदै भ्रामक हल्ला मच्चाइरहेका छन्; जुन विडम्बनाको कुरा हो ।
यस्तो अर्थराजनीतिक स्वार्थगत धरातलमा भ्रष्टाचारको पूर्ण अन्त्य सम्भव छ कि छैन ? पूर्ण अन्त्यका लागि कस्तो संरचना वा पद्धति अनिवार्य हुन्छ ? अर्थात् संरचनात्मक परिवर्तनबिना यसको अन्त्य हुन्छ कि हुँदैन । यसको अन्त्यका लागि हामीसँग स्पष्ट कार्यव्रmम, कार्ययोजना र इच्छाशक्ति नै नभएको हो कि वा संरचनात्मक समस्याले नदिएको हो ? कस्तो अर्थराजनीतिक संरचना भएमा भ्रष्टाचाको पूर्ण अन्त्य हुन्छ र कस्तो संरचना रहेसम्म केवल नियन्त्रण मात्र गर्न सकिन्छ ? यो आमबहसको विषय हो ।
उत्पादन पद्धति
कुनै पनि खास अर्थराजनीतिक दृष्टिकोणका आधारमा खास समाजको उत्पादन पद्धति तय हुने गर्छ । समग्र सामाजिक रचनाको स्वरूप उत्पादन पद्धति अनुरूप हुन्छ । पुँजीवादी दृष्टिकोण अन्तर्गत निजी उत्पादन पद्धति हुन्छ भने समाजवादी दृष्टिकोण अनुरूप सामाजिक वा सामूहिक उत्पादन पद्धति निर्णायक हुन्छ । कुनै पनि खास समाजको आधारभूत चरित्र कस्तो भन्ने कुरा उत्पादन पद्धतिमा निर्भर हुन्छ । किनभने समाजको सिङ्गो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक भाष्य यही उत्पादन पद्धतिकै आधारभूत चरित्र अनुरूप विन्यास हुने गर्छ ।
सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली र कार्यशैलीलाई उत्पादन पद्धतिले नै निर्धारण गर्छ । त्याग, बलिदान, लोभपाप, हित र स्वार्थ सबै यही उत्पादन पद्धतिद्वारा नै निर्देशित हुन्छ । यस कारण हरेक आयामलाई कमान्ड गर्ने सबैभन्दा प्राथमिक विषय भनेको उत्पादन पद्धति नै हो । यस कारण भ्रष्टाचारको अन्त्य वा नियन्त्रणका लागि पनि खास उत्पादन पद्धति निर्णायक बन्छ । अर्थात् नियन्त्रण कि अन्त्य भन्ने कुरा उत्पादन पद्धतिमा निर्भर हुन्छ ।
पुँजीवादी उत्पादन पद्धति
सम्पूर्ण उत्पादनका साधनमा निजी स्वामित्व र स्वार्थ कायम गरिने उत्पादन पद्धतिलाई पुँजीवादी वा निजी उत्पादन पद्धति भनिन्छ । यसमा उत्पादनको साधन वा अन्य स्रोतसाधनमाथि सीमित पुँजीपति वा धनीहरूको पूर्ण नियन्त्रण हुन्छ । अर्थात् मुट्ठीभर व्यक्तिहरूमा समग्र सम्पत्ति वा पुँजी केन्द्रीकृत भएको हुन्छ । यस्ता पुँजीको कमान्ड, कन्ट्रोल, परिचालन र व्यवस्थापन उनीहरूकै स्वार्थद्वारा निर्देशित हुन्छ । यस्तो पद्धतिमा जसरी र जे गरेर भए पनि अत्यधिक नाफा वा अतिरिक्त मूल्य खिच्ने रणनीति प्रधान हुन्छ । पुँजी सञ्चय गर्ने, कमाउने र धनी बन्ने निरपेक्ष निहित स्वार्थ निर्णायक हुन्छ ।
व्यक्तिगत वा संस्थागत रूपमा एकापसमा तीव्र अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यस्तो अर्थराजनीतिक उत्पादन पद्धतिमा समाजका सम्पूर्ण आयाम स्वार्थ सिद्धिको प्रमुख साधन बन्छ । उदाहरणका लागि राजनीति, पेसा, व्यवसाय, जागीर, सम्पर्क–सम्बन्ध, उठबस सबै पुँजी सञ्चय वा धन आर्जनको सिद्धान्तद्वारा निर्देशित हुन्छ । यस्तो वस्तुगत धरातलमा वस्तुतः भ्रष्टाचारको पूर्ण अन्त्य हुन सक्दैन । यसरी सिङ्गो समाजलाई नै तेरो–मेरो निहित स्वार्थले नेतृत्व गरेपछि त्यहाँ पुँजी उत्पादन, वितरण र लेनदेन सामाजिक हुँदैन । सबै उत्पादनका साधन र उत्पादन निजी हुन्छ ।
जसले बढी नाफा र अतिरिक्त मूल्य कब्जा गर्दछ, उसैले सम्पूर्ण सामाजिक सत्ताहरूमा पकड वा अधिपत्य राख्दछ । यसो भएपछि कुनै अमूक पार्टी वा नेताले मात्र भ्रष्टाचारको समूल अन्त्य गर्न सम्भव हुँदैन । यस कारण निजी उत्पादन पद्धति अन्तर्गत भ्रष्टाचारलगायतका विकृति र विसङ्गतिको केवल नियन्त्रण मात्र सम्भव हुन्छ । यही प्रणालीमा कसैले भ्रष्टाचार अन्त्यको स्वादिलो र चाखिलो कुरा गर्छ भने त्यो बनिबनाउ र मनगढन्ते मात्र हुन्छ वा भोट ब्ल्याकमेलिङ गर्ने सहज तरिका मात्र हुन्छ । किनभने भ्रष्टाचार त्यतिकै कुनै अमूक पार्टी र नेताहरूले मन वा रहर लागेर मात्र गरेको होइन । यसमा अर्थराजनीतिक दृष्टिकोणद्वारा निर्देशित लामो संस्कार र संस्कृति जोडिएको हुन्छ । यस्तै संस्कारमध्ये भ्रष्टाचार एक हो ।
समाजवादी उत्पादन पद्धति
सामाजिक वा सामूहिक स्वार्थमा गरिने उत्पादन पद्धतिलाई समाजवादी उत्पादन पद्धति भनिन्छ । यसमा सम्पूर्ण उत्पादनका साधन र उत्पादनमाथि सामाजिक वा सामूहिक स्वामित्व र स्वार्थ अन्तरनिहित हुन्छ । समग्र पुँजी उत्पादन र वितरण समाजवादी मूल्य अनुरूप हुने गर्छ । यहाँ तेरो–मेरो निहित स्वार्थ र हितको गुञ्जायस हुँदैन । रामेले भन्दा श्यामेले वा पल्लो घरकाले भन्दा वल्लो घरकाले बढी कमाउनुपर्ने अस्वस्थ स्वार्थगत प्रतिस्पर्धा हुँदैन ।
अर्थात् पुँजीवादी उत्पादन पद्धतिमा जस्तो जसरी र जे गरेर भए पनि अरूले भन्दा धेरै नाफा र अतिरिक्त मूल्य आर्जन गर्ने होडबाजी चल्दैन । यसमा व्यक्तिगतभन्दा सामाजिक हित प्रधान हुन्छ । योग्यता अनुसारको काम र काम अनुसारको दामको नीति हुन्छ । वस्तुतः समाजवाद भनेको आधारभूत रूपमै समानता र सामाजिक न्याय प्रत्याभूत गर्ने नीति हो । यसमा व्यक्ति–व्यक्तिहरूलाई समाजले सामूहिक ढङ्गले नेतृत्व गर्छ तर पुँजीवादी उत्पादन पद्धतिमा भने सीमित व्यक्तिले सिङ्गो समाजलाई आपूm अनुकूल निर्देशित गर्दछ । अर्थात् पुँजीवादी उत्पादन पद्धतिमा व्यक्तिप्रधान हुन्छ भने समाजवादी उत्पादन पद्धतिमा समाजप्रधान हुन्छ ।
यस कारण भ्रष्टाचारलगायतका सबै खाले बेथिति र विसङ्गतिको समूल अन्त्य गर्ने हो भने समाजवादी उत्पादन पद्धति पहिलो सर्त हुन्छ । यस्तो उत्पादन पद्धतिले हाम्रो सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली, कार्यशैली र संस्कृतिलाई सार्वजनिक किताब जस्तो खुला राखिन्छ । म, मेरो र आफन्तको स्वार्थका लागि कति पनि सोच्नै पर्दैन । हरेक पल सामाजिक वा सामूहिक स्वार्थ र हितलाई केन्द्रमा राख्ने गरिन्छ । तब त्यहाँ व्यक्तिगत स्वार्थबारे सोच्ने कुरै आउँदैन । जब व्यक्तिगत स्वार्थबारे सोच्नै पर्दैन, तब भ्रष्टाचारबारे सोच्न जरुरी नै हुँदैन । यसपछि भ्रष्टाचार स्वतः निर्मूल हुन्छ ।
अन्यथा सुझाव दिएर, धम्क्याएर, दण्ड–जरिबाना, कारबाही गरेर वा जेलनेल हालेर मात्र भ्रष्टाचारको अन्त्य हुँदैन । उदाहरणका लागि कतिपय मुलुकमा सिधै मृत्युदण्ड दिइन्छ तर पनि त्यहाँ भ्रष्टाचार बिसको उन्नाइस भएको देखिँदैन । समग्र समाजको उत्पादन पद्धति नै व्यक्तिगत स्वार्थद्वारा निर्देशित भएपछि अंशगत रूपमा कुनै अमूक पार्टी वा व्यक्ति बुद्ध बन्न सक्दैन । यो सार्वभौम नियम हो । कसैले बन्छ भन्छ भने त्यो सरासर बनिबनाउ र कपोलकल्पित कथा मात्र हुन्छ । यस कारण भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने हो भने समाजवादी वा साझा स्वार्थगत उत्पादन पद्धति लागु गर्नुको अर्को विकल्प देखिँदैन ।
निष्कर्ष
पुँजीवादी वा निजी उत्पादन पद्धतिमा भ्रष्टाचार निर्मूल हुँदैन । यस्तो उत्पादन पद्धतिमा अरू पेसा जस्तै राजनीतिलाई पनि निहित स्वार्थ र हितमा व्यावसायिकीकरण र भ्रष्टीकरण गरिएको हुन्छ । यसरी राजनीतिक उत्पादन पद्धति नै भ्रष्टाचारद्वारा उत्पे्ररित भएपछि तपसिलमा भ्रष्टाचार उन्मुक्त समाजको कल्पनै गर्न सकिँदैन । यसलाई नियन्त्रण वा कमसम्म गर्न सकिन्छ । किनभने भ्रष्टाचार भनेको उत्पादन पद्धतिद्वारा निर्देशित सिद्धान्त, सोच, चिन्तन, मनोविज्ञान, जीवनशैली, कार्यशैली अनि व्यवहारगत सांस्कृतिक भाष्यको कुल अभिव्यक्ति हो ।
भ्रष्टाचारको वस्तुवादी ढङ्गले समूल वा पूर्ण अन्त्य गर्ने हो भने वर्तमान उत्पादन पद्धतिलाई बदल्न जरुरी देखिन्छ । लामै प्रक्रिया भए पनि साझा समाजवादी उत्पादन पद्धतिमा मात्र यसको अन्त्य सुनिश्चित गर्न सकिन्छ । अरू उत्पादन पद्धतिमा यसको अस्थायी नियन्त्रण मात्र हुन्छ । तसर्थ हाम्रो राष्ट्रिय राजनीतिमा अभ्यास भइरहेको विद्यमान उत्पादन पद्धतिद्वारा यसको समूल अन्त्य सम्भव देखिँदैन । यो उत्पादन पद्धतिले गर्ने भनेको नियन्त्रणसम्म मात्रै हो । नियन्त्रण नै गर्ने भए पनि सरकारी अभियानलाई सकारात्मक दृष्टिकोणसहित सहयोग र समर्थन गरौँ । कम्तीमा थालनीलाई स्वागत गर्दै जरैसम्म पुग्न उत्प्रेरित गरौँ । यही प्रस्थान बिन्दुबाट नै उत्पादन पद्धति वा संरचनासमेत बदल्दै भावी दिनमा भ्रष्टाचारशून्य समाज निर्माण गर्न सकिन्छ । नत्र व्यवहारतः हामी भ्रष्टाचारको अनन्त गोलचक्करमा घुमिरहने छौँ । यसमा सरोकारवालाको गम्भीर ध्यान जान जरुरी छ ।