• ८ वैशाख २०८१, शनिबार

पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध

blog

बर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाउँदै पुजारी भरतदास वैश्णव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, साउन १३ गते । लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत पानी नपरेर धान रोप्न नपाएर चिन्तित यहाँका किसान धनुषाधाममा रहेको प्रसिद्ध धनुष मन्दिरमा शनिबार दुध चढाएका हुन् । 

धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । धेरै वर्ष पहिला यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही विश्वासले शनिबार विशेषपूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध अर्पण गरेका छन् । 

वर्षाको पुकार गर्दै पाँच सयभन्दा बढी किसानले दुध चढाएको मन्दिरका पुजारी भरतदास वैष्णवले बताउनुभयो । पानी नपर्दा यसरी नै पुस्तौँदेखि यहाँ दुध चढाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । 

असार महिनामा केही दिन परेको पानी तथा पम्पिङ सेटबाट सिँचाइ गरी कतिपय किसानले धान रोपेको भए पनि चर्को घामले धानबाली डढ्न थालेको स्थानीय युवा दुर्योधन महतोले बताउनुभयो । पानी नपर्दा मुठी छरेर मानो फलाउने आशा लिएर बसेका कतिपय किसानले धानको बीउ छरे पनि रोप्न नपाएर आत्तिएको उहाँले जानकारी दिनुभयो । 

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ५९ हजार हेक्टरमा धान खेत छ । त्यसमध्ये हालसम्म ३० प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको छ ।  

कृषिविज्ञ ललनकुमार सिंहले वर्षाको प्रबल सम्भावना रहेकाले आत्तिनुपर्ने अवस्था नहरेको बताउनुभयो । “असार महिनाभित्रै धान रोपाइँ गर्न सकियो भने अति उत्तम नभए साउनको अन्तिम सातासम्म रोपाइँ गर्न सकिन्छ । तर साउनभन्दा असार महिनाभित्र रोपिएको धान बढी उत्पादन हुन्छ” उहाँले भन्नुभयो ।  

यस्तै, सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । 

तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।