• ४ असार २०८१, मङ्गलबार

जागरण (कविता)

blog

उत्साह र उमङ्ग

बोकेर आउनेहरूलाई

रोक्न नखोज ।

उर्वर मन–मस्तिष्क र भावना

हुनेहरूलाई 

छेक्न नखोज 

ऊर्जावान् कर्मठ 

वाहकहरूलाई 

निस्क्रिय पार्न नखोज ।


उत्साहलाई रोक्न खोजे 

निरासाको बादल मडारिन सक्छ 

उर्वरपनलाई छेक्न खोजे 

सिर्जना ठप्प हुने छ 

ऊर्जालाई निस्क्रिय पार्न खोजे

विनाश हुन सक्छ । 


सिर्जना विहीनता, निरासा र विनाशले

विकासका मार्गहरू 

क्षत/विक्षत भएर भत्कने छन्

परिवर्तनमा बाधा पुग्ने छ 

अग्रगमनको गतिमा 

असर पर्ने छ 

प्रतिगमन मौलाउने 

अवसर पाउने छ ।


त्यसैले,

स्वतन्त्रत राष्ट्रको 

समृद्ध मुहार र समुन्नत भविष्य हेर्न  

उत्साह, उमङ्ग र ऊर्जा 

बोकेर आउनेहरूलाई 

स्वागत र सम्मान गर्न सक्नु पर्छ

ऊर्जा र उर्वरपनको 

उपयोग गर्न सक्नु पर्छ ।