• १५ वैशाख २०८१, शनिबार

साउनको महिमा

blog

हिन्दु धर्म–संस्कृतिमा साउन महिनामा शिवजीको पूजाआराधना गर्ने र व्रत बस्ने प्रचलन छ । त्यसमा पनि साउनको सोमबारलाई त विशेष दिनकै रूपमा लिने गरिएको छ । कसैले साउन महिनाभरि बोलबमका रूपमा त कसैले सोमबार मात्र व्रत बस्ने चलन चलेको पाइन्छ । 

त्यसो त शिवजीको प्रिय दिनका रूपमा सोमबारलाई लिइन्छ । यस दिन भगवान्लाई शुद्ध जल चढाएर विधिपूर्वक पूजा गरिन्छ । शिवजीको यस महिनाभरि पूजाअर्चना गर्दा पुण्य प्राप्त हुने तथा सौभाग्य र सुस्वास्थ्य प्राप्त हुने शास्त्रीय मान्यता पनि रहिआएको छ । शिवजीलाई पति प्राप्त गर्न पार्वतीले एक महिना निराहार व्रत बसेको प्रसङ्गले पनि नारीले आफ्नो पति, सन्तान तथा परिवारको कल्याणका लागि यो व्रत लिने गरेको पाइन्छ । 

शिवपुराणमा वर्णन भए अनुसार शिव नै स्वयम् जल हुन् । श्रवण नक्षत्रमा पर्ने महिना साउन हो । यसै गरी श्रवण नक्षत्रका स्वामी चन्द्रमा हुन् । चन्द्रमा शिवजीको शिरमा विराजमान छन् । चन्द्रमा शीतलताका प्रतीक हुन् । जब सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्, तब साउन महिना सुरु हुन्छ । जब सूर्य कर्कट राशिमा आउँछन्, तब वर्षायाम पनि सुरु हुन्छ । यसले महादेवलाई मात्र नभएर सारा ब्रह्माण्डलाई नै शीतलता प्रदान गर्दछ । 

यस महिनालाई धार्मिक कृत्य आयोजना गर्न नहुने महिना भनेर लिने गरिएको छ । यो महिना त विशेष रूपमा शिवको आराधना हुने महिना हो । अन्य महिनामा भन्दा यस महिनामा व्रत बस्दा र दान गर्दा धेरै गुणा पुण्य हुने लोकविश्वास पनि रहेको छ । यस वर्ष त पुरुषोत्तम मास परेकाले पनि झन् विशेष महत्व रहेको छ । 

साउनको सोमबारको व्रतको पूजाविधि पनि अन्य व्रतको जस्तै छ । यो व्रत सूर्योदय भएपछि सुरु हुन्छ र तेस्रो प्रहरसम्म शिवजीको उपवास बसिन्छ । यस अवसरमा शिवपुराण वा शिवकथा श्रवण गरिन्छ । त्यसपछि शिवजीको पूजापाठ आराधना गरिन्छ । तेस्रो प्रहरमा शिवजीको पूजा गरेपछि सात्विक भोजन गर्ने चलन छ । 

खास गरी यस महिनामा नारीले हरियो, पहँेलो र रातो पहिरनलाई प्राथमिकता दिन्छन् । यस बेला नारीहरू तीन रङका शृङ्गारमा सजिएर मठमन्दिर पुगेको देख्दा वातावरण नै आकर्षक देखिन्छ । नारीले साउन महिनामा हरियो, पहेँलो र रातो रङका चुरा, पोते, साडी, चोलो वा पहिरन लगाउनुका पछाडि कुनै विशेष कारण रहेको भन्ने तथ्य चाल पाउन सकिएको छैन ।कलरथेरापीमा वर्णन भए अनुसार भने रातो, हरियो र पहेँलो रङको पनि आफ्नै विशेष महìव रहेको पाइन्छ । रातो रङलाई सौभाग्यका साथै प्रेम, शक्ति र साहसका रूपमा लिइन्छ । हरियो रङलाई आत्मीयता र प्रकृतिको उच्च सम्मान वा सहनशीलता र पहेँलोलाई बौद्धिकताका रूपमा लिइन्छ । साउन महिनाको प्रकृतिसँग सामीप्यता कायम गर्ने रङका रूपमा हरियो रङलाई लिइन्छ । प्रकृतिलाई स्त्री शक्ति वा नारी स्वरूपमा लिइने भएकाले नारीले यस महिनामा आफ्नो शृङ्गारमा हरियो रङलाई विशेष प्राथमिकता दिइएको हो भन्न सकिन्छ ।

सबैले साउन महिना भनेर तुच्छ ठाने पनि यस महिनाको शास्त्रीय मूल्यमान्यता झन् गाढा रहेको छ । जीवन र जगत्का संहारकर्ता, अधिपति, देवादिदेव महादेवको पूजाअर्चना गरी यस पर्व मनाउनुमा सत्यम्, शिवम् र सुन्दरम्को भाव अन्तर्निहित भएको पाइन्छ । बाहिरी आवरण मात्र होइन, भित्री मन र विचार पनि शुद्ध वा सुन्दर हुनु पर्दछ । मानव शव होइन, शिवम् हुनु पर्दछ । त्यसैले सत्यम्, शिवम् र सुन्दरम्को भावना जागृत हुनु पक्कै पनि उत्तम हो । त्यसैले घरभित्र मात्र नभएर घरबाहिर पनि सुन्दर व्यवहार प्रदर्शन गरी अगाडि बढ्न यस पर्वले सम्पूर्ण नारीलाई थप प्रेरणा प्रदान गरेको छ ।

नारी शक्तिलाई कम र तुच्छ ठान्न नहुने सङ्केत गर्दै उनीहरूको हरेक व्यवहारमा सत्यता र सुन्दरताले भरिएको हुन्छ भन्दै सबै नारीलाई आफ्नो मूल्य, मान्यता र संस्कारभित्र रहन पनि यस पर्वले मार्ग निर्देश गरेको छ । धार्मिक एवं वैज्ञानिक दृष्टिमा पनि व्रत बस्दा फाइदा पुग्ने कुरामा दुईमत छैन । त्यसैले यस महिनामा व्रत बस्दा मनमा आनन्द प्राप्त हुने मात्र होइन, मनोकाङ्क्षासमेत पूरा हुने मान्यता विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।

हिजोआज भगवान् शिवजीको पूजाअर्चना गरी बोलबम एवं काँवरिया जाने चलन पनि छ । कुनै जलासयबाट जल लिएर शिवालयमा गई जल चढाउने प्रचलन नै बोलबम परम्पराको मुख्य आकर्षण हो । यस परम्परामा आधुनिक युवायुवतीको झुकाव रहेको देखिन्छ । प्रत्येक वर्ष आयोजना गरिने बोलबम परम्परामा समावेश युवायुवतीको समूहले नै उक्त कुरालाई सहजै प्रस्ट पार्दछ । त्यसैले साउन महिना र विशेष गरी यस महिनाको सोमबारको हिन्दु परम्परामा आफ्नै मूल्य, मान्यता र गरिमा रहेको छ भन्दा अत्युक्ति नहोला ।