गोकर्ण दयाल
बैतडी, साउन १३ गते । बैतडीको ग्वाल्लेकमा पाँच करोड रुपियाँ खर्च गरेर सिरोही र तोतापरी जातका बाख्रा फार्म सञ्चालनमा आएको छ। फार्ममा भारतको राजस्थानबाट सिरोही जातका बाख्रा ल्याइएका छन्।
दशरथचन्द नगरपालिका–९, ग्वाल्लेका सुरेश चन्दले उन्नत जातका बाख्रा पालनका लागि गाउँमा पाँच करोड रुपियाँ खर्च गरेर बाख्रा फार्म सञ्चालनमा ल्याउनुभएको हो। भारतको राजिस्थानबाट खरिद गरी ल्याइएका सिरोही जातको बाख्रा फार्ममा अहिले करिब डेढ सय बाख्रा रहेका छन्। अग्लो कद, लामा कान भएका औसत बाख्राको तौल ८० किलोदेखि ९० किलोसम्मका छन्। फार्ममा रहेको सिरोही जातको भीम नाम गरेको बोकाको तौल १८० किलो रहेको बताइएको छ।
पेसाले निर्माण व्यवसायी चन्दले कोरोनाका बेला गाउँमा बाख्रा पाल्ने सोच बनाउनुभएको हो। बाख्रा पाल्न चार तलाको आधुनिक पक्की घर निर्माण गरेर स्थानीय खरी जातका बाख्राबाट सुरु भएको ग्वाल्लेक एग्रो फार्म प्रालिमा गत वर्ष भारतको राजिस्थानबाट सिरोही र तोतापरी जातका बाख्रा भित्रिएका हुन्। फार्ममा अहिले ९२ वटा सिरोही जातका बाख्रा ब्याउने अवस्थामा रहेका छन्। बुधबार बाख्रा फार्ममा सिरोही जातको एक बाख्राले तीन वटा पाठा जन्माएको छ। फार्ममा ब्याडका लागि २५ वटा सिरोही जातका बोका बिक्रीका लागि तयारी अवस्थामा रहेका छन्।
फार्ममा छ जनालाई रोजगारी
बाख्रा फार्ममा अहिले पुश प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन्। पशु प्राविधिक नवीन भट्टले बाख्रा फार्ममा बाख्राको नियमित स्वास्थ्य परीक्षण हुने गरेको बताउनुभयो। बर्खा याममा दुई महिनाभन्दा बढी पानी पर्ने भएकाले बाख्रालाई फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको छ। पशु प्राविधिक नवीन भट्टले स्थानीय डाले घाँस र वनमा पाइने घाँस खाएर फार्ममा हुर्किरहेका सिरोही जातका बाख्रा निकै स्वस्थ रहेको बताउनुभयो। फार्ममा सिरोही जातको बाख्रासँगै तोतापरी (सुगाको जस्तो मुखाकृति भएको बाख्रा), बोयर, स्थानीय खरी जातका गरी चार तले पक्की घरमा करिब दुई सय बाख्रा रहेका छन्। बाख्रा चराउन, गोठ सफा गर्न र डाले घाँस काट्न फार्ममा छ जना स्थानीयले रोजगारी पाएका छन्।
युवालाई गाउँमै रोक्ने लक्ष्य
रोजगारीका लागि विदेश जाने युवालाई गाउँमै रोक्ने लक्ष्यका साथ बाख्रा फार्म सञ्चालनमा ल्याएको हो।
सञ्चालक सुरेश चन्दका अनुसार गाउँमा युवा नै नभेटिने अवस्था आएपछि बाख्रा फार्म सञ्चालन गरेर रोजगारी सिर्जना गर्न खोजिएको हो। गाउँका युवा रोजगारी खोज्न भारत र अरबको खाडी जान थालेपछि गाउँमा बुढापाकाको मृत्युमा मलामी जाने युवा नभेटिने अवस्था आउन थालेको चन्दले बताउनुभयो।
चन्दले भन्नुभयो, “राज्यसँग युवालाई तुरुन्तै रोजगारी दिन सक्ने आधार छैन। थोरै धनसम्पत्ति हुने तराई झर्न थालेका छन्। बैतडीको जनसङ्ख्या ऋणात्म अवस्थामा पुगेको छ।”
उहाँले भन्नुभयो, “बेरोजगार युवा गाउँ छाड्दै छन्। यस्तो अवस्थामा युवालाई गाउँमै रोक्ने आधार भनेको कृषि र पशु पालन मात्रै भएकाले पाँच करोड रुपियाँ लगानी गरेर गाउँमा बाख्रा फार्म सञ्चालन गरेको हुँ।”
सुपथ मूल्यमा सिरोही बोका
व्यावसायिक रूपमा बाख्रा पाल्ने बैतडीका किसानलाई सिरोही जातको बोका सुपथ मूल्यमा उपलब्ध गराउने तयारी सुरु भएको छ। बाख्रा फार्मका सञ्चालक सुरेश चन्दले बैतडीका युवा बाख्रा पालन गरेर आत्मनिर्भर बन्न चाहेमा ब्याडका लागि २५ हजार रुपियाँमा सिरोही जातको बोका उपलब्ध गराउन सकिने बताउनुभयो।
उहाँले सिरोही जातको बाख्राको मूल्य ७० हजारभन्दा बढी र बोकाको मूल्य डेढ लाख रुपियाँ तिरेर गाउँमा ल्याइपु-याएको बताउनुभयो।बैतडीलाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसँगै युवालाई पनि गाउँमै रोजगारी सिर्जना गर्ने ग्वाल्लेक एग्रो फार्मले कालिज पालन गर्ने तयारी सुरु गरेको छ।