• १२ मंसिर २०८१, बुधबार

बिपी, दक्षिण एसिया र गणतन्त्र

blog

बिपी कोइरालाको राजनीतिक व्यक्तित्व नेपालमा मात्र सीमित नभएर दक्षिण एसियाभरि नै फैलिएको थियो । उहाँ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । भारतको बनारसमा अध्ययनरत रहँदा नै महात्मा गान्धीद्वार अङ्ग्रेजविरुद्ध थालिएको सन् १९२९ को असहयोग आन्दोलनमा भाग लिँदा जेल पर्नुभएको थियो । त्यसपछि उहाँको सम्पर्क र मित्रता भारतका समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया र आचार्य नरेन्द्रदेवसँग भयो । उहाँहरूले भारतीय कांग्रेस पार्टीबाट अलग भएर कांग्रेस सोसलिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । बिपीले त्यस पार्टीको सचिवका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । माक्र्सवादबाट प्रभावित भारतीय नेताहरू सोसलिस्ट (समाजवादी) विचारलाई आत्मसात् गरी कांग्रेसबाट अलग भएका थिए ।

सन् १९४२ मा महात्मा गान्धीको नेतृत्वमा अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलनको घोषणा भयो । त्यस आन्दोलनमा भारतीय समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहियाहरूले सक्रिय रूपमा भाग लिनुभएको थियो । त्यही सिलसिलामा उहाँहरूले भारतको हजारीबाग जेल तोडेर नेपालको सप्तरी जिल्लामा आई भूमिगत रूपमा अङ्ग्रेजविरुद्ध आन्दोलन जारी राख्नुभएको थियो । आन्दोलनको सुरुआत हुँदा नै राष्ट्रिय स्तरका नेताहरूलाई अङ्ग्रेज सरकारले गिरफ्तार गरी जेलमा बन्दी बनाइसकेका थिए । त्यही सिलसिलामा बिपी कोइराला पनि भारतमै गिरफ्तार भई हजारीबाग जेलमा बन्दी बनाइनुभयो । उहाँसँगै भारतीय नेता डा. राजेन्द्रप्रसाद, राम अनुग्रह सिंह जस्ता नेता पनि बन्दी बनाइएको थियो ।

बिपीले निकै वर्ष भारतीय जेलमा बस्नुपरेको थियो । भारत स्वतन्त्र हुने कुरा भएपछि मात्र उहाँलगायत नेताहरूलाई छाडियो । भारत स्वतन्त्र भएपछि बिपी भारतीय राजनीतिमा सक्रिय नरही मातृभूमि नेपालको राजनीतितर्फ आकर्षित हुनुभयो । त्यतिबेला नेपालमा निरङ्कुश एकतन्त्रीय राणाशासन थियो । जनता राणाका दासतामा जकडिएका थिए । कुनै पनि प्रजातान्त्रिक हक–अधिकार थिएन । जनताले राणाका विरोधमा डरले केही गर्न पाउँदैनथे । 

नेपाललाई निरङ्कुश राणाशासनबाट मुक्त गराई प्रजातन्त्रको स्थापना गराउनु पुनीत कर्तव्य सम्झेर बिपीले भारतमै सन् १९४६ (२००३ साल) मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि देशभित्रका प्रजातन्त्रवादीसित सम्पर्क राखी सङ्गठन विस्तार गर्नुभयो । नेपालसँगै भारतीय सीमान्त क्षेत्रमा आई नेपाली राष्ट्रिय कांग्रेस पार्टी कार्यालयको स्थापना गर्न थाल्नुभयो । त्यस सङ्गठनको आधारमा २००७ सालमा रौतहटको सीमावर्ती भारतीय सहर बैरगनियामा नेपाली कांग्रेसले सम्मेलन गरी त्यही साल कात्तिक २६ गतेदेखि नेपालभित्र सशस्त्र क्रान्तिको सुुरुआत गरी फागुन ७ गते प्रजातन्त्र स्थापना गरियो ।

त्यसपछि आठ वर्षसम्म सङ्घर्ष र सत्याग्रह गरी अन्त्यमा २०१५ साल फागुनमा आमनिर्वाचन भयो । त्यही आमनिर्वाचनबाट बहुमत ल्याई नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो । बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारले विकास र निर्माणका धेरै कार्य ग¥यो । कोइरालाको व्यक्तित्वदेखि डराएर राजा महेन्द्रले कांग्रेसको सरकार विघटन गरी सबैलाई गिरफ्तार गरी जेल हाल्नुभयो । प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका सबै नेतालाई बन्दी बनाइयो । आठ वर्षको कठोर यातनापछि बिपी सन् १९६८ मा जेलबाट छुटी भारत प्रवासमा जानुभयो । भारत प्रवासमा रहँदा नेपालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि रणनीति बनाउन थाल्नुभयो । त्यही क्रममा भारतीय नेतासँगै विचार विमर्श गर्न थाल्नुभयो । साथै विदेशसित सम्पर्क बढाई युरोप, अमेरिकातिरका नेतासित पनि सम्बन्ध कायम गर्नुभयो ।

भारत प्रवासमा बस्दा उहाँले दक्षिण एसियाको राजनीतिबारे गहन अध्ययन र विश्लेषण गर्न थाल्नुभयो । बिपीले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिएकाले त्यहाँ उहाँका धेरै साथी थिए । भारतीय कांग्रेसका नेता देवकान्त वरुंआ, भारतीय कम्युनिस्ट पार्टीका राजेश्वर राव जस्ता केन्द्रीय नेता बिपीका सहकर्मी हुनुहुन्थ्यो । उता जयप्रकाश नारायण, चन्द्रशेखर जस्ता नेतासित पारिवारिक सम्बन्ध त छँदैथियो । यति हुँदाहुँदै पनि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसित उहाँको राम्रो सम्बन्ध थिएन । जब कि उहाँका पिता पं.जवाहरलाल नेहरूसित बिपीले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिनुभएको थियो ।

त्यतिबेला इन्दिरा गान्धीको शासनविरुद्ध भारतीय समाजवादी नेता जयप्रकाश नारायणले सम्पूर्ण क्रान्ति चलाउनु भएको थियो । त्यस क्रान्तिमा बिपीको पनि सहयोग र सहानुभूति थियो । त्यसैले इन्दिरा गान्धीले बिपीलाई अप्ठ्यारोमा पारेका थिए । इन्दिरा गान्धीले भारतको सर्त माने बिपीलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने भन्नुभएको थियो । भुटान जस्तै नेपालको विदेश नीति भारतको मातहतमा रहनु पर्छ भनी इन्दिराको विचार थियो तर बिपी जस्ता स्वाभिमानी नेताले त्यस्तो कुरा मान्ने कुरै भएन । त्यति मात्र नभई नेपालमा राजतन्त्र समाप्त गरी गणतन्त्र ल्याई बिपीलाई राष्ट्रवादी बनाइदिने पनि इन्दिरा गान्धीले लोभ देखाउनु भएको  थियो । यसरी इन्दिरा गान्धीले बिपीलाई लोभ देखाए पनि उहाँ जस्ता राष्ट्रवादी व्यक्तिले मान्नुभएन । 

बिपी आफ्नो विचारमा डग्मगाउनु भएन । त्यसपछि २०३७ सालको जनमत सङ्ग्रहमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका माध्यमबाट इन्दिरा गान्धीले राजा वीरेन्द्रलाई सहयोग गर्नुभयो । त्यस जनमत सङ्ग्रहमा भारतले साथ दिएको भए त्यतिबेला नै बहुदल आउने थियो ।

बिपी सन् १९७६ मा लामो भारत प्रवासपछि स्वदेश फर्किन लाग्दा दिनुभएको विस्तृत वक्तव्यमा दक्षिण एसियाको राजनीतिबारे प्रकाश पार्नुभएको थियो । उक्त वक्तव्यमा उहाँले भारतीय सर्वसत्तावादीले हामीलाई मन नपराए पनि भारतका अन्य नेता तथा जनताको राम्रो सहयोग र सहानुभूति छ । आज दक्षिण एसियाका हिन्दुस्तान, बङ्गलादेश, पाकिस्तान, भुटान, नेपाल, बर्मा र श्रीलङ्काका यी देश अस्थिर अवस्थामा पुगेका छन् । हिन्दुस्तान जस्तो प्रजातन्त्र भएको देशमा पनि अस्थिरता छ । 

२०३८ सालको संविधान सुधार आयोगलाई जनताले पञ्चायतका विरुद्धमा नभई समर्थनमा भएको निष्कर्ष निकाले । त्यसो हुनाले यो शासन प्रणाली राणाहरूको प्रणालीप्रति जनताको विश्वास घट्दै गयो । अर्को कुरा नेपाल निकै संवेदनशील क्षेत्र भएकाले यो देश अन्तर्राष्ट्रिय महìवको देश भएको छ । हुन त नेपाल सानो मुलुक हिन्दुस्तान र चीनको छिमेकी भएको एवं यी दुई देशबिच मेल नभएका कारण उनीहरूको चासोको देश पनि भएको छ । उता अमेरिका र रुस जस्ता महाशक्तिले पनि यस क्षेत्रमा चासो राख्न थालेपछि यो क्षेत्र अस्थिर हुने आशङ्का व्याप्त छ । राष्ट्रिय नभई अन्तर्राष्ट्रिय कारणले यहाँ अस्थिरता बढेको छ । 

उता भियतनामबाट अमेरिकाले हात झिकेको छ यता अमेरिका, रुस, चीनबिच अफ्रिकी देशमा एउटा त्रिकोणात्मक लडाइँ चलिरहेको छ । रुसले अमेरिकाको निन्दा गर्छ भने चीनले पनि अमेरिकाकै निन्दा गर्दछ । अमेरिकी नीति हेर्दा कूटनीतिबाटै अन्तर्राष्ट्रिय सम्बन्ध टिकेको छ । अमेरिकाको कूटनीति दक्षिण एसियामा अल्झेको छ ऊ निरन्तर कमजोर बन्दै गए जस्तो देखिएको छ । उसका विश्वव्यापी नीति कमजोर भएका छन् । अमेरिकाले एकातिर समाजवादीसँग मुकाबिला गर्नुपर्ने, उता चिनियाँ र रुसीधुरीसँग पनि मुकाबिला गर्नुपर्ने भएकाले यसले नयाँ निर्णय गर्नुपरेको छ । अब अमेरिका सामुन्ने अन्तर्राष्ट्रिय सम्बन्धको रोजाइ सबै मुलुकबाट फिर्ता आएर आफ्नो मुलुकमा मात्रै सीमित रहने कि विश्वव्यापी नीति बनाउने यी दुई विकल्प छन् । बिपी कोइरालाले दक्षिण एसियालगायत पश्चिमा महाशक्तिको गतिविधिलाई जसरी सूक्ष्म ढङ्गले विश्लेषण गरी भविष्यको बाटो देखाउनुभएको थियो त्यो अहिले सत्य साबित भइरहेको छ । 

अहिले भारतको पूर्वी राज्य मिजोरम र आसाममा जो अल्फाहरूको विद्रोह छ, त्यसले बिपीको भविष्यवाणी सिद्ध भएको छ । नेपालको राजसंस्थालाई सतर्क गराउँदै उग्रवामपन्थीसित हिमचिम बढाउनुभन्दा प्रजातान्त्रिक शक्तिसित मेलमिलाप गर्नु उचित हुने कुरा बिपीले भन्नुभएको थियो तर त्यसो नगरी दरबारले ०१७ सालदेखि वामपन्थीलाई क्रियाकलाप गर्न दिएको छुटको परिणाम नै राजतन्त्रको अन्त्य भयो । गणतन्त्र स्थापनाको प्रमुख कारण पनि यही हो । 

बिपीले राजदरबारलाई सधैँ उग्रवामपन्थीसित सतर्क गराउँदै जनतालाई प्रजातन्त्र फिर्ता गरी प्रजातन्त्रवादी शक्तिसित हातेमालो गर्न सल्लाह दिँदै आउनुभएको हो तर राजदरबारले त्यसलाई कहिले पनि गम्भीरतापूर्वक लिएन । परिणाम मुलुक लामो समय अस्थिरता र अराजकतामा फस्यो । मुलुक अहिले गणतन्त्रमय भएको छ । यो तत्कालीन राजसंस्थाकै अप्रजातान्त्रिक क्रियाकलापको परिणाम हो । 

  

Author

रामनारायण देव