सनातन धर्मावलम्बीले साउन महिनालाई प्राकृतिक र धार्मिक दृष्टिकोणले उत्तम महिना मान्दै आएका छन् । यो हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशी पुगेर समाप्त हुन्छ । साउन महिना शिवजीको प्रिय महिना हो । हरिशयनी एकादशीदेखि भगवान् विष्णु योगनिद्रामा शयन गर्ने भएकाले यस बेला भगवान् शङ्करले नै सृष्टिको पालन गर्ने भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मान्यता छ । साउनलाई चतुर्मासको पहिलो महिना मानिन्छ । यसमा विशेष गरी हिन्दु धर्मका आराध्य देव शिवको सोमबारका दिन उपासना गरी पूजाआजा गरिन्छ । ब्रतालुले साउन महिनाभरि खानपानमा सात्विक, शुद्ध भोजन आहार गर्ने परम्परा रहेको पाइन्छ । श्रद्धालु गङ्गा स्नान गरी शिव मन्दिरमा शिवजीलाई गङ्गाजल चढाउने, बोलबम जाने पनि गर्दछन् ।
साउन महिनामा कृषक खेतीपाती लगाउन अति व्यस्त देखिन्छन् । मौसम अनुसारका फलफूल आँप, केरा, लिची, जताततै हरियाली वातावरण पनि मनमोहक हुन्छ । यस समयमा शिव पार्वती कैलाश पर्वतमा सँगै रहने हुँदा साउन महिनामा शिव पार्वतीको पूजा हुने गर्दछ भन्ने पौराणिक किंवदन्ती पनि रहिआएको छ । हिन्दु धर्मावलम्बीका अनुसार विवाहित महिलाले आफ्नो श्रीमान्को लामो आयुको कामना गर्दै हातमा हरियो, पहेँलो चुरा पोते, मेहेन्दी लगाई व्रत बस्ने गर्दछन् । धेरै पहिले ग्रामीण भेगमा मेहेन्दी नहुने हुँदा तिउरीलाई हातमा लगाई कर्कलोको पातले छोपेर बाँध्ने चलन थियो ।
स्कन्दपुराणमा पनि यो महिना शिवजीको सबैभन्दा प्रिय महिना भएको कुरा बताइएको छ । दक्षप्रजापतिले आयोजना गरेको अश्वमेघ यज्ञमा नडाक्दा तिरस्कृत सतीदेवीले यज्ञकुण्डमा प्रवेश गरेर आफ्नो देह त्याग गरेको र प्राण त्याग्नुअघि उनले अर्को जन्ममा पनि शिवजीलाई नै पति पाऊँ भन्ने कामना गरेकी थिइन् । हिमालय पर्वत र मेनुकाका गर्भबाट पार्वतीका रूपमा जन्म लिन पुगिन् । उनले शिवजीलाई पति पाउने कामना गरी साउन महिनाभरि निराहार व्रत बसिन् । कठोर तपस्यापश्चात् शिवजीलाई पतिका रूपमा प्राप्त गरेकोले साउन महिना शिवजीका लागि प्रिय भएको उल्लेख छ ।
सोमबारको साउन तिथि, प्रदोष र बारका दृष्टिले शिवजीको उपासना गर्ने दिन मानिन्छ । चन्द्रमाको अर्को नाम सोम पनि हो । पौराणिक आख्यानमा दक्षप्रजापतिका श्रापले क्षयग्रस्त चन्द्रमाले श्रापबाट मुक्ति पाउनका लागि मृत्युञ्जय मन्त्र जप गर्दै भगवान् शिवजीको आराधना गरेका थिए रे ! शिवजी प्रसन्न भएर दक्षप्रजापतिको वचन पनि रहने चन्द्रमाको इच्छा पनि पूरा हुने गरी वरदान दिनुभयो । चन्द्रमा कृष्णपक्षमा प्रत्येक दिन एक/एक कला घट्दै गएर औँसीमा क्षीण हुने र शुक्लपक्षमा प्रत्येक दिन कला बढ्दै गएर पूर्णिमामा पूर्णचन्द्र हुने वरदान पाए । शिवभक्त चन्द्रमाले आराध्यदेव शिवजीको ज्योतिर्लिङ्ग स्थापना गरे । द्वादश ज्योतिर्लिङ्गमध्ये सोमनाथ चन्द्रमाले नै स्थापना गरेका हुन् । सोमबारलाई महìवपूर्ण बारका रूपमा मानिन्छ ।
अन्य पौराणिक प्रसङ्गमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष उत्पन्न भयो । विषको प्रभावका कारण सारा संसार भस्म हुन लागेको देखेर देवताहरूले शिवजीको प्रार्थना गरे र शिवजीले विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो । विषले भगवान् शिवजीको कण्ठ जलेर निलो भएको देखेर सबै देवताले शङ्करजीलाई जल अर्पण गर्न थाले । विषको असरले गर्दा भगवान् शङ्कर नीलकण्ठ रहे । यो घटना पनि साउन महिनामा भएको मानिन्छ । त्यसै कारण साउन महिनामा शिवजीलाई गङ्गाजलले अभिषेक गर्दा प्रसन्न हुने पनि रहिआएको छ ।
समाजशास्त्री, मानवशास्त्री, धर्मशास्त्री, ज्योतिष, वैज्ञानिक सबैले आआफ्ना युक्ति र प्रमाणले साउन महिना शुद्ध आहारविहार गर्ने, मन शुद्ध गर्ने र बोली वचन शुद्ध गर्ने, फलस्वरूप शिक्षा दीक्षाको पनि प्रगति हुन्छ भन्ने पाइन्छ । साउन महिनामा गरेका शुभकार्यको फल बढी प्राप्त गर्ने उल्लेख छ । साउन महिनामा एक दिन भए पनि व्रत, उपसना गरी शिवलाई जल चढाएमा पुण्य प्राप्त हुने स्कन्दपुराणमा उल्लेख गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिबाट उत्तम रहेको यो महिनामा शिवको व्रत, उपसना, पूजापाठ गरी आराधना गरौँ । मन, वचन र कर्मलाई सधैँ शुद्ध बनाऊँ ।
महिलाले लगाउने हरियो चुरा छिमेकी मुलुकबाट करोडौँ मात्रामा भित्रिने हुँदा आयात कम गरी भड्किलो नबनाइकन हाम्रा रीतिरिवाजको जगेर्ना गरौँ । विवाहित व्यक्ति धार्मिक क्रियाकलापमा सहभागी हुँदा दम्पतीसँगै सहभागी हुनु पर्छ नत्र फल प्राप्त हुँदैन भन्ने पनि उल्लेख भएको हुँदा मिल्ने र हुनेहरूले सम्भव भएसम्म संयुक्त रूपमा शिवको आराधना गरी शुद्ध भोजन ग्रहण गरेर हाम्रो रीतिरिवाज र परम्परालाई भड्किलो नबनाएर स्वास्थ्यको ख्याल राखी पवित्र मनले धर्म परम्पराको संरक्षण र संवर्धन गर्दै जाऊँ । पुरुषले पनि आफ्नी श्रीमतीको आयु, सफलताको कामना गरी व्रत बस्ने गरौँ । हाम्रा धर्म परम्परा वैज्ञानिक दृष्टिकोणबाट पनि निकै महìवपूर्ण रहेका छन् । हाम्रा धर्म संस्कार, मूल्य, मान्यतालाई पुस्ता हस्तान्तरण गरी जगेर्ना गर्न पनि नभुलौँ ।
सौभाग्य प्राप्तिका लागि सोमबार व्रत गर्ने र शिवपार्वतीको आराधना गर्ने गरिएको हो । सोमबारको व्रत विद्या प्राप्तिका लागि पनि गरिन्छ । सोमबारको व्रत ब्रह्मचारी, गृहस्थ, कन्या, विवाहिता, विधवा, नारी, पुरुष सबैले गर्नुपर्ने व्रत हो भन्ने कुरा ब्रह्मोत्तरखण्डमा उल्लेख गरेको भेटिन्छ । ज्योतिष शास्त्रले सोमबारका देवता चन्द्रमा हुन् । चन्द्रमा मनका कारक ग्रह हुन् । शिवजीले चन्द्रमालाई शिरमा मुकुटका रूपमा धारण गर्नुभएको छ । त्यसैले शिवजीको नाम चन्द्रशेखर पनि हो । भगवान् चन्द्रशेखरको आराधना गर्नाले मनलाई आफ्नो नियन्त्रणमा राख्न सकिन्छ । कामदेवलाई भस्म गर्ने भगवान् चन्द्रशेखरको उपासना, सौभाग्यको कामना, मनको नियन्त्रण र मर्यादित कामोपभोग परस्पर सम्बन्धित विषय नै हुन् ।
सनातनीबहुल नेपाली समाजमा साउन महिना विशेष महत्वको मानिन्छ । साउन महिनाभरि माछामासु, लसुन–प्याज जस्ता अशुद्ध खाना नखाने, शुद्ध आचरणमा रहने, सोमबार शिवजीको पूजा आराधना र व्रत गर्ने, सम्भव भए घरमा रुद्राभिषेक गर्ने गरेर नेपाली यो महिना बिताउँछन् । यो महिना वर्षका महत्वपूर्ण चाडपर्व सुरु हुने महिना पनि हो । साउने सङ्क्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा जस्ता बहुप्रचलित र नेवार समुदायमा प्रचलित गाईजात्रा तथा मिथिलाञ्चलमा प्रचलित मधुश्रावणी यसै महिनामा पर्दछन् । साउने सङ्क्रान्तिका दिन लुतो फालेर वर्षभरिका लागि आरोग्यको कामना गर्दै नयाँ वर्षका पर्व–उत्सवको सुरुवात गर्ने परम्परा हामीकहाँ छ ।
साउन महिनामा हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी लगाएर अटल सौभाग्यका लागि भगवान् शङ्करको आराधना गर्ने परम्परा नेपाली महिलामाझ दिनानुदिन प्रिय बन्दै गएको छ । सौभाग्य र दीर्घजीवनका लागि शिवजीको आराधना गर्नुपर्ने कुरा माथि उल्लेख गरेका पौराणिक प्रसङ्गले पनि प्रस्ट पारेकै छन् । हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी महिलाका सौभाग्य र सौन्दर्यका प्रतीक हुन् । यी कुरालाई प्रकृति, कामभावना, पतिपत्नीबिचको आकर्षण, पार्वतीले रुखका हरिया पात र बोक्रा धारण गरेर शिवजीको आराधना गरेको प्रसङ्गसँग पनि जोडेको पाइन्छ ।
ज्योतिष शास्त्रले आत्मबल, पिता, प्रभाव, आरोग्य, शक्ति, सम्पत्ति आदिको कारक सूर्य ग्रहको अनुकूलताका लागि रातो रङ, विद्या, बन्धु, विवेक, वाणी, व्यापार आदि कुराको कारक ग्रह बुधको अनुकूलताका लागि हरियो रङ र प्रज्ञा, धन, आरोग्य, सन्तान, सुख आदिको कारक ग्रह वृहस्पतिको अनुकूलताका लागि पहेँलो रङ उपयुक्त हुने कुरा बताउँछ । यिनै कुराको प्राप्तिका लागि नेपाली नारीले लगाउने रातो, हरियो र पहेँलो मिश्रित साउने पोसाकलाई शास्त्रहरूले समेत समर्थन गरेको देखिन्छ ।
हामीकहाँ विशेष गरी महिलाले व्रत उपासना गर्ने तर पुरुष खासै सहभागी नहुने गरेको पाइन्छ । व्यावहारिक सजिलो–अप्ठेरो एउटा कुरा होला तर शास्त्रीय मर्यादा के हो भने विवाहित व्यक्ति धार्मिक क्रियाकलापमा सहभागी हुँदा दम्पतीसँगै सहभागी हुनु पर्छ अन्यथा पूरा फल पाइँदैन । परिस्थितिले गर्दा भौतिक असमर्थता हो भने पनि मानसिक रूपमा पति–पत्नीको बराबर सहभागिता हुनु पर्छ, दुवै श्रद्धावान् हुनु पर्छ । उर्वर श्रावण महिना, अर्धनारीश्वर महादेवको आराधना र सौभाग्यको कामनाले परस्परका भावनाको सम्मान गर्ने यही सन्देश दिन्छ ।