मुलुकको समग्र आर्थिक विकास, औद्योगिक विकास, व्यापार तथा रोजगार सिर्जना गरी गरिबी न्यूनीकरण गर्न ऊर्जाको महत्वपूर्ण भूमिका हुन्छ । ऊर्जाको पहुँच विस्तार गरी सुरक्षा वृद्धि गर्न ऊर्जा दक्षता (किफायती प्रयोग) आवश्यक छ । ऊर्जा दक्षताले प्रदूषण न्यूनीकरण र ऊर्जा सुरक्षामा सहयोग गर्नुका साथै आर्थिक वृद्धिमा पनि सहयोग पुग्दछ । ऊर्जा दक्षता भनेको किफायती रूपमा ऊर्जाको प्रयोग गरी ऊर्जाको खपतलाई कम गर्नु हो अर्थात् ऊर्जा उपयोग गर्दा प्रविधि तथा उपकरणका माध्यमबाट ऊर्जाको सही ढङ्गबाट उपयोग गर्नु हो । ऊर्जा किफायत गर्नु भनेको पनि ऊर्जा उत्पादन गर्नुसरह हो । ऊर्जा उत्पादनभन्दा ऊर्जा बचत तुलनात्मक रूपमा सस्तो र प्रभावकारी हुने गर्दछ । ऊर्जाको दक्ष उपयोग गर्ने प्रविधि भवन निर्माण, यातायात र उद्योगहरूमा प्रयोगमा ल्याउन सकिन्छ ।
छाना (घर) खाना र नाना जत्तिकै मानिसको आधारभूत आवश्यकता हो । मानिसको सुरक्षाका लागि होस् वा सहज जीवन सञ्चालनका लागि, उद्योग व्यवसाय सञ्चालनका लागि होस् वा सार्वजनिक कार्यहरू गर्न, घर वा भवनको आवश्यकता पर्दछ । सामान्यतः एक पटक निर्माण गरिएको पक्की घर दुई÷तीन पुस्तासम्म पनि रहने हुँदा निर्माण गर्दा नै अन्य कुरामा जस्तै वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा ऊर्जामैत्री बनाउनेतर्फ ध्यान दिन आवश्यक छ । मानव सभ्यताको विकासक्रममा घर र यसको निर्माणले विशेष महत्व राख्ने भएकाले पछि पछुताउनु नपर्ने गरी घर निर्माण गर्नु पर्छ । सुसंस्कृत र विकसित सभ्यताको पर्यायवाचीका रूपमा घर र बस्ती विकासलाई लिने गरिन्छ ।
घर निर्माण, सञ्चालन तथा मर्मतसम्भारमा व्यापक ऊर्जा प्रयोग हुने गर्दछ । घरमा प्रयोग भएको ऊर्जाको परिमाणलाई विकसित समाजको मापकका रूपमा हेर्ने गरिन्छ । स्थानीय जलवायु अवस्थालाई ध्यानमा राखेर घर निर्माण ग¥यो भने पछिसम्म पनि आरामदायी, निरोगी र कम खर्चिलो हुन सक्छ । पहिले निर्माण गरिएका घरहरू वातानुकूलित हुनुका साथै घरभित्र पर्याप्त प्रकाश छिर्ने, हावा राम्ररी ओहोरदोहोर गर्ने, वरिपरि खुला हुने भएकाले मानिस निरोगी थिए । पछिल्लो समय तराई, पहाड र हिमाली क्षेत्रमा एउटै खालको कङ्व्रिmटका घर निर्माण गरिएका छन् । गर्मी र जाडो ठाउँमा निर्माण हुने घर एकै खालको हुनु हुँदैन । यसले गर्दा कतै घर तताउन र कतै चिसो राख्न अतिरिक्त ऊर्जाको खपत बढ्ने गरेको छ । काठमाडौँका नवनिर्मित भवनमा करिब ६० प्रतिशत ऊर्जा खपत कोठा तताउन र चिस्याउन प्रयोग भइरहेको पाइएको छ । घर अधिक चिसो वा तातो हुँदा अनेक स्वास्थ्य समस्या आउने मात्र नभई मानिसको उत्पादनशीलतासमेत घट्न जान्छ ।
सहर वा ग्रामीण क्षेत्र जहाँ पनि नयाँ घर, कार्यालय एवं व्यावसायिक भवन निर्माण गर्दा त्यहाँको जलवायु अनुकूलनलाई ख्याल गर्नुपर्ने हुन्छ । देशका ६६.०८ प्रतिशत जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्छन् । नयाँ सहरहरूको विस्तारसँगै घरमा ऊर्जा दक्षता प्रवर्धन गर्ने मापदण्ड निर्देशिका वा नियमको अभाव छ । नागरिकमा पनि घर निर्माण गर्दा कसरी ऊर्जाको किफायती प्रयोग गर्न सकिन्छ भन्ने जानकारी छैन । ऊर्जा दक्षतायुक्त प्रविधिलाई अवलम्बन गर्न सकिएमा ऊर्जाको खपत न्यून हुनुका साथै स्वास्थ्य र वातावरणमा प्रत्यक्ष फाइदा पुग्दछ । भवनभित्र हुने असहज तापमानका कारण बढी ऊर्जा खपत भइरहेको छ । अत्यधिक ऊर्जा खपत हुने निर्माण सामग्रीको प्रयोगका कारण भवन क्षेत्रको कार्बन फुटप्रिन्ट उच्च छ । इँटा उत्पादनबाट मात्रै नेपालमा वार्षिक १२ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन हुने गर्छ ।
भवनमा ऊर्जा दक्षतासहितको सेवा र उत्पादनका लागि बजार प्रणालीको अवधारणासहित बजार विस्तार गर्न सकिएमा ऊर्जा दक्षतायुक्त घर वा भवन निर्माण गर्ने क्रम बढ्न जाने छ । यसका लागि घरको डिजाइन गर्दादेखि निर्माणको बेला पनि ऊर्जा प्रबलीकरणमा ध्यान दिनु आवश्यक छ । ऊर्जा दक्ष भवन निमार्ण गर्दा सुरुमा लागत केही बढी पर्न गए पनि त्यसबाट हुने लाभलाई हिसाब गर्दा पछि निकै सस्तो भएको अनुभव हुन्छ । जसरी अहिले विद्युतीय गाडी खरिद गर्दा अन्य गाडीको तुलनामा केही महँगो परे जस्तो लागे पनि तत्कालै यसले दिने फाइदा र कालान्तरमा प्राप्त हुने लाभलाई विश्लेषण गरी धेरैले यसको प्रयोग गर्न थालेका छन् ।
कार्यालयहरू, व्यवसायहरू, सुपरमार्केटहरू जस्ता व्यस्त क्षेत्रमा वातानुकूलन कायम राख्न ऊर्जाको प्रयोगमा प्रतिवर्ष धेरै पैसा खर्च हुने गर्दछ । यदि ती भवनभित्र छिर्ने प्रकाश, खाली ठाउँहरूको उपयोग, झ्यालढोका उचित ढङ्गबाट राख्ने तथा गाह्रो लगाउन प्रयोग गरिने इँटाको सही प्रयोग भएमा धेरै हदसम्म ऊर्जाको किफायती उपयोग गर्न सकिन्छ । घरमा ऊर्जाको प्रयोग अत्यावश्यक कामका लागि र आरामदायी वा सुविधाका लागि हुने गर्छ । खाना पकाउन, कोठा तताउन र चिस्याउन विद्युतीय उपकरण चलाउन, सञ्चार साधन प्रयोग गर्न ऊर्जा चाहिन्छ ।
ऊर्जाको दक्ष उपयोगबाट यसबाट सन् २०५० सम्ममा विश्वभरमा ऊर्जाको खपत एक तिहाइले कम गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । सन् २०४५ सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा पु¥याउने सरकारले प्रतिबद्धता जनाएको छ । सन् २०३० सम्म इँटा तथा सिमेन्ट उद्योगहरूमा कोइलाको खपत र वायु प्रदूषण घटाउन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने प्रविधि प्रयोगमा ल्याउने प्रतिबद्धता रहेको छ । त्यस्तै सन् २०३० सम्म कम्तीमा पाँच वटा पर्यटकीय गन्तव्यमा कार्बन तटस्थता सुनिश्चित गर्ने । न्यून कार्बन उत्सर्जन तथा जलवायु अनुकूलनमा जोड दिने गरी सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिता लागू गर्ने जनाइएको छ । न्यून कार्बन उत्सर्जन तथा जलवायु अनुकूलित सहरी बस्तीलाई प्रवर्धन गर्न सन् २०२५ सम्ममा सहरी वातावरण व्यवस्थापन निर्देशिका परिमार्जन गरिने भएको छ । यी प्रतिबद्धता पूरा गर्न घरलाई ऊर्जा दक्षतायुक्त बनाउन आवश्यक छ ।
विश्वका धेरै देशमा ऊर्जाको किफायतका लागि भवन निर्माण गर्दा नै ऊर्जा दक्षतालाई विशेष जोड दिइएको छ । नेपालमा भर्खर यस खालको अभ्यास सुरु भएको छ । युरोपियन युनियन अन्तर्गत स्विच एसिया कार्यक्रमको सहयोगमा सन् २०२२ देखि बिल्डिङ इनर्जी इफिसेन्सी इन नेपाल (बिइएन) कार्यक्रम कार्यान्वयनमा आएको छ । यस कार्यक्रमले ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग जडित २०० वटा भवन निर्माण गर्न सहजीकरण गर्ने छ । ऊर्जा दक्ष तथा नवीकरणीय ऊर्जा प्रयोग गरी आठ वटा नमुना भवन निर्माण गर्न सहयोग गर्ने छ ।
बिइएन कार्यक्रमको प्राविधिक सहयोगमा ललितपुरको ग्वार्कोमा नमुना भवन निर्माण गरिएको छ । भवन दुईतर्फ खुला छ, अर्थात् उत्तर, दक्षिण दिशा र पूर्व, पश्चिम दिशामा जोडिएको छ । ऊर्जा दक्षता हासिल गर्न, भवनले विचारपूर्वक उपयुक्त डिजाइन रणनीति अवलम्बन गरी प्राकृतिक प्रकाश र ताजा हावाको ओहोरदोहोर हुने गरी निर्माण गरिएको छ । घरभित्रका शयन कक्ष, भान्छा र भोजन क्षेत्र दक्षिण र उत्तरतिर खोल्न मिल्ने झ्यालसँग राखिएको छ । घरभित्रको तातो रोक्नका लागि, उत्तरतर्फ खुल्ने दुई वटा विशेष कोठामा डबल–ग्लेज्ड झ्याल राखिएको छ भने अन्य कोठामा एकल–ग्लाज्ड झ्याल छन् । दक्षिणतर्फका झ्याललाई टेरेसका रूपमा राम्रोसँग छाया लगाइएको छ ता कि गर्मीमा झ्याल खोल्दा सूर्यको ताप कम होस् ।
सामान्यतया घर निर्माण गर्दा प्रयोग गरिने नौ इन्चको माटोको इँटाको सट्टा यस भवनको बाहिरी पर्खाल ७.५ इन्चको मोटोछिद्रित माटोको इँटा (हलो ब्रिक्स) ले बनेको छ । थर्मल इन्सुलेटरका रूपमा काम गर्ने प्वाल भएका छिद्रित इँटाको प्रयोगले घरको तौललाई कम गर्नुका साथै बलियोसमेत हुने गर्दछ । यहाँ सौर्य वाटर हिटरहरू, सौर्य पिभी प्रालीको जडान, आकासेपानी सङ्कलनदेखि पानी शुद्ध गर्न बायो–स्यान्ड फिल्टर जस्ता सुविधा पनि राखिएको छ । ऊर्जा दक्षताका कारण समग्रमा यस भवनबाट ३.३६ टनले कार्बनडाइ अक्साइडको उत्सर्जन कम भएको छ भने नयाँ तथा प्रबलीकरण गरिएको यस भवनको ऊर्जा खपत ३५ प्रतिशतले कम हुने बताइएको छ ।
यसरी भवनहरूमा ऊर्जाको दक्ष उपयोगबाट देशको समग्र विकासका लागि महìवपूर्ण योगदान पुग्ने छ । तथापि ऊर्जाको पहुँच तथा ऊर्जा सुरक्षामा वृद्धि गर्नेतर्फ अपेक्षाकृत प्राथमिकता पाउन सकेको छैन । दिगो विकासका लक्ष्य हासिल गर्न, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न, पर्यावरणीय असन्तुलन घटाउन तथा जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्नसमेत ऊर्जा दक्षताको महत्वपूर्ण योगदान हुने गर्दछ । ऊर्जाको आयात कम गरी देशको व्यापार असन्तुलन घटाउन ऊर्जा दक्षता सहयोगी हुन्छ । ऊर्जा आपूर्तिमा रहेको समस्या र ऊर्जा न्यूनतालाई घटाई ऊर्जा सुरक्षा बढाउन ऊर्जा दक्षताले योगदान पु-याउँछ । ऊर्जा दक्षतालाई प्राथमिकताका साथ अगाडि बढाउन सकेमा देशको सामाजिक तथा आर्थिक विकासमा सघाउ पु-याउन सकिने देखिन्छ ।