मुसीकोट समाचारदाता
रुकुमपश्चिम, साउन १२ गते । रुकुम जिल्ला अदालतबाट आर्थिक वर्ष २०७९/८० मा फैसला भएका ४३७ मुद्दामध्ये दुई सय मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। अदालतका अनुसार आर्थिक वर्ष २०७९/८० मा फैसला भएकामध्ये ४५.७७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्।
अदालतका निमित्त स्रेस्तेदार लक्ष्मण विकका अनुसार फैसला भएकामध्ये दुई सय वटा मुद्दा सम्बन्धविच्छेका छन्। जम्मा ६०३ वटा मुद्दा आएकोमा २७३ वटा सम्बन्धविच्छेदका रहेका छन्। कुल मुद्दामध्ये ४०१ वटा देवानी, २०२ वटा फौजदारी मुद्दा रहेका छन्। दुई वटा मुद्दा भने पुनरावेदन तर्फका छन्।
रुकुम जिल्ला अदालतमा जम्मा भएका मुद्दामध्ये २३० वटा मुद्दा अघिल्लो वर्षबाट जिम्मेबारी सरिआएका थिए। अघिल्लो वर्ष लगत सरिआएका मुद्दामध्ये १३६ वटा देवानी, ९४ वटा फौजदारी र दुई वटा पुनरावेदन तर्फका मुद्दा रहेका छन्। यस वर्ष अदालतमा २६५ देवानी र १०८ वटा फौजदारीतर्फका मुद्दा दर्ता भएको बताइन्छ।
निमित्त स्रेस्तेदार विकका अनुसार गत आर्थिक वर्षमा पारिवारिक विवादका मात्र ३२४, सम्पत्ति सम्बन्धीका ७७ मुद्दा दर्ता भएका थिए। जसमध्ये २४१ वटा पारिवारिक विवाद र ६० वटा मात्र सम्पत्ति सम्बन्धीका मुद्दा फैसला भएका छन्।
त्यसै गरी अदालतमा जबर्जस्ती करणीका मुद्दा पनि बढी छन्। गत आर्थिक वर्षमा जबरजस्ती करणीका २६ वटा, हाडनाता करणीका दुई वटा, जबरजस्ती करणी उद्योगका आठ वटा र बाल यौन दुरुपयोगका एउटा गरेर ३७ वटा मुद्दा दर्ता भएका छन्।
जसमध्ये २४ वटा मुद्दा फैसला भइसकेका छन्। अदालतमा ३१ वटा चेक अनादरको मुद्दा दर्ता भएकोमा २१ वटा फैसला भएका छन्। नियमित मिसिलको काम भइरहे पनि कोरोना सङ्क्रमण र चुनावको समयका कारण सबै खालका मुद्दा फैसलामा केही ढिलाइ भएको अदालतले जनाएको छ।