नेपालगन्ज, जेठ १ गते । नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको छ महिनाअगाडि असारमै निर्माण सक्ने गरी तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि सौरभ शर्माले सम्झौताभन्दा छ महिनापहिले नै काम पूरा गर्ने उद्देश्यले अहिले २५० जना श्रमिक खटाएर दिनरात तीव्र गतिमा काम गरिरहेको बताउनुभयो । हालसम्म ८५ प्रतिशत निर्माण सम्पन्न गरिसकिएको पनि प्रतिनिधि शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्ट्रक्चर निर्माण पूरा भएको छ । अहिले फिनिसिङको काम भइरहेको छ । हामी तोकिएको समयभन्दा छ महिनाअघि नै काम सक्ने तयारीमा छौँ ।”
प्रतिनिधि शर्माले दुई तलासहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समयभन्दा छ महिनाअगाडि नै सम्पन्न गरेर विमानस्थल कार्यालयलाई हस्तान्तरण गर्ने लक्ष्यसाथ काम भइरहेको बताउनुभयो ।
सो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले नेपालगन्ज विमानस्थलको स्तरोन्नति जनताको माग भएको बताउँदै यसले पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भारतसँग नेपालगन्जको हवाई उडान जोड्ने विषयमा धेरै पटक सरकारको ध्यानाकर्षण गराइएको जनाउँदै चार
दशकभन्दा पुरानो विमानस्थलको ढिलै भए पनि स्तरोन्नति हुनु सकारात्मक कुरा भएको बताउनुभयोे ।
प्रमुख विष्टले टर्मिनल भवनको निर्माणपछि चाँडै अन्तर्राष्ट्रिय उडानसमेत सुरु गरिने आशामा आफूलगायत पश्चिम नेपालका जनता रहेको बताउनुभयो ।
बाँकेको खजुराबाट राँझामा स्थानान्तरण भएको चार दशकपछि नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर अत्याधुनिक नयाँ टर्मिनल भवनको निर्माण सुरु गरिएको हो । नेपालगन्ज विमानस्थल २०३७ सालमा निर्माण गरिएको थियो । त्यसभन्दा पहिले यो विमानस्थल खजुरामा थियो ।
नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपियाँको लागतमा टर्मिनल भवन निर्माणको काम गरिरहेको छ भने रनवे विस्तार र पार्किङ निर्माणको काम गरिसकेको छ ।