संसदीय राजनीतिक प्रणालीको सुरुवात र विकास विदेशमा भएको थियो । यसको कार्यान्वयन तुलनात्मक रूपमा राम्रो देखिएकाले विभिन्न कारणले नेपालले पनि केही वर्षदेखि यो प्रणाली अपनाउँदै आएको छ । राजनीतिक प्रणाली अनुसरणको सिलसिलामा विदेशमा संसदीय प्रणाली सफल हुनमा अनुकूल वातावरण तयार गर्ने पक्षबारे पनि यथासम्भव जानकारी हुनु आवश्यक छ । जिम्मेवारी र उत्तरदायित्व दुई यस्ता महत्वपूर्ण संवैधानिक प्रावधान र परम्परा हुन्, जसको प्रभावकारी कार्यान्वयनले प्रजातन्त्र अनुकूल वातावरण तयार गर्न मद्दत गर्छ । यसले सरकार कसरी निर्माण र सञ्चालन हुन्छ र सरकारका मन्त्रीहरू के के कार्यका लागि जिम्मेवार हुनु पर्छ त्यसको दायरा निर्धारण गर्छ, को प्रति उत्तरदायी हुनु पर्छ सो सुनिश्चित गर्दछ । यो सामूहिक र व्यक्तिगत उत्तरदायित्व नामले चिनिन्छ ।
नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१०) अनुसार प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा सङ्घीय संसदप्रति उत्तरदायी हुने छन् । मन्त्री आफ्नो मन्त्रालयका कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र सङ्घीय संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था छ । नेपालको सार्वभौमसत्ता अधिकार नेपाली जनतामा निहित भएकोले संसद्मार्फत प्रधानमन्त्री र मन्त्रीहरू जनताप्रति उत्तरदायी भएको मानिन्छ । न्युजिल्यान्डमा लिखित संविधान छैन तर संवैधानिक ऐन र परम्पराअनुसार नेपालको जस्तै सामूहिक र व्यक्तिगत उत्तरदायित्वको प्रावधान छ । यसका लागि सुशासनको अनुभूति दिन र प्रजातन्त्रको प्रवर्धनका लागि राजनीतिक–प्रशासनिक क्षेत्रमा जिम्मेवारी र उत्तरदायित्व बोध अत्यावश्यक छ ।
सामूहिक उत्तरदायित्व अन्तर्गत मुख्यतया प्रधानमन्त्री र मन्त्रीहरू संसद्को विश्वास प्राप्त गर्न संयुक्त रूपमा लाग्नुपर्ने बुझाउँछ । यसमा तीन प्रकारका जिम्मेवारी पर्दछन्, संसदीय बहुमत, मन्त्रीपरिषद्को कार्य सम्पादनको गोपनीयता कायम राख्ने र मन्त्रीपरिषद्को निर्णयमा मन्त्रीहरूले असहमति हुन् नहुने । प्रधानमन्त्री कार्यकारी प्रमुख हुने संसदीय प्रणालीमा संसद्मा बहुमत प्राप्त गरेको वा गर्न सक्ने राजनीतिक दलको नेतालाई राष्ट्र प्रमुखले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था हुन्छ । प्रधानमन्त्रीले निश्चित अवधिभित्र संसद्मा निर्धारित प्रक्रियाबाट विश्वासको मत लिनु पर्छ र बहुमतको विश्वास सधैँ हुनु आवश्यक छ । प्रधानमन्त्री र मन्त्रीहरू संसद्को विश्वास प्राप्त गर्नका लागि सधैँ सामूहिक रूपमा लाग्नु पर्दछ । तिनीहरूले त्यस्तो कुनै काम गर्नु हुँदैन, जसले गर्दा संसद्मा विश्वास गुम्ने सम्भावना हुन्छ । किनभने प्रधानमन्त्रीले बहुमत प्राप्त गर्न नसकेमा प्रधानमन्त्रीसहित सबै मन्त्री सामूहिक रूपमा पदमुक्त हुन्छन् ।
संयुक्त अधिराज्यको राजा न्युजिल्यान्डको पनि राष्ट्र प्रमुख हुन्छ तर गभर्नर–जनरलले उनको प्रतिनिधित्व गर्छ । मन्त्रीपरिषद्को काम कारबाहीको गोपनीयता कायम राख्नु पर्ने सामूहिक उत्तरदायित्व अन्तर्गतको दोस्रो जिम्मेवारी हो । मन्त्रीपरिषद्मा पेस हुने प्रस्तावमा छलफलको क्रममा व्यक्त गरेको विचार, सूचना/जानकारी, छलफलमा पेस भएको तर्क आदि गोप्य राख्नु पर्दछ । मन्त्रीपरिषद्मा पेस गरेको प्रस्तावमाथि विस्तृत, स्वच्छ र स्वतन्त्र छलफल हुन सक्ने वातावरणका लागि यस्तो गोपनीयता कायम राख्नु अत्यावश्यक मानिन्छ । यो जिम्मेवारी प्रतिकूल कार्य गरेकोले २०२३ मार्चमा एक मन्त्री पदमुक्त भएका थिए ।
तेस्रो जिम्मेवारी, मन्त्रीपरिषद्मा छलफल पछि भएको निर्णयमा प्रधानमन्त्री र मन्त्रीहरू असहमत हुनु हुँदैन । मन्त्रीपरिषद्मा छलफलको सिलसिलामा प्रस्तावको विपक्षमा मत व्यक्त गरे पनि वा छलफल हुँदा आफू अनुपस्थित भएको भए पनि मन्त्रीपरिषद्बाट निर्णय भएपछि कुनै मन्त्रीले निर्णयको प्रतिकूल हुने गरी कुनै प्रकारको विचार सार्वजनिक गर्न हुँदैन वा पाइँदैन ।
न्युजिल्यान्डको मन्त्रीपरिषद्मा प्रधानमन्त्रीसहित २० जना मन्त्री हुने व्यवस्था छ । यसका अतिरिक्त मन्त्रीपरिषद् बाहिरका मन्त्रीहरू पनि हुने व्यवस्था छ । यसको आवश्यकता विभिन्न कारणले हुन्छ, जस्तो दुई वा सोभन्दा बढी राजनीतिक दल मिलेर सरकार निर्माण हुँदा सहयोगी दलहरूलाई सरकारमा सहभागी गराउनु पर्दा । मन्त्रीपरिषद् बाहिरका मन्त्रीहरूले मन्त्रीपरिषद्को बैठकमा भाग लिँदैन तर आफ्नो विभागीय कार्य क्षेत्रसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने भएमा सहभागी हुन्छन् । मन्त्रीपरिषद् बाहिरका मन्त्रीहरूले पनि अन्य मन्त्रीपरिषद्का अन्य मन्त्रीसरह गोपनीय कायम गर्न र निर्णयको प्रतिकूल हुने गरी विचार सार्वजनिक गर्न नपाइने नियमको पालन गर्नु पर्छ । मन्त्रीपरिषद् बाहिरको मन्त्री भनेको नेपालको राज्य मन्त्री र सहायक मन्त्री जस्तो होइन । मन्त्री व्यक्तिगत रूपमा प्रधानमन्त्री र संसद्प्रति उत्तरदायी हुनुपर्ने प्रावधान अन्तर्गत पनि तिन मुख्य जिम्मेवारी पर्दछन् ।
पहिलो हो, आफ्नो विभागीय कार्यक्षेत्रसँग सम्बन्धित विषय अन्तर्गत आफूले गरेका निर्णयका सम्बन्धमा मन्त्री प्रधानमन्त्री र संसद्प्रति उत्तरदायी हुनु पर्छ । संसद्मा छलफलको क्रममा सांसदले सोधेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनुपर्ने जिम्मेवार बहन गर्ने एउटा तरिका हो । दोस्रो पक्ष हो, मन्त्रीहरू आफ्नो पदीय दायित्व निर्वाहको सिलसिलामा उच्च स्तरीय पेसागत मर्यादा, पदीय गरिमा कायम राख्नुपर्ने र व्यक्तिगत चलन र आचरण स्वच्छ हुनुपर्ने हुने पर्दछन् । पेसागत मर्यादा र पदीय गरिमा अनुरूपको आचरण नभएका कारण धेरै मन्त्री पदमुक्त भएको देखिन्छ । हालै २४ जुलाई २०२३ मा एक मन्त्रीले मादक पदार्थ सेवन गरी सवारी दुर्घटना गरेको घटनामा राजीनामा दिनुपरेको थियो । व्यक्तिगत उत्तरदायित्व अन्तर्गतको तेस्रो जिम्मेवारी भनेको मन्त्रीको आफ्नो विभागीय कार्यक्षेत्र अन्तर्गतका कुनै निकाय वा कर्मचारीले आफ्नो पदीय दायित्व निर्वाहको सिलसिलामा गरेको निर्णय, कामकारबाही र सोको परिणामका लागि जिम्मेवार हुनुपर्ने हुन्छ । त्यस्तो निर्णय, काम कारबाहीमा मन्त्री प्रत्यक्ष संलग्न भए वा नभए पनि मन्त्रीहरू जिम्मेवार हुनु पर्छ ।
न्युजिल्यान्डमा मन्त्रीहरूको कार्यभार मन्त्रालयको नाम अनुसार हुँदैन, बजेट शीर्षक अनुसार हुन्छ । जस्तो सञ्चार, पर्यटन मन्त्रालय छैनन् तर सञ्चार र पर्यटन मन्त्री हुन्छन् किनभने यी बजेट शीर्षक हुन् । प्रायः एउटा मन्त्रालयले धेरै शीर्षकको बजेट कार्यान्वयन गर्ने जिम्मेवार हुने हुँदा एउटा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित धेरै मन्त्री हुन्छन्, तर त्यसमध्ये एक जना जिम्मेवार मन्त्री तोकिएको हुन्छ । सम्बन्धित मन्त्रीले जिम्मेवार लिई परिणामको आधारमा राजीनामा दिनु पर्छ भन्ने एउटा पक्ष छ, अर्को पक्ष छ कुनै समस्या देखिएमा त्यस्तो समस्या दोहरिन नदिन सुधारात्मक कदम लिनु पर्छ भन्ने छ । सामान्यतया मन्त्रीले जिम्मेवार लिएको मापन गर्ने मुख्यतः तीन आधार छन् ।
आफ्नो विभागीय कार्यक्षेत्र अन्तर्गतका कुनै निकाय वा कर्मचारीले आफ्नो पदीय दायित्व निर्वाहको सिलसिलामा अन्जानमा गोप्य सूचना सार्वजनिक गरेमा, धनजनको क्षति, शान्ति सुरक्षामा आसर परेको अवस्था, वा खराब नियतले काम गरेको आदि अवस्थामा आएमा सोको सत्य तथ्य जानकारी गराउने । भविष्यमा त्यस्तो घटना नदोहरियोस भनेर घटनाको निष्पक्ष छानबिन गर्ने, गर्न लगाउने, छानबिनको प्रतिवेदन लिने, छानबिनबाट देखिएका कमीकमजोरीमा सुधार गर्न कार्य योजना तयार गरी लागु गर्ने गराउने । मन्त्री जस्तो सार्वजनिक जवाफदेहीको पद ग्रहण गर्ने व्यक्ति नैतिकवान् हुनु पर्छ भन्ने मान्यता प्रायः सबै देशमा हुन्छ । घटनाक्रम र परिस्थितिजन्य अवस्थाको कारण आफ्नो गल्ती नभए पनि कहिलेकाहीँ मन्त्रीले जिम्मेवारी लिनु पर्छ । आफू नैतिक रूपमा जिम्मेवार महसुस गरी पदबाट हट्ने । न्युजिल्यान्डमा मन्त्रीको परिस्थितिजन्य अवस्थाको जिम्मेवारी अन्तर्गत चर्चा हुने विषयमध्ये सन् १९९५ अप्रिलमा एक संरक्षित क्षेत्रमा घटेको दुर्घटना पनि हो । उक्त संरक्षित क्षेत्रको भ्रमणमा विद्यार्थीको एक समूह गएको थियो । त्यहाँ रहेको अवलोकन प्लेटफर्म भत्किएर १४ जनाले ज्यान गुमाउनु प-यो ।
यस्तो परिस्थितिजन्य अवस्थामा सम्बन्धित मन्त्रीलाई सचेत गराउने, छानबिनको प्रतिवेदन नभएसम्म निलम्बन गर्ने, पदबाट
हटाउन वा पदमा राखिराख्ने के गर्नुपर्ने हो सो निर्णय गर्ने दायित्व प्रधानमन्त्रीको हुन्छ ।