• १२ मंसिर २०८१, बुधबार

किसिन्जरको कूटनीतिक प्रभाव

blog

चीन र अमेरिकाबिचको तनाव केही घटेको छ । विश्वका प्रमुख यी दुई शक्ति राष्ट्रबिचको तनावले विश्व व्यवस्थामै ठुलो समस्या ल्याउने भनी सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका बेला भएको सम्बन्ध सुधारको सकारात्मक सङ्केत देखिन थालेको हो । व्यापार युद्ध र चिप युद्धले ठुलो अविश्वास पैदा गर्दा कूटनीतिक सम्बन्ध गम्भीर मोडमा पुगेको थियो । सानो कूटनीतिक पहलले मात्र दुई देशबिचको सम्बन्ध सुधार हुने नदेखेपछि यस पटक पुनः महान् कूटनीतिज्ञ डा. हेनरी किसिन्जरलाई नै अगाडि सारेर विवाद मिलाउने प्रयास गरिएको छ ।

वासिङ्टनले बेइजिङसँग खस्केको सम्बन्ध सुधार गर्न चाहेकाले नै उहाँलाई अगाडि सारिएको हो । सय वर्षीय किसिन्जर बेइजिङ जानुभयो । उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग लामो कूटनीतिक भेटवार्ता गर्नुभयो । उहाँले अमेरिका र चीनबिच तनाव बढे विश्व व्यवस्था नै खलबलिने भन्दै आपसी विश्वासको वातावरण बनाई सहअस्तित्व र सहकार्यका आधारमा सम्बन्ध सुधार गर्न राष्ट्रपति सीलाई आग्रह गर्नुभयो । राष्ट्रपति सीले अमेरिकासित चीनले सम्बन्ध बिगार्न नचाहेको खुलासा गर्नुभयो । विश्वशान्ति, मेलमिलाप, एकताका लागि चीन र अमेरिकाबिच सम्बन्ध सुमधुर हुनुपर्नेमा राष्ट्रपति सीको जोडलाई उहाँले सकारात्मक रूपमा लिनुभयो । 

भरपर्दो कूटनीतिक संवादको कमीले तनाव बढेको अनुभव गरेका दुवै देशका लागि डा. किसिन्जर पुनः भरपर्दो माध्यम बन्नुभयो । चीनसँग निकट सम्बन्ध राख्नुहुने उहाँ अमेरिकी कूटनीतिज्ञहरूमध्ये सबैभन्दा भरपर्दो र विश्वासिलो कूटनीतिज्ञ मानिनुहुन्छ । उहाँले नै हिजो एक्लिएको चीनलाई खुला गर्न र अमेरिकासित कूटनीतिक सम्बन्ध स्थापना गर्न महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको यो गुनलाई चीनले कहिल्यै बिर्सने छैन । राष्ट्रपति सीले किसिन्जरलाई ड्यायुइटाई स्टेट गेस्ट हाउसमा स्वागत गर्नुभयो । यो स्थानलाई विदेशी कूटनीतिज्ञहरूसँग औपचारिक भेटघाट हुने ग्रेट हल अफ द पिपलको तुलनामा एक विशेष आत्मीय स्थलका रूपमा हेरिन्छ ।

किसिन्जरले चीनका शीर्ष नेता वाङ यी र रक्षामन्त्री ली साङ्फुसँग पनि भेटवार्ता गर्नुभयो । दुवैले दुई विश्व शक्तिबिच आपसी सम्मान, सहकार्य र शान्तिपूर्ण सहअस्तित्वमा जोड दिनुभयो । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले गत जुन महिनामा बेइजिङ भ्रमण गर्दा किसिन्जरको भ्रमण हुने कुराको जानकारी चिनियाँ अधिकारीलाई गराउनुभएको थियो । ब्लिङ्कनपछि अमेरिकाका अर्थमन्त्री जनेट यलन र जलवायु मामिलाका अमेरिकी विशेष दूत जोन केरीले समेत बेइजिङ भ्रमण गर्नुभयो । उहाँहरूले राष्ट्रपति सीसँग भेट्ने समय पाउनु भएन । किसिन्जरलाई भने विशेष सम्मानका साथ लामो कूटनीतिक भेटवार्ता गरी राष्ट्रपति सीले ठुलो महत्व दिनुभयो । 

चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भएसँगै अमेरिकासित सम्बन्ध बिग्रियो । सन् १९७१ सम्म अमेरिका र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध थिएन । त्यति बेला किसिन्जरले गोप्य रूपमा बेइजिङ भ्रमण गर्दै तात्कालिक अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनको भ्रमण हुने वातावरण बनाउनुभयो । त्यसको अर्को वर्ष निक्सन चीन पुगेर त्यहाँ माओत्सेतुङसहितका शीर्ष नेताहरूसित वार्ता गर्नुभयो । त्यसले अमेरिका र चीनबिचको कूटनीतिक सम्बन्ध सामान्य बनाउन सघायो र चीन विश्वसामु खुला भयो । वर्षौंदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका चीन र अमेरिकाबिच सम्बन्ध स्थापना गर्न किसिन्जरको निर्णायक भूमिका थियो । 

सन् १९६० र १९७० को दशकमा अमेरिकी विदेश नीतिमा प्रभावशाली भूमिका निर्वाह गरेका किसिन्जरले सन् १९७३ मा भियतनाम युद्धमा अमेरिकी संलग्नताको अन्त्यका लागि गरेका वार्ताका लागि उहाँलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । किसिन्जर सन् १९२३ को मे २७ मा जर्मनीको एक यहुदी परिवारमा जन्मिनुभएको हो । नाजीहरूबाट बच्न किसिन्जरको परिवार सन् १९३८ मा आप्रवासीका रूपमा अमेरिका पुगेको थियो । उहाँ सन् १९४३ मा अमेरिकी नागरिक बन्नुभयो । दोस्रो विश्वयुद्धकालीन समयपछि उहाँले हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन सुरु गर्नुभयो ।

सन् १९६९ मा अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले किसिन्जरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभयो । त्यसको चार वर्षपछि उहाँ विदेशमन्त्री बन्नुभयो । राष्ट्रपति जेराल्ड फोर्डको कार्यकाल सन् १९७३–७७ मा पनि उहाँ नै विदेशमन्त्री बन्नुभयो । अमेरिकाबाहिर जन्मेर उक्त पद सम्हाल्ने उहाँ प्रथम व्यक्ति हुनुहुन्छ । स्ट्राटेजिक आम्र्स लिमिटेसन ट्रिटी (स्टार्ट–१ सन्धि) शीतयुद्ध कालका चिरपरिचित प्रतिद्वन्द्वी महाशक्ति अमेरिका र सोभियत सङ्घले लामो समयदेखि एकअर्काविरुद्ध प्रयोग गर्न विश्वभर करिब ३७ हजार आणविक हतियार तयारी हालतमा राखेका थिए । जुन सुकै बेला पुनः विश्वयुद्ध भड्किन सक्ने खतरा थियो । 

विश्वयुद्ध सुरु हुँदा ती आणविक हतियार प्रयोग हुन सक्थे, आणविक हतियार प्रयोगले विश्व ध्वस्त हुन सक्थ्यो । विश्वशान्तिका लागि खतराका रूपमा रहेका ती हतियारको सङ्ख्या कटौती गर्दै जाने योजना अनुसार सन् १९७३ मा स्टार्ट–१ सन्धि भयो, जसले आणविक हतियार निर्माणको होड र प्रयोगलाई निषेध ग-यो । यो सन्धि गराउन किसिन्जरकै निर्णायक भूमिका थियो । किसिन्जरकै कारण मध्यपूर्वमा भड्किएको युद्ध अन्त्य भयो । स्वेज नहरसम्बन्धी विवादका कारण सन् १९७३ को अक्टोबरमा इजिप्टले इजरायलमाथि आक्रमण ग-यो ।

मध्यपूर्वका मुस्लिम मुलुकहरूले घेरिएको इजरायलमाथिको आक्रमणमा अन्य अरब मुलुकहरूले पनि साथ दिए । आक्रमणका कारण यहुदी बहुल इजरायलको अस्तित्व नामेट हुने स्थितिमा पुग्यो । अमेरिकाले तत्काल इजरायललाई सहयोग गरी उसको अस्तित्व नामेट हुन जोगायो । अरब मुलुकहरूलाई सहयोग गर्न सोभियत सङ्घ तत्पर देखियो । अमेरिकाले इजरायललाई सहयोग गरिसकेको स्थितिमा सोभियत सङ्घ अरब मुलुकहरूलाई सहयोग गर्न अगाडि आउने भएपछि फेरि विश्वयुद्धको खतरा मडारियो । परिस्थितिको गम्भीरतालाई ध्यानमा राखी किसिन्जरले मध्यपूर्वमा युद्धविरामका लागि भूमिका निर्वाह गर्नुभयो ।

युद्धविराम भयो । विश्व फेरि सम्भावित विश्वयुद्धबाट जोगिन पुग्यो । जिम्बाब्बे र जाम्बिया सन् १९७७ को दशकसम्म ‘रोडेसिया’ भन्ने छुट्टै मुलुकका रूपमा चिनिन्थे । त्यहाँका बहुसङ्ख्यक जनता काला जातिका भए पनि शासन भने अल्पसङ्ख्यक गोराहरूको थियो, जसलाई रोडेसियामा उपनिवेश कायम गरेको बेलायतको सहयोग थियो । अल्पसङ्ख्यक गोराहरूको शासनविरुद्ध रोडेसियाभित्र चलिरहेको आन्दोलनलाई सोभियत 

सङ्घले साथ दिन थालेको थियो । अल्पसङ्ख्यक गोराहरू बहुसङ्ख्यक कालाहरूलाई शासन हस्तान्तरण गर्ने पक्षमा थिएनन् । यसले गर्दा त्यहाँ पनि सोभियत सङ्घ र अमेरिका–बेलायतबिच टकरावको प्रबल सम्भावना थियो । 

किसिन्जरले परिस्थितिको संवेदनशीलता बुझ्नुभयो र घनीभूत वार्ता सुरु गर्नुभयो । शासनमा रहेका अल्पसङ्ख्यक गोराहरूलाई उहाँले परिस्थितिको संवेदनशीलता अवगत मात्र गराउनु भएन, रोडेसियाको स्वतन्त्र र बहुसङ्ख्यकलाई शासनसत्ता सुम्पिन सहमत गराउनुभयो । किसिन्जरको बुद्धिमतापूर्ण भूमिकाका कारण रोडेसियाले स्वतन्त्रता पनि प्राप्त ग-यो । त्यहाँका बहुसङ्ख्यक काला जातिहरूले स्वशासन पनि स्थापना गर्न सके । सन् १९७५ को मध्य दशकसम्म भियतनाम उत्तरी र दक्षिण गरी दुई मुलुकमा विभाजित थियो । 

यो विभाजनको कारण पनि शीतयुद्ध थियो । उत्तरी भियतनाममा चीन–सोभियत सङ्घ समर्थित सरकार थियो भने दक्षिण भियतनाममा अमेरिका समर्थित सरकार । उत्तरी पक्ष भियतनाम एकताको पक्षमा थियो । एकता हुँदा भियतनाममा कम्युनिस्ट सत्ता स्थापना हुने भयका कारण अमेरिका आफैँ भियतनामको गृहयुद्धमा सामेल भएको थियो तर महाशक्तिहरूको संग्लनताका कारण भियतनाममा युद्ध टुङ्गिने छाँटकाँट थिएन । हजारौँ अमेरिकी सैनिकले भियतनाम युद्धमा ज्यान गुमाएका थिए । यसले गर्दा अमेरिकामा जताततै निराशा र आक्रोश व्याप्त थियो । अमेरिका सम्मानजनक रूपमा भियतनाम युद्धबाट पछि हट्ने पक्षमा थियो । 

किसिन्जरले नै भियतनाम युद्ध अन्त्यका लागि निर्णायक भूमिका निर्वाह गर्नुभयो । चीनका सर्वोच्च नेता माओत्सेतुङको नेतृत्वमा सन् १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएसँगै चीन–अमेरिका सम्बन्ध विच्छेद भयो । एकातिर सोभियत सङ्घ र चीन दुवै विचारधारात्मक रूपमा कम्युनिस्ट मुलुक, अर्कातिर चीन–अमेरिकाबिच शत्रुतापूर्ण सम्बन्ध यसले विश्व राजनीतिमा अमेरिकाको हात तल पर्ने सम्भावना थियो । अर्कोतिर भियतनाम युद्धमा चीनले उत्तर भियतनामलाई सहयोग गरेको थियो । चीनलाई विश्वासमा नलिई भियतनाम युद्धबाट अमेरिका सम्मानजनक रूपमा बाहिर निस्कन सक्ने स्थिति थिएन ।

यो स्थितिमा किसिन्जरले चीन–अमेरिका सम्बन्धको आवश्यकता देख्नुभयो, राष्ट्रपति निक्सनलाई यसमा सहमत गराउनुभयो । सम्बन्ध स्थापनाका लागि उहाँले गोप्य रूपमा बेइजिङको भ्रमणसमेत गर्नुभयो । उहाँको प्रयासले सफलता प्राप्त ग-यो । दुई दशकदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका चीन–अमेरिकाबिच मैत्री सम्बन्ध स्थापना भयो । यही भूमिकाले किसिन्जरलाई बिसौँ शताब्दीका महान् कूटनीतिज्ञ बनायो । जन्मभूमि जर्मनी भएकाले अमेरिकी कानुन अनुसार किसिन्जरले अमेरिकी राष्ट्रपति बन्ने अवसर पाउनुभएन तर शीतयुद्धकालमा अमेरिकाको श्रीवृद्धिमा किसिन्जरको भूमिका कुनै अमेरिकी राष्ट्रपतिको भन्दा कम रहेन । 

विश्व राजनीतिमा किसिन्जरको सबैभन्दा बढी स्मरण चीन–अमेरिका सम्बन्ध स्थापनामा निर्वाह गरेको अद्वितीय भूमिकाका कारण गरिँदै आएको छ । किसिन्जरको भूमिकाका कारण चीन–अमेरिकाबिच सम्बन्ध स्थापित भयो । त्यसपछि मात्र चीनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्यमा आफ्नो स्थान सुरक्षित गर्न सक्यो । अमेरिकी विश्वविद्यालय हार्वर्डमा अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिका प्राध्यापक किसिन्जरमा विश्व राजनीतिमा भित्रभित्रै भइरहेका घटनाक्रम सुँघ्न सक्ने शक्ति, विश्लेषण गर्न सक्ने खुबी र समय अनुसार पाइला चाल्न सक्ने अद्वितीय खुबी थियो । 

चीन–अमेरिकाबिचको शत्रुतापूर्ण सम्बन्धलाई मित्रतामा परिणत गर्न किसिन्जर सन् १९७१ को जुलाई ९ मा पाकिस्तान हुँदै गोप्य रूपमा बेइजिङ पुग्नुभयो । बेइजिङमा चार दिनको बसाइँमा किसिन्जरको चीनका प्रधानमन्त्री चाउ एनलाइसँग पटक–पटक भेटवार्ता भयो । अमेरिकी टोली र चिनियाँ टोलीबिच चीन–अमेरिका सम्बन्ध स्थापना र दुवै पक्षका सरोकारका विषयमा कुराकानी भएका थिए । 

पटक–पटकको वार्ताबाट जनवादी गणतन्त्र चीनलाई अमेरिकाले मान्यता दिने सहमति भयो । यो सहमति अनुसार ‘ताइवान चीनको अभिन्न भूभाग हो’ भन्ने तथ्यलाई अमेरिकाले पनि स्वीकार ग-यो । भियतनाम युद्धमा फसिरहेको अमेरिकालाई त्यहाँबाट सम्मानजनक रूपमा बाहिर निस्कन चीनले सहयोग गर्ने भयो । यी अनौपचारिक सहमतिलाई अन्तिम रूप दिन राष्ट्रपति निक्सनले चीन भ्रमण गर्ने सहमति भयो । राष्ट्रपति निक्सनले एक साता लामो चीन भ्रमण गरी कूटनीतिक सम्बन्धलाई औपचारिक रूप दिनुभयो । यी सबै काम किसिन्जरको पहलमा गरिएका हुन् । 

  

Author

रामप्रसाद आचार्य