• ९ माघ २०८१, बुधबार

लम्पीको प्रभावले दुध उत्पादन घट्यो

blog

कपिलवस्तुको वाणगंगा नगरपालिका भगलापुरको गाई फर्म। तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु साउन ११ गते। लम्पी स्किन रोगले दुध उत्पादन घटाएको कृषकले गुनासो गरेका छन्। गत कार्तिक महिनादेखि कपिलवस्तुमा फैलिएको लम्पी रोगले गाईमा सङ्क्रमण हुँदा दुध उत्पादन आधा घटेको छ। पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख विष्णुप्रसाद खनालले दुध उत्पादन घटेको जानकारी दिनुभयो। 

उहाँले भन्नु भयो,‘‘एक पटक सङ्क्रमण देखिएका गाईले दुध दिन छाडेको छ। निको भएपछि आधा उत्पादन घटेको छ। सबै भन्दा धेरै वाणगंगा नगरपालिकामा समस्या देखिएको छ। रोग नियन्त्रणमा लिनका लागि ‘भ्याक्सिन’समेत सुरु भएको छ।’’

वाणगंगा ६ भगलापुरका कृषक झविन्द्र पोख्रेलले १२५ लिटर दैनिक उत्पादन घटेर ६५ लिटर पुगेको बताउनुभयो। विगत ६ महिनादेखि उत्पादन घटेको छ। एक पटक सङ्क्रमण देखिएका गाईले दुध कम दिन्छ। 

वाणगंगा नगरपालिका वनगाईमा डेरी सञ्चालन गरेका कृष्ण खनालले कृषकको दुध उत्पादन घट्दा दुधको अभाव भएको बताउनुभयो। गाउँघरमा सङ्कलन गर्दा दैनिक सात सय लिटर दुध सङ्कलन भएकोमा घटेर २५० पुगेको उहाँको भनाइ छ। लम्पीका कारण दुध उत्पादन घट्दा कृषकको लागत उठाउन समेत असहज देखिएको छ।