• १६ वैशाख २०८१, आइतबार

डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै : चार दिनमै थपिए ३३०

blog

काठमाडौं, साउन ११ गते । पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार पछिल्लो चार दिनमा ३३० जना डेंगु सङ्क्रमित थपिएका छन् । योसँगै ७० जिल्लामा चार हजार ६१९ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, हालसम्म सुनसरी जिल्लाबाट तीन जना डेंगु सङ्क्रमितको मृत्यु भएको मरासिनीले जानकारी दिनुभयो । डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा दुई हजार ९७१ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा ७६७ जना, सुदूरपश्चिम प्रदेशमा ३१८, गण्डकी प्रदेशमा ३४७, लुम्बिनी प्रदेशमा १६८, कर्णाली प्रदेशमा २३ र मधेश प्रदेशमा २५ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८६ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै तीन हजार ९७६ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी दुई हजार ७३७, धादिङमा ४८३, दार्चुला १९०, कास्की २०८, सङ्खुवासभा ७५, काठमाडौं ८८, कञ्चनपुरबाट ५२, रुपन्देहीमा ४५, म्याग्दीबाट ५४ झापामा ४२ जनामा डेंगु पुष्टि भएको छ ।

डा.मरासिनीका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्त हुनु डेंगुका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलिन नदिन हरेक शुक्रबार बिहान १०ः३० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हालभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

डा.मरासिनीका अनुसार सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने । घरपालुवा पशुपक्षी  व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने लामखुट्टेको टोकाइबाट बच्ने उत्तम उपाय हो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।