धनगढी समाचारदाता
धनगढी, साउन ११ गते । बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जङ्गली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखिएको हो ।
यसअघि फागुन १९ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा फेला परेका बँदेलमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा मृत भेटिएका बँदेलको नमुना जाँच गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको पशुपन्छी रोग प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत साता बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा बँदेल मृत अवस्थामा फेला परेपछि निकुञ्जका पशु चिकित्सक डा. प्रेमिशा श्रेष्ठको टोलीले पोस्टमार्टम गरेर परीक्षणका लागि नमुना प्रयोगशालामा पठाएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आरटी पिसिआर विधिबाट परीक्षण गरेर अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको डा. जोशीले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय आसपासमा एउटा माउ र बच्चा बँदेल मृत अवस्थामा फेला परेको थियो ।
निकुञ्ज हेडक्वाटर आसपास क्षेत्रमा थप केही बँदेल झोव्रिmएको अवस्थामा देखिएको बताइएको छ । निकुञ्जभित्रका बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि निगरानी गर्नेे र बाहिर बस्तीमा सचेत पार्ने कार्य भइरहेको छ । अफ्रिकन स्वाइन फिभर बङ्गुर र बँदेलबाहेक अन्य जीवजन्तुमा नलाग्ने जनाइएको छ । यो रोग लागेमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रीसम्म) आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, छटपटाउने, धर्मराउनेलगायतका लक्षण देखापर्ने गरेको जनाइएको छ ।