• २० असोज २०८१, आइतबार

लागुऔषधको कुलतमा युवा

blog

नवराज कट्टेल

विराटनगर, साउन १० गते ।  लागुऔषध प्रयोगकर्ता झापा कमल गाउँपालिका–६ का विवेक ग्वालालाई विराटनगर–१६, हुलास चोकबाट प्रहरीले नियन्त्रणमा लियो। विभिन्न प्रकारका २६ एम्पुल लागुऔषध लिन झापाबाट ग्वाला भारतीय बजार जोगबनी आएर फर्किदाँ प्रहरीले पक्राउ गरेको हो। 

एकै दिन झापा र मोरङबाट प्रहरीले ग्वालासहित पाँच जनालाई पक्राउ गरेको थियो। पथरीशनिश्चरे–१ बाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित शैलेश गुरुङ, झापा बिर्तामोड–४, भद्रपुर रोडबाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित रवि चौधरी, प्रियान्स साह र विशाल विकलाई पक्राउ ग¥यो। कोशी प्रदेशमा बढ्दो लागुऔषध प्रयोग र कारोबारले सुरक्षा चुनौतीसँगै युवालाई नराम्रोसँग कुलतमा फसाउन थालेको यो घटनाले पुष्टि गरेको छ। लागुऔषध प्रयोगकर्ता लतमा फसेपछि परिवारबाट टाढिने गरेका छन्। 

धनकुटाका संजोक लिम्बू (नाम परिवर्तन) परिवारदेखि एक्लिँदै बन्द कोठाभित्र आफू र मोबाइलबाहेक अरूसँग कुरा गर्न नचाहने भएका थिए। स्वभावमा दैनिक परिवर्तन आइरहेका बेला ३४ वर्षीय लिम्बूलाई प्रहरीले नियन्त्रणमा लियो, त्यसपछि मात्रै परिवारले लागुऔषध प्रयोगकर्ता हो भन्ने जानकारी पाएको बताउनुभयो। अपत्यारिलो तरिकाले लागुऔषधको खाल्डोमा आफ्नो ऊर्जाशील उमेरलाई फसाउन थालेका आफूलाई निस्कन निकै हम्मे परेको उहाँले सुनाउनुभयो। 

सुनसरीको धरान निवासी जमुना (नाम परिवर्तन) ले १४ वर्षको उमेरदेखि लागुऔषध सेवन सुरु गरेकोले निकै समस्या भएको सुनाउनुभयो। बुवाआमा दुवै जना रोजगारीको सिलसिलामा विदेश भएपछि जमुना दैनिक साथीभाइसँगको जमघटमा रुमलिएर लागुऔषधमा डुबेको अनुभव छ। करिब चार वर्षपछि आफन्तले थाहा पाएर धरानकै एक सुधार गृहमा राखेपछि सुध्रिएको उहाँको भनाइ छ। 

लागुऔषध मुद्दाको तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै पुरुष पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार लागुऔषधको मुद्दामा दुई हजार ३०९ जना पुरुष पक्राउ परेका छन् भने १५३ जना महिला छन्। तीन वर्षमा तीन हजार ३०४ जना प्रहरीले पक्राउ गरिसकेका छन्। जसमध्ये एक हजार ७१६ वटा मुद्दा फस्र्र्याेट भइसकेको तथ्याङ्कले जनाएको छ। 

यस्तो छ तथ्याङ्क

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्क अनुसार तीन वर्षमा गाजा पाँच हजार ८१५ केजी ४९२ ग्राम सात सय मिलिग्राम बरामद गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा एक हजार ७८९ केजी १११ ग्राम, २०७८/७९ मा दुई हजार २१ केजी ९०१ ग्राम र २०७९/८० मा पाँच हजार ८१५ केजी ४९२ ग्राम ७०० मिलिग्राम गाजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै चरेश २०७७/७८ मा १३ ग्राम ८६० मिलिग्राम र २०७८/७९ मा २३ ग्राम १७ मिलिग्राम बरामद गरिएको छ। 

यस्तै अफिम २०७७/७८ मा  दुई केजी, २०७८/७९ मा ११ ग्राम र २०७९/८० मा २७ ग्राम ६८ मिलिग्राम बरामद भएको छ। यस्तै तीन वर्षको तथ्याङ्कमा ब्राउनसुगर २०७७/७८ मा तीन किलोग्राम ५१६ ग्राम ५६७ मिलिग्राम, २०७८/७९ मा दुई केजी ४५७ ग्राम १७४ मिलिग्राम र २०७९/८० मा दुई किलोग्राम ७९ ग्राम ८४९ मिलिग्राम बरामद गरिएको बताइएको छ।