• ५ जेठ २०८१, शनिबार

वर्षा सुरु भएसँगै झापामा १० जनाको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल
दमक, साउन ९ गते ।
वर्षा सुरु भएसँगै झापामा अहिलेसम्म खोलानालामा डुबेर १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ १ देखि असार ७ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न खोलानालामा डुबेर १० जनाको मृत्यु भएको हो ।

झापा गाउँपालिका–४ ग्रामथानस्थित नेपाल–भारतको दशगजा सीमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर सोही गाउँपालिका–१ का गौतमकुमार गणेशका सात वर्षीय  छोरा डेनिस गणेशको मृत्यु भएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिका–१० मा दोमुखा ड्याममा पौडी खेल्ने क्रममा कनकाई नगरपालिका–२ का दुर्गा गुरागाईंको १८ वर्षीय छोरा सलिन गुरागाईंको डुबेर मृत्यु भएको छ ।

यहि अवधिमा गौरादह नगरपालिका– ९ स्थित किस्ने खोलामा डुबेर अर्का एक बालकको पनि मृत्यु भएको छ । सोही नगरपालिका–२ का आबुलाल ताजपुरियाका १३ वर्षीय छोरा एन्जल ताजपुरिया पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार गौरीगञ्ज गाउँपालिका–३ मा स्थानीय लेरा खोलामा डुबेर पर्शुराम पराजुलीका १४ वर्षीय छोरा सागर पराजुलीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका– ६ बस्ने नेत्र मैनालीका १९ वर्षीय छोरा अनिल मैनाली देउनियाँ खोलाले बगाई मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जनाउनुभयो ।

यसैगरी, भद्रपुर नगरपालिका–९ शान्ति चौक बस्ने वर्ष ७५ को जीवन थापा मगरको मेची क्याम्पस भद्रपुरको पूर्व पट्टी जमेको नालीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यता गौरादह नगरपालिका–६ का टगुवास्थित रतुवा खोलामा ६५ वर्षीय भागवत शर्माको शव भेटिएको प्रहरीले जनाएको छ । उहाँको शव घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिका–१० बस्ने मनबहादुर राईकी अन्दाजी २६ वर्षीया छोरी कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कनकाई सिँचाई नहरको शाखा नहरमा डुबेर मृत्यु भएको थियो ।

त्यस्तै, सतासी झर्नाको दहमा साथीसँग घुम्न जानुभएका कमल गाउँपालिका–५ पाडाजुँगी बस्ने टेकबहादुर भण्डारीका २१ वर्षीय छोरा निश्चल भण्डारीलाई पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीमा अदुवा खोलामा खोलाले बगाएर ल्याएको एउटा शवको पहिचान अहिलेसम्म नखुलेको बताइन्छ ।