• ९ जेठ २०८१, बुधबार

व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास

blog

मेडिकल व्यवसायी र सरकारी अनुगमन टोलीबीचको विवाद । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, साउन ८ गते । इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ । 

जिल्ला अस्पताल सुनसरी परिसरमा रहेको इनरुवा-१ को नुरी मेडिकल, विराट डाईग्नोेष्टिकसहितको अनुगमन गरेर नेशनल मेडिकलमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई मेडिकल व्यवसायीहरूले अनुगमनमा रोक लगाएका छन् ।  

अनुगमनका क्रममा कर तिरेको नतिरेको, दर्ताको कागजपत्र चेकजाँच गर्नेक्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न आएको टोलीलाई केहीबेर मेडिकल हलभित्रै घेरेका थिए । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुन्ने प्रयास पनि गरेका छन् । 

अनुगमन टोलीमा रहेका सदस्यहरूले योगेन्द्र मेहतालाई औषधि पसलको कर इनरुवा नगरपालिकालाई तिरेको छ, छैन भनेर प्रश्न गर्दा विवाद भएको स्थानीयको भनाइ छ ।

अनुगमन टोलीमा रहनुभएका जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेले इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका पती योगेन्द्र मेहतासँग विवाद भएको र सोहीक्रममा चर्काचर्की भएको बताउनुभयो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएकाबेला उपमेयरका पती योगेन्द्र महेताको नेतृत्वमा मेडिकल सञ्चालकहरूले अनुगमन टोलीलाई सटर झारेर अवरोध गरेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले बताउनुभयो ।

अहिले टोलीले अनुगमन स्थगित गरेको छ । व्यवसायीहरूले मेडिकल खोलेका छन् । अनुगमनमा प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरे लगायत रहनुभएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले घटना भएको पुष्टि गर्नुहुँदै अनुगमन टोलीलाई सटर झारेर अनुगमनमा बाधा गरिएकोमा दुःख व्यक्त गर्नुभयो । पाण्डेले अनुगमन टोलीलाई सूचना दिएर, कागजात देखाएर सहयोग गर्नुपर्नेमा उल्टै बाधा अड्चन गर्ने काम भएको बताउनुभयो ।