काठमाडौं, साउन ८ गते । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती ःभ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्नुहुँदै महासचिव भुसालले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराउनुभएको हो ।
अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो ।
‘‘भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गरियोस् ताकि अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरुको अहिले नै भ्रूण तुहियोस् । नजन्मिउन् तिनीहरु । त्यो होस् । त्यो ठिक छ । तर यसले मात्रै पुग्दैन । मैले भन्न खोजेको यसले मात्रै पुग्दैन ।’’ महासचिव भुसालले भन्नुभयो, ‘‘पार्टीभित्र यो बहस सुरु हुनुपर्यो । हरेक कमिटीमा यो छलफल सुरु हुनुपर्यो । पार्टीका हरेक कमिटीहरुमा खासगरीे सेन्ट्रल कमिटीमा पहिला कम्युनिष्ट पार्टीबाटै सुरु गर्नुपर्यो । हामी मध्ये यो उपभोग र उत्पादनका हिसाबले उत्पादनभन्दा उपभोग बढी नगरेका हामी को छौं भन्ने कुरा त्यो कमिटीमै ग्यारेण्टी हुनुपर्यो । पार्टीको ग्यारेण्टी हुुनुपर्यो ।’’
महासचिव घनश्याम भुसालले मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचार विरोधी अभियान सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने औंल्याउनुभयो ।
महासचिव भुसालले समाजवादको यात्रालाई ठिक ढङ्गले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयम्लाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकिर गर्नुभयो ।
महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताउनुभयो । त्यस मामिलामा पुँजीवादले जित्ने भएकाले कम्युनिष्टहरुले त्यो बाटो लिन नहुने उहाँको तर्क थियो ।