• १२ मंसिर २०८१, बुधबार

साम्यवादी आन्दोलनका धरोहर

blog

विक्रम संवत्को साउन पहिलो साता नेपाली राजनीतिले सम्झिरहने दिन हुन् । एक जना प्रजातन्त्रवादी नेता बिपी कोइराला (सान्दाइ) र अर्का कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ (माल्दाइ) लाई स्मृति दिवसका रूपमा सम्झना गर्ने गरिन्छ । सान्दाइको सम्झनामा एकाध गोष्ठी र वृक्षरोपण गरेर सम्झिने गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव माल्दाइलाई यताका वर्षमा अझै धेरै सम्झना गर्ने गरिएको छ । बाचुञ्जेल त माल्दाइले गद्दार, संशोधनवादी, नेपाली कांग्रेसको दलाल पगरी भिरे । 

मरेपछि माल्दाइको योगदानको उच्च मूल्याङ्कन गर्दै महान् बनाउँदा नेपाली कम्युनिस्ट आन्दोलनलाई के फाइदा, शिक्षा दिन्छ त्यसको समीक्षा हुन सकेको छैन । ढिलो भयो तर राम्रै भयो भन्ने अर्थमा लिन सकिएला तर ढिलो बुझियो भने देश र जनताले खोजेको परिवर्तन संस्थागत गर्न कति भुक्तान गर्नु पर्छ भन्ने इतिहासको यो सबक पनि हुन सक्छ ।

पुष्पलाललाई गद्दार करार गर्न राजनीतिक साहित्य मात्र लेखिएन । उनको व्यक्तिगत जीवनका नित्तान्त व्यक्तिगत कुरालाई पनि गद्दार बनाउने सूत्रको रूपमा लिइयो । वर्तमान एमाले, पूर्वएमाले (माले) पार्टीको पूर्वसङ्गठन को–अर्डिनेसन कमिटीले त कार्यकर्तामाझ ‘काँठे’ भाकाको गीत नै बनाएको थियो । ‘गद्दार पुष्पलाल’ बोलको यो गीतको गेडा, अन्तरा माल्दाइको हुर्मत लिन काफी थिए । 

गद्दार पुष्पलाल

नेपाली कांग्रेसको

नं एक दलाल

गद्दार र सरदार 

कम्युनिस्ट आन्दोलनमा गद्दार पगरी दिने र सरदार बनाउने कुरो नौलो होइन । विश्व कम्युनिस्ट आन्दोलनकै प्रतिलिपि उतार गरेर यस्ता पगरी ओडाउने चलन नेपालमा पनि थिति बसाइयो । ट्राटस्कीदेखि वाङमिङ, लिन पियाओ, भारतका साजन गुप्ता, नृपेन चक्रवर्तीसम्म आइपुग्दा विश्व कम्युनिस्ट आन्दोलनका गद्दारको लामै फेहरिस्त हुन्छ । नेपालमा पनि त्यही सूत्रको गलत प्रयोग माल्दाइमाथि भयो र बाँचुन्जेल गद्दार भए । मोहनविक्रम सिंहले 

‘गद्दार पुष्पलाल’ पुस्तक लेखे । रोहितले ‘खोटा विचारको खण्डन’ पुस्तकमा हुर्मत काडे । को–अर्डिनेसन केन्द्रको मुखपत्र ‘मुक्ति मोर्चा’मा माल्दाइको अक्षरशः उछितो काढेको मसी अझै सुकेको छैन ।

धन्न पुष्पलालका नाममा व्यापारिक प्रतिष्ठानरूपी अस्पताल, स्कुल कलेज खुलेका छैनन । यो कुरालाई चाहिँ गनिमत नै मान्नु पर्छ । मदन भण्डारीका नाममा जस्तो फाउन्डेसन खोलेर प्रतिगामी राजनीतिलाई मलजल गरे जस्तो माल्दाइको नाम दुरुपयोग अहिलेसम्म भएको छैन ।

मुक्ति मोर्चा समूह (मदन–आश्रित) ले पाँडे गालीको सहारामा सङ्गठन बनाए । माले पार्टीले गीतमार्फत होच्याए । नेपालका तत्कालीन सबै घटकले माल्दाइको विरोध गर्न कुनै कसर बाँकी राखेनन् तर उनको मृत्युपछि रातारात माल्दाइ कम्युनिस्ट आन्दोलनका होनाहार सरदारमा प्रतिस्थापित भए । गद्दार र सरदार बनाउने यो खेल अझै सकिएको छैन । जनयुद्धताका बादल लिन पियायो रूपी ‘गद्दार’ थिए । रातारात उनी ‘सरदार’ भए ।

संविधान सभाको बाक्सा टुँडिखेलमा फुटाएर ‘क्रान्तिकारी’ दरिए । ओली गुटमा गएर प्रचण्डलाई ‘लाल गद्दार’ बनाउने उद्घोष गरे । प्रचण्ड जस्ता पात्रलाई चिडियाखानामा राख्नु पर्ने ‘पशु वाक्य’ बोल्न भ्याए । ओलीले बालकोटको बार्दलीमा उभिएर माधवकुमार नेपाललाई ‘लाल गद्दार’ को पगरी गुथाए । विश्व कम्युनिस्ट आन्दोलनका कुनै बेलाका ‘गद्दार’ लिउ शाउ ची, तेङ शियाओ पिङ पनि कालान्तरमा ‘सरदार’ भए । संयुक्त जनान्दोलनका योजनाकार, कम्युनिस्ट पार्टीका संस्थापक माल्दाइको गद्दारी र सरदारीको यो कथा यहीँ आएर टुङ्गिँदैन ।

पहिलो प्रहार 

नेपालको कम्युनिस्ट आन्दोलनमा खड्गप्रसाद ओलीले पहिलो ‘खड्ग’ प्रहार गरेका होइनन् । ओलीले त्यो प्रहारको निरन्तरता मात्र दिएका हुन् । पहिलो प्रहार विसं २००८ मा माल्दाइलाई महासचिवबाट बलात हटाएर सुरु गरिएको थियो । दुई वर्ष नबित्दै संस्थापक महासचिवलाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाइयो । अधिकारी चीन गएपछि केशरजङ्ग रायामाझी कार्यवाहक महासचिव बने ।

यही साङ्गठानिक संरचना नै कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने प्रस्थान बिन्दु थियो । कम्युनिस्ट आन्दोलनको विचलन र विखण्डनको जग यहीँनेर आएर हालिएको हो । दुई वर्ष नबित्दै पुष्पलाललाई हटाउनु पर्ने, महाधिवेशनसम्म पर्खनु नपर्ने नौबत किन आयो ? माल्दाइले के अपराध गरेका थिए ? आज पनि प्रश्न अनुत्तरित छन् । यति मात्र हैन संस्थापक सदस्य पनि विवादित छन् । कम्युनिस्ट पार्टीको स्थापना पनि २२ अप्रिल र १५ सेप्टेम्बर १९४९ मा विवाद छ । कम्युनिस्ट आन्दोलनको ७४ वर्षपछि यति सामान्य कुराको पनि खुटखबर छैन । यसपछि दरभङ्गा प्लेनम, गोरखपुर सम्मेलनको वरिपरि विघटित संसदको पुनस्र्थापना, राष्ट्रिय प्रजातन्त्र र संविधानसभाको कार्यनीतिको गोलचक्करमा कम्युनिस्ट आन्दोलनले चक्कर काट्यो । चौथो महाधिवेशन गरेर माल्दाइले गोरखपुरबाट पार्टी सङ्गठन अलग गरे । उनीबाहेककाले अलग्गै सङ्गठन निर्माण गर्दै गए ।

यसरी तेस्रो महाधिवेशनबाट वयस्क नहुँदै कम्युनिस्ट आन्दोलन पक्षघातको सिकार भयो । माल्दाइ नेतृत्वको पार्टीबाट विद्रोह हुँदै गयो । उनी सानो समूहको नेतामा खुम्चिँदै गए । उनको मृत्युपछि उनको समूह र मनमोहन नेतृत्वको पूर्वकोशी प्रान्तीय कमिटीले नेकपा माक्र्सवादी बनाए । पहिलो जनान्दोलन पछि यो पार्टी मालेमा विलय भयो र एमाले बन्यो । यसअघि नै पूर्वकोशी प्रान्तीय कमिटीबाट विद्रोह गर्दै झापा विद्रोह भयो । को–अर्डिनेसन केन्द्र बन्यो । झापा विद्रोहको जगमा पुष्पलाल समूहबाट फुटेका मुक्ति मोर्चासहित पूर्वको रातो झन्डा आदि समूह मिलेर ०३५ सालमा नेकपा (माले) को गठन भयो ।

यता मोहनविक्रम सिंह नेतृत्वको समूहले चौथो महाधिवेशन समूह बनाए । यो समूह पनि विभिन्न कालखण्डमा फुट्दै जुटदै रहे । फुटेकाहरू चौम, मोटो मशाल, पातलो मसालको नामले चिनिए । चौम र मालेले पञ्चायतको उपयोग भण्डाफोरको नाममा गरे । पहिलो जनआन्दोलनको सफलता पछि मोटो मशालले नेकपा एकता केन्द्र बनाउँदै नेकपा (माओवादी) पार्टी गठन गरेर ०५२ देखि १० वर्षे गृहयुद्ध सञ्चालन ग¥यो । जनयुद्धको जगमा १२ बुँदे सम्झौता हुँदै दोस्रो जनआन्दोलन पछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ तर कम्युनिस्ट आन्दोलनको भविष्य अब कस्तो हुन्छ ? यो प्रश्न फेरि पनि अनुत्तरित नै छ ।

माल्दाइको सम्झना 

नेपालका नेताहरूका नाममा प्रतिष्ठान, अस्पताल, राजमार्ग खोलिएका छन्/नामकरण गरिएका छन् । बिपीदेखि निधिसम्म मनमोहन, मदन भण्डारी, भरतमोहन असङ्ख्य नेताका नाममा सार्वजनिक सरोकारका क्षेत्र व्यापक सङ्ख्यामा नामोकृत भएका छन् । बिपी र मदन भण्डारीका नाममा नामकरण गरिएका असङ्ख्य छन् । सालिक, पार्क, उद्यान निर्माण भएका छन् । यसै क्रममा साम्यवादी आन्दोलनका धरोहर माल्दाइ भने तुलानात्मक रूपमा कञ्जुस्याइँमै परेका छन् । उनको नाममा राखिएको पूर्वपश्चिम मध्य पहाडी लोकमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । यहाँ 

‘पनि’ शब्द घुसाएर कालान्तरमा नाम मेटिँदै जाने सम्भावनाको खेती गरिएको छ । प्रचण्ड–बाबुराम सरकारको पालामा पहिलो पटक पुष्पलालको नाममा यो लोकमार्गको नामकरण भएको थियो । संयोगले वा प्रजातन्त्रवादीको उदारताले हो कांग्रेस नेतृत्वको सरकारले पुष्पलालसम्बद्ध प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउनेदेखि अन्य काम पुष्पलालको नाममा गरेको देखिन्छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कीर्तिपुरको चम्पादेवीमा १२५ रोपनी जग्गा पुष्पलाल प्रतिष्ठान (पुष्पलाल स्मृति पार्क) लाई दिइएको हो । यसै गरी पुष्पलाल अङ्कित हुलाक टिकट देउवाकै पालामा जारी भयो । पुष्पलालका नाममा कुनै अस्पताल भएको सुनिएको छैन । पुष्पलालको नाममा चावहिलमा एउटा निजी कलेज मात्र छ । त्यो पनि केवल व्यापार गर्ने उद्देश्यले खोलिएको । बरु स्व. गणेश पण्डितले नुवाकोटमा एउटा प्राथमिक स्कुल पुष्पलालको नाममा खोलेर सम्मान गरेका छन् तर एमालेको आधिकारिक ब्यानरमा सबैभन्दा अगाडि पुष्पलालको फोटो अङ्कित हुन्छ । एमालेले पुष्पलालको नाममा भोट विनिमय गर्दै आएको छ तर उसैले केही गरेको देखिन्न ।

धन्न पुष्पलालका नाममा व्यापारिक प्रतिष्ठानरूपी अस्पताल, स्कुल कलेज खुलेका छैनन् । यो कुरालाई चाहिँ गनिमत नै मान्नु पर्छ । मदन भण्डारीका नाममा जस्तो फाउन्डेसन खोलेर प्रतिगामी राजनीतिलाई मलजल गरे जस्तो माल्दाइको नाम दुरुपयोग अहिलेसम्म भएको छैन ।

जन्म र मृत्यु 

नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर, संयुक्त जनान्दोलनका परियोजनाकार, संस्थापक महासचिव हामीबिच नरहेको चार दशक बढी बितिसकेको छ । भीषण सङ्घर्ष जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहसहित अनेक विद्रोहमार्फत सङ्घीय, लोकतान्त्रिक, गणतन्त्र स्थापना पनि भएको छ तर त्यही संरचनालाई ध्वस्त पार्न कम्युनिस्ट पार्टी भित्रैबाट ओलीहरू जन्मिएका छन् । माल्दाइको संयुक्त जनान्दोलनको कार्यदिशाले स्थापित गरेको मूल्यलाई बचाउन सके मात्र माल्दाइलाई सम्झिनु अर्थपूर्ण हुने छ । माल्दाइलाई हार्दिक श्रद्धाञ्जली । विसं १९८१ अनुसार १५ गते रामेछापको भँगेरीमा जन्मिएका माल्दाइको निधन २०३५ साउन ७ गते भएको थियो ।

  

Author

भवानी बराल