• १२ मंसिर २०८१, बुधबार

दलितमाथिको विभेद कायमै

blog

अठारौँ शताब्दीका एक महान् दार्शनिक जिन ज्याक रुसोले भनेका छन् ‘मानिस स्वतन्त्र जन्मिन्छ तर साङ्लाले बाँधिन्छ ।’ हो, हाम्रो समाजमा पनि यस्ता कैयौँ सामाजिक साङ्ला छन्, जसले हामी सबैलाई कुनै न कुनै किसिमले बाँधेका छन् । जात, भात, छुवाछुत, तल्लो, माथिल्लो जात, पानी चल्ने नचल्ने, यस्ता कैयौँ साङ्ला छन्, जसबाट कम, बेसी हामी सबै बाँधिएका छौँ । फलस्वरूप, शताब्दीयौँदेखि क्षेत्रीको घरमा जन्मनासाथ त्यो बच्चा क्षेत्री हुने, ब्राह्मणको घरमा जन्मनेबित्तिकै त्यो बच्चा ब्राह्मण हुने, दलितको घरमा जन्मनासाथ त्यो बच्चा दलित बन्ने र त्यस अबोध बच्चालाई समेत माथिल्लो जातले छोइछिटो गर्नुपर्ने, हाम्रो देशमा कैयौँ यस्ता अनौठा संस्कार चल्दै आएका छन् । 

मोहन वैद्य ‘किरण’ (२०६७)का अनुसार मानिस मानिसबिच विभेदको रेखा कोर्ने जातको यो अवधारणा सर्वप्रथम हिमाली उपमहाद्वीपबाट विकसित भएको थियो । यो अवधारणा सामन्तवादी समाज र ब्राह्मण धर्मको उपज हो । यो धार्मिक विभेद र सामाजिक श्रम विभाजनसँग सम्बन्धित छ । यही प्रसङ्गमा जागरण मिडिया सेन्टरमा पिताम्बर शर्माले “हिन्दु वर्णव्यवस्थाले ठाडो सामाजिक विभेदको एउटा आतताई परिपाटी नै संस्थागत ग¥यो । यो वर्णव्यवस्थाले विभिन्न जातीय समूहलाई ठाडो श्रेणीमा वर्गीकृत मात्र गरेन, यसलाई समाजका खास वर्गको स्वार्थपूर्तिको बलियो माध्यम पनि बनायो” भन्नुभएको छ । हाम्रो देशको दलित वर्ग यही वर्ण विभाजनको चक्कीभित्र सयौँ वर्षबाट पिल्सिँदै आएको छ । 

दलित वर्ग भन्नाले के बुझिन्छ त ? नेपाली बृहत् शब्दकोश (२०७७) मा दलित वर्ग भन्नाले ‘समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले शोषिएको वा पछि परेको जनसमुदाय’ भनेर परिभाषित गरेको छ । सन् १८५४ को मुलुकी ऐनमार्फत जङ्गबहादुर राणाले नेपालमा जात–जात बिचको यो विभेदलाई कानुनी वैधता दिएर व्यवहारमा लागु गरेका थिए । यही कानुनी वैधताले नै मान्छे मान्छेबिच ‘चोखो’ र ‘बिटुलो’, ‘शुद्ध’ र ‘अशुद्ध’, ‘छुत’ र ‘अछुत’को कर्मकाण्डी आधारबमोजिम जात/जातिलाई विभेद गर्ने आधार बसाल्यो । 

शक्तिका आधारमा समाजले जातजाति कसैलाई तागाधारी (जनै लगाउने) र कसैलाई मतवाली (जनै नलगाउने) गरी दुई समूहमा विभक्त ग¥यो । फेरि मतवाली समूहभित्र पनि कोही पानी चल्ने र कमारा तुल्याउन नहुने तर कोही पानी नचल्ने र कमारा तुल्याउन हुने उपसमूहमा थप विभाजन ग¥यो । सम्भवतः यसकै आधारमा होला, हाम्रो गाउँघरमा केही वर्ष अघिसम्म हाम्रा आफ्नै खेत जोत्ने हली, कुटो कोदालो, हँसिया बनाउने, भुत्तेको औजारलाई धार लगाउने कामी, गरगहना बनाउने सुनार, लुगा सिलाउने दमाई, जुत्ता बनाउने सार्की हुन्थे । सबै कथित उपल्लो जातका परिवारका आआफ्नै यी जातिका मानिस हुने गर्थे । आवश्यकता अनुसार यिनीहरूले माथिल्ला जातलाई सेवा दिइराखेका हुन्थे । यसबापत यी परिवारले आफ्नो मालिकबाट खलोको रूपमा केही अन्नपात पाउँथे । 

सेवा पु¥याउनुपर्ने मालिक उदार भएको अवस्थामा उनीहरूको गुजाराका लागि भनेर अलि टाढाको एउटा सानो खेत वा बारीको टुक्रा कमाई गरिखानका लागि दिइन्थ्यो । यस्ता सेवाकर्मीका बस्ती माथिल्लो जातको बस्तीबाट नजिकै हुन्थे । 

एउटा राम्रो पक्ष के थियो भने त्यो बेलामा पनि दलितलाई उमेर अनुसारको साइनो (कसैलाई ठुलो बुबा, कसैलाई दाइ, काका, मामा, दिदी, फुपू, काकी, भाउजू आदि) लगाएर सम्मानपूर्वक बोलाउने गरिन्थ्यो । यो सम्मान उनीहरूलाई फुक्र्याउनका लागि थियो कि उनीहरूमा भएको सिपका कारणले थियो, त्यो अहिलेसम्म पनि भेउ पाउन सकिएको छैन । घर बनाउने, हलो जोत्ने, लुगा सिउने खेतीपातीको काम गर्नेलगायत सबै काम दलित समुदायबाट नै हुन्थ्यो । 

नेपालमा दलित समूहको कुल जनसङ्ख्या १५ देखि २० प्रतिशतसम्म रहेको मानिन्छ । राष्ट्रिय रूपमा गरिबीको तथ्याङ्क करिब २२ प्रतिशत रहेको अवस्थामा ४२ प्रतिशतभन्दा माथि दलितको जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्कले देखाउँछ (अन्तर्राष्ट्रिय दलित ऐक्यबद्धता समूह २०१८) । दलित समूहलाई अछुतका रूपमा व्यवहार गर्न कानुनले पूर्ण रूपले प्रतिबन्ध लगाउन थालेको वर्षांै भइसकेको भए पनि गहिरोसँग जरा गाडेर बसेको जातीय प्रथाका कारण दलित समुदाय अहिले पनि छुवाछुतको विभेदबाट उम्कन सकेको छैन । यस्तै नीतिका कारण माथिल्लो जातिको तुलनामा दलितसँग कृषि कर्मका लागि आफ्नै जग्गा पनि कम छ । शिक्षित व्यक्तिको दर पनि न्यून छ । यो विभेद अन्त्य गर्नसरकारी, गैरसरकारी तवरबाट विभिन्न प्रयास गरिएको भनिए पनि अध्ययनले यस समस्याको प्रभावकारी हल निस्केको पाइँदैन । 

हाम्रो देशको जनसङ्ख्याको ठुलो हिस्सा ओगट्ने दलितको अवस्थाको सुधारबिना समग्र देशको विकास असम्भव छ । नेपालको संविधान २०७२ ले पनि ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन’ भन्ने उल्लेख गरेको छ । दलित समुदायको समस्या समाधानका लागि थुप्रै कानुन बनेका छन् । यी कानुन जीवित छन् कि निर्जीव, सक्रिय छन् कि निष्क्रिय, व्यवहारको कसीमा हेर्दा छुट्याउनै कठिन छ । विद्यमान कानुनलाई व्यवहारमा खरो रूपमा उतार्न नसकेकैले जुम्लाको तातोपानी ४, गिडीखोला गाउँमा हालसालै मुकुन्द नेपाली नाम गरेका एक जना दलित युवाले गैरदलित थरकी युवतीसँग पे्रम विवाह गरेकै कारण केटी पक्षबाट उनको घर जलाइनु, रुकुम पश्चिममा केही वर्षअगाडि मात्र नवराज विकलगायत उनका साथी छ जना युवाको निर्ममतापूर्वक हत्या हुनु, दलित भएकै कारण कति जनाले काठमाडौँमै समेत डेरा नपाउनु, यसका ज्वलन्त उदाहरण हुन् । 

हो, पारिवारिक समस्या र सामाजिक समस्या कथित उपल्लो जातमा मात्र होइन दलितमा पनि छ । मेरो गाउँमा दलितसँग विवाह गरेर गएकी एक जना क्षेत्री महिलालाई बुहारी भनेर दलित परिवारले स्विकारेका छैनन् । यिनी माथिल्लो जात कि हुन् त्यसैले हामीले हाम्रो जातको बुहारीले गर्ने व्यवहार गरायौँ भने हामीलाई पाप लाग्छ भन्ने मानसिकताले उनीहरूलाई पिरोलिरहेको छ । मानिस मानिसबिचमा जातीयताको पर्खाल ठड्याएर विभेदको शृङ्खला निर्माण गर्नु अमानवीय एवं अवैज्ञानिक कार्य भन्ने प्रमाणित भइसकेको छ । यही प्रसङ्गमा महान् दार्शनिक अरस्तुले भनेका छन्, “समय नै यस्तो अस्त्र हो, जसले हरेक थोकलाई टुक्रा टुक्रा पारिदिन्छ । समयकै कारणमा वस्तुको उदय हुन्छ अनि समयकै अन्तरालमा त्यसको विलय पनि हुन्छ ।” उपल्लो जातको मानिस बिरामी परेर रगत चाहिएमा यो कुन जातको रगत हो भनेर सोधिँदैन । 

हिंसा एउटा सामाजिक समस्या हो । यसलाई कुनै कोणबाट पनि बढ्न दिनु हुँदैन । जिम्मेवार निकायबाट समस्याको सही पहिचान नै त्यसको समाधानको पहिलो र अत्यावश्यक पूर्वसर्त हो । दलितमाथि हिंसा किन भइरहेको छ भन्ने चुरो कुरोलाई समयमै ठम्याएर नीतिगत र व्यावहारिक रूपमा समाधान नै गरिएन भने दीर्घकालीन रूपमा हिंसाविहीन समाजको परिकल्पनासमेत गर्न सकिँदैन । कुनै पनि समुदायमा परिरहेको समस्या त्यो समुदायको एक्लो पहलले मात्र समाधान हुँदैन । त्यसका लागि समाजका अरू तप्का र राज्यका सबै निकायको पनि सक्रिय भूमिका जरुरत पर्छ । 

हाम्रा देशका दलितका विरुद्धमा हाल घटिरहेका घटना नियाल्दा समाधानका सम्पूर्ण उपाय तत्काल अवलम्बन गरिनु पर्छ । मानिस मानिसबिचको विभेद निर्मूल गर्ने अभियानमा गाउँगाउँसम्ममा सामाजिक चेतनाको विकास, आयआर्जनमा अवसरको खोजी र नियम कानुनको प्रभावकारी कार्यान्वयन मात्र आजको आवश्यकता हो । अन्यथा, आजको युगमा समेत जातीय अहङ्कारबाट उन्मत्त एउटा जातिले अर्काे जातिलाई क्रुर व्यवहार मात्रै होइन हत्यासम्म गर्ने, दुःखजेलो गरेर जम्मा गरेको गाँस र ओत लाग्नेसम्मको बाससमेत जलाइदिने आपराधिक प्रवृत्तिले निरन्तरता पाइरहने छ । फलस्वरूप, एउटै देशका एकथरीलाई यो देश स्वर्ग र अर्कोथरीलाई नर्क भइरहने छ । यही प्रसङ्गमा हिन्दी भाषाका एक जना कविले भनेका छन् “छल करोगे तो छल मिलेगा,.आज नही तो कल मिलेगा, अगर जियोगे जिंदगी सच्चाई से तो सूकून हर पल मिलेगा” ।

लेखक समानताका विषयमा कलम चलाउनुहुन्छ ।   

Author

डा. राधिका बुढथापा