• १५ मंसिर २०८१, शनिबार

पुष्पलाल नेपालको राष्ट्रिय विभूति हुनुहुन्छ : महासचिव पोखरेल

blog

पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलसहितका नेताहरु ।

गोरखापत्र अनलाइन

रामेछाप, साउन ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकासका लागि उहाँको जन्मथलो भँगेरीको विकासमा दलगत स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ । 

पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो भँगेरीमा एमाले रामेछापको समन्वयमा केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

 ‘रामेछाप जिल्लाको भंँरी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो हो । उहाँ जन्मिएको माटोमा आएर आज उहाँको सम्मानमा कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको छ’ महासचिव पोखरेलले भन्नुभयो,  ‘रामेछाप तीनलाल अर्थात पुष्पलाल, गङ्गालाल र सुब्बा कृष्णलालको जन्मथलो पनि हो । उहाँहरु तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ ।’ 

राजनीतिको माध्यमबाट पुष्पलाल र गङ्गालाल अनि साहित्यको माध्यमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको उहाँले बताउनुभयो । ‘कृष्णलालले मकैको खेती लेखेवापत जेल जानुपरेको थियो, उहाँको जेलमै मृत्यु भयो,’ उहाँले भन्नुभयो,  ‘परिवर्तनको आन्दोलन टङ्कप्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद् गठन हुँदा त्यतिबेला नै लोकतान्त्रिक आन्दोलनमा लाग्नुभएका गङ्गालालले पहिलो पटक सबैभन्दा ठूलो सभा गरेर तत्कालीन शासकको विरुद्धमा बुलन्द आवाज उठाउँदा उहाँलाई १९९७ सालमा मृत्युुदण्ड दिइयो ।’

पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेलले राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय कांग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण गर्नुभयो । ‘प्रजातान्त्रिक राष्ट्रिय कांग्रेसका माध्यमबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने निष्कर्षसहित विश्व कम्युनिस्टको घोषणापत्र नेपालीमा रुपान्तरण गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो’ पोखरेलले भन्नुभयो,  ‘उहाँले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिलेको नेकपा (एमाले) हो ।’ 

पुष्पलालको भग्नावशेष जन्मघरको माटोमाथि उभिएर पोखरेलले पुष्पलालको जन्मथलोमा तीनलालको सालिक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । ‘पुष्पलालको ऐतिहासिक विरासत धानेको पार्टी एमाले हो भन्ने कुरा यहाँसम्म आएर गरेको कार्यक्रमले पनि देखाउँछ’ उहाँले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकारका पालामा बनेका तीन लालका सालिक अहिलेसम्म यहाँ ल्याएर स्थापना गर्न सकिएको छैन । अहिले सङ्घ र प्रदेश सरकारको नेतृत्व कम्युनिस्टले गरेको छ । तर एमालेले अघि बढाएको गुरुयोजनाको बजेट त्यही सरकारले काट्ने काम गरेको छ । यो बेठीक हो ।’ 

विभूति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र यो ठाउँलाई राजनीतिक पर्यटनको विकास गर्न पनि सबै राजनीतिक दलको सहयोग आवश्यक हुने बताउनुभयो ।  ‘रामेछाप नगरपालिका अहिले कांग्रेसले जितेको छ । मैले मेयर लवश्री न्यौपानेसँग आजै भेट गरेर यहाँको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरेको छु,’ पोखरेलले भन्नुभयो, ‘उहाँले पनि सकारात्मक रुपमा लिनुभएको छ । समग्र नगर र जिल्लाको विकासका लागि पनि तीन लालको सम्मान हुनुपर्छ । यतिबेला दुईखाले आर्थिक सङ्कटबाट मुलुक अघि बढिरहेको उहाँले बताउनुभयो । मुलुकबाट नीतिगत विचलनको अन्त्य गर्न र  वैदेशिक हस्तक्षेप रोक्न बलियो राष्ट्रिय शक्ति चाहिने उहाँले चर्चा गर्नुभयो ।  त्यसका लागि एमालेको झण्डामुनि गोलबद्ध हुन उहाँले आग्रह गर्नुभयो ।  

साउन ६ गते बीपी स्मृति दिवस र ७ गते पुष्पलाल स्मृति दिवस भएको भन्दै दुबै नेताको आ–आफ्ना विशेषता रहेको उहाँले चर्चा गर्नुभयो । ‘बीपीले पञ्चायतविरुद्ध एक्ला–एक्लै लड्ने भन्नुभयो । तर पुष्पलालले संयुक्त जनान्दोलनको नीति लिनुभयो । त्यो नीति उहाँको जीवनकालमा त पूरा भएन । तर पुष्पलालको सपना मदन भण्डारीले पूरा गर्नुभयो । पुष्पलालको नीतिअनुसार नै नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई जनआन्दोलनको सर्वोच्च कमाण्डर बनाएर लड्दा २०४६ सालको जनआन्दोन सफल भयो ।’ 

नेपालको कम्युनिस्ट आन्दोनको विचारधारा सङ्गठन, सिद्धान्त र सङ्घर्ष भएको भन्दै अहिले अवसरवाद मौलाएका बेला बैचारिक धारबाट अराजकताको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । समाजमा फैलिएको अराजकताको अन्त्यका लागि बलियो शक्ति निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो ।  ‘राणा, पञ्चायत र निरङ्कुश राजतन्त्र अन्त्य भयो । अब राजनीतिसँगै सामाजिक परिवर्तन आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘दलहरु कहिल्यै पुराना हुँदैनन् । हामी परिवर्तनशील छौँ। एमालेको ६ वटा नेतृत्व परिवर्तन भयो । एमालेले ६ वटा नेतृत्व परिवर्तन गर्दा कांग्रेसका ४ वटा नेतृत्व फेरिए । तर माओवादीको अहिलेसम्म नेतृत्व फेरिएको छैन ।’

कार्यक्रममा जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पुष्पलालको सम्मानमा यहाँको विकास र समृद्धि आवश्यक भएको भन्दै यहाँको विकासमा दलगत चश्माबाट हेर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रमा बागमती प्रदेशका इञ्चार्ज गुरु बराल, सम्पर्क समन्वय इन्चार्ज लालबाबु पण्डित, स्थायी कमिटी सदस्यहरु कर्णबहादुर थापा, पोलिटब्युराे सदस्य कमल चौलागाई, सुजिता शाक्य, शान्ता चौधरी, लीला भण्डारी, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, भक्तपुर इञ्चार्ज कैलाश ढुङ्गेल, सिन्धुली इञ्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, बामगमती प्रदेश अध्यक्ष केशव पाण्डे, सम्पर्क समन्वय अध्यक्ष श्याम बस्नेत, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु, सांसदहरुलगायतको उपस्थिति थियो ।