• २० असोज २०८१, आइतबार

दलित र मुस्लिम छात्रालाई साइकल वितरण

blog

जयकृष्ण यादव 

इनरुवा, साउन ७ गते । पठनपाठनमा सहजताका लागि जिल्लाको सदरमुकाम र इनरुवा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ । माध्यमिक परीक्षा एसईई उत्तीर्ण गरेका ५४ दलित र मुस्लिम समुदाय छात्राहरूलाई आइतबार साइकल हस्तान्तरण गरिएको नगरप्रमुख केदार भणडरीले जानकारी दिनुभयो ।

कक्षा दशपछि आर्थिक अभाव र विद्यालयसम्म पुग्ने साइकलकै कमी ११ र १२ नपढ्ने गरेको गुनासोलाई सम्बोधन गर्न दुई वर्षदेखि एसईई उत्तीर्ण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै वितरण गरिएको हो । नगरक्षेत्रका सात सामुदायिक माध्यमिक विद्यालयका ५४ छात्रालाई ११ र १२ कक्षामा अध्ययन गर्न सहजताका लागि निःशुल्क साइकल वितरण गरेको उपप्रमुख विनीताकुमारी मेहताले जानकारी दिनुभयो । 

छात्राहरूलाई प्रोत्साहन रुवरुप साइकल वितरण गरिएको उपप्रमुख मेहताले जानकारी दिनुभयो । घरदेखि विद्यालय टाढा हुँदा आउजाउमा समस्या भएपछि नगरपालिकाले मुस्लिम र दलितछात्राहरूको सुविधालाई विचार गर्दै साइकल वितरण गर्दा आफूहरुलाई राहत मिलेको सरस्वती मावि बबियाकी मुस्कान शर्मा खत्वेले बताउनुभयो । छात्राहरूलाई विद्यालयमा टिकाइराख्न आफूहरूले छात्राहरूलाई साइकल बाँडेको शिक्षा शाखाका प्रमुख डिल्लीराज निरौलाले बताउनुभयो । छात्राहरूलाई विद्यालयको पहुँच बढाउन पालिकाले चालु आर्थिक वर्षमा समेत साइकल किन्न बजेट विनियोजन गरेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

“घर टाढा भएकाले विद्यालय बीचमै छाड्ने समस्या अब समाधान हुन्छ”, प्रमुख भण्डारीले भन्नुभयो । कक्षा ११ देखि १२ सम्म पढ्न जाने छात्राहरूले साइकल पाएपछि निकै खुसी भएका छन् । शिक्षा शाखा प्रमुख निरौलाले छात्राहरूको सहजता र विद्यालयमा पहुँच बढाउन यो कार्यक्रम गरिएको बताउनुभयो । शिक्षामा पछि परेको नगरका मुस्लिम र दलित समुदायका छात्रालाई साइकल वितरण भएपछि छात्राहरू नियमित विद्यालय जाने अपेक्षा लिइएको निरौलाले बताउनुभयो ।