• ९ मंसिर २०८१, आइतबार

कवितामै सहज र सन्तोष

blog

स्वदेश फर्कदा होस् वा स्वदेशबाट विदेश प्रस्थान गर्दा उहाँको मन चसक्क हुने गर्छ । हवाईजहाजको बाक्लो सिसाबाट देखिने मातृभूमिको रमणीय दृश्यले उहाँको भावुक मनले यही प्रश्न बारम्बार सोधिरहन्छ– यति विशाल स्थानमा पनि मैले सानो जमिन पनि पाउन किन सकिनँ ? 

२६ वर्षको उमेरमा भारतीय नागरिकसँग बिहे गरिसकेपछि पनि उहाँको उही दुखेसो छ– मान्छेहरूको यो विधि भीडमा मलाई माया गर्ने र बिहेको प्रस्ताव राख्ने पनि कोही किन फेला पार्न सकिनँ यो भूमिमा ?

१८ वर्षको उमेरदेखि लेख्न थालेर ८१ वर्षको उमेरसम्म निरन्तर लेखिरहँदा पनि कवयत्री कुन्दन शर्माका साहित्यका सन्दर्भमा पनि सन्तुष्टि छैन । निरन्तर ६४ वर्षदेखि लेख्दै आए पनि सम्मान, पुरस्कार, समालोचनाको त कुरै छाडौँ पढ्ने पाठक पनि छन् जस्तो लाग्दैन, नेपाली साहित्यले मप्रति पूर्वाग्रह राखेको हो कि वा मेरा कविता पढ्नेहरू नै नभएकाले हो ? 

आठ दशकको उमेर टेकिसक्दा पनि कुन्दन शर्माका मनमा यस्तै प्रश्न बारम्बार उब्जिरहन्छ र बिहे गर्नु र देश छाड्नको कारण पनि खुलस्त पार्नुहुन्छ । बर्सेनि जस्तो नेपाल आइरहने उहाँ भेटिनुहुन्छ मधुपर्कको कार्यालयमा । आफ्ना सिर्जना र विगतका कुरा गरेर एक किसिमले सन्तोषको सास फेर्ने उहाँले सँगालेका चित्त दुखाइ र वेदनाका कुरा गरिसाध्य छैनन् । एक बसाइमा नटुङ्गिएका उहाँका कुरा सुन्न र विगत जान्न उही साँझ भेटछु उहाँलाई  फेरि याक एन्ड यतिको लबीमा २०८० सालको असार १२ गतेका दिन । 

आख्यान क्षेत्रका चर्चित हस्ताक्षर केशवराज पिँडालीकी सुपुत्री कुन्दन शर्माले साठी वर्षदेखि निरन्तर कलम चलाएर कवितामा केन्द्रित रहनुभयो । बाबुको बिँडो थाम्न आख्यान छाडेर कवितामा मात्र किन केन्द्रित भएको होला– मेरो जिज्ञासा । 

लेखेँ नि कथा, उपन्यास तर आफैँलाई चित्त बुझेन । लेखेर पनि च्यतिदिएँ, आफैँलाई चित्त नबुझ्ने लेखाइले पाठकलाई कसरी चित्त बुझाउन सकुँला जस्तो लागेर च्यातिदिएँ । मेरा लागि अभिव्यक्तिको सहज माध्यम र सन्तोष लिने माध्यम कवितालाई नै ठानेँ–उहाँको स्पष्टोक्ति । कविता शब्दको जादुगरी प्रकाशन हो, जहाँ विद्रोह र पीडा पनि सुन्दर लाग्छ । कविताका बारेमा उहाँको यही धारणाले नै प्रष्ट पार्छ उहाँको कविताप्रतिको धारणा । 

१८ वर्षको उमेरमा कलेज पढ्दा पद्मकन्या कलेजबाट प्रकाशित पत्रिकामा कविता छापिएपछि त्यतिबेला गुरु तथा साहित्यकार अम्बिकाप्रसाद अधिकारीले प्रोत्साहन दिएकाले  साहित्यमा अघि बढ्न हौसिनु भएको हो उहाँ । त्यसो त शान्तिनिकुञ्जमा पढ्दा नै गुरु तथा साहित्यकार कृष्णचन्दसिंह प्रधानले साहित्यमा लाग्न धाप नमारेको कहाँ हो र ? कवि कृष्णभक्तको साथ लागेर मनपर्ने साहित्यकार पारिजातलाई भेटेर उहाँले कृति निकाल्न जोड गरेपछि पहिलो कृति निकालेको पनि त हो– मेरा कविताहरू (२०४५) मा ।  यसपछि छ वर्षको अन्तरालमा  यो मन (२०५१), छोरीको कथा (२०६०) प्रकाशित भए  । चौथो कविता कृति आफ्ना कुरा आफैँसित तयार गरेर पनि छपाउने जाँगर पटक्कै भएन उहाँमा । 

गोरो अनुहार, सेतै फुलेका कपाल, आठ दशकको उमेर काटेको भन्दा पनि पत्याउन हम्मे पर्ने व्यक्तित्व, सरल रूपमा प्रस्तुत हुने उहाँ लेखेर बिताएका छ दशकप्रति फर्केर समीक्षा गर्न विवश जस्तै बन्नु भएको छ । लेखेर आफैँलाई सन्तुष्टि मिल्दैन भने किन र कसका लागि लेख्ने ? छपाउने ? पढ्ने कसले ? पढेर मूल्याङ्कन गर्ने को छ ? अब त कृति छपाउने रहर पनि छैन, बरु केही सीमित पत्रिकालाई दिन्छु । लेख्न त छाड्दिनँ । 

किन ? 

आफ्ना असन्तुष्टि, भोगाइ, अनुभव अभिव्यक्त गर्न म लेख्छु । आफ्ना कुरा अरूलाई सेयर गर्न पाउँदा मन हलुङ्गो हुँदो रहेछ, एक किसिमको सन्तुष्टि पनि  । मैले धेरै इस्युमा लेखेको छु । मेरा कविताहरू चिन्तनमा आधारित हुन्छन् । 

नेपाली साहित्य र पत्रकारिता क्षेत्रका चर्चित व्यक्तित्व केशवराज पिँडाली (लामिछाने) कि एक मात्र सुपुत्रीका रूपमा विसं १९९९ को कात्तिक महिनामा वीरगञ्जमा जन्मिनुभएकी कुन्दन शर्मा बुवाको जागिरको व्रmममा सानै उमेरमा काठमाडौँ आउनुभयो र शान्ति निकुञ्जमा प्रारम्भिक शिक्षा लिएर बनारसबाट एसएलसी दिनुभयो । त्यसपछि पद्मकन्या, त्रिवि केन्द्रीय विभाग हुँदै एमए गर्नुभयो । भूमि सुधारमा छ महिना र सहकारीमा अनुसन्धान अधिकृत भएर एक वर्ष जागिर खाएको अनुभव पनि सँगाल्नु भयो । यसै मेसोमा उहाँको जीवनले अर्कै मोड लिन पुग्छ । राजनीतिका कारण बुवा आमा देशबाहिर रहनुपरेको, मामाघरमा बसेर जीवन अघि बढाउनुपरेको र त्यतिबेला कसैले पनि आफूलाई पे्रमपूर्वक बिहेको प्रस्ताव नगरेको एकमुष्ठ अप्ठेरोमा हुनुहुन्थ्यो उहाँ । त्यसै बखत भारत भ्रमणमा जाँदा भेट भएर चिनाजानी भएका बृजराज सिंह र उहाँका परिवारले बिहेको प्रस्ताव राखेपछि कुन्दन शर्माले जन्मभूमि छाडेर भारतीय भूमि रोज्न पुग्नुभयो । जीवनमा एक्लो जस्तो अनुभव गरेर बस्दा जीवनसाथी रोजेको केही महिनामै बुवाआमा आममाफी पाए नेपाल फर्केपछि उहाँको मनले श्रीमान् रोज्ने कि नेपाल छोड्ने दोमन पनि भयो, नजानिदो प्रेम अनि बिहेको प्रस्ताव अघि सार्ने जीवनसाथी नै उहाँको रोजाइमा प¥यो । सायद त्यतिखेरै लेखिएको हुनुपर्छ– 

पुरुष तीन रूप मेरो दृष्टि

माया लाग्दालाग्दै पनि 

कहिले काहीँ मन नपरेको 

कति झर्को लागेको 

 कति रिस उठेको

छाडेर पनि त्यसै जान नसक्ने...

तिमी मेरो यथार्थ, भागेर जाऊँ कहाँ ? 

तिमी मेरो जीवन भइसक्यौ । 

 कुनै बखत कुन्दन शर्माको जीवन राजनीतिमै बित्यो, त्यही राजनीतिले तीन तीन पटक जेल जीवन पनि भोग्नु भयो । यतिखेर कुन्दन शर्माका लागि राजनीति सम्झन र उल्लेख गर्नलायक विषय जस्तो पनि लाग्दैन रे । सम्मान गरौँ भन्ने खालका नेतासमेत जीवनमा देख्नुभएन । त्यसो त त्यति नै खेर विद्यार्थी अवस्थामा राजनीतिमा लागेर आफ्नो सुनौलो भविष्य बिगार्न नहुने रहेछ भन्ने चेत उहाँमा आएकै हो । याक एन्ड यतिको लबीमा बसेर कुरा थाल्दा पनि उहाँ उही कुरा दोहो¥याउनुहुन्छ– विद्यार्थी अवस्थामा राजनीतिमा लाग्नेहरू एकोहोरो हुँदा रहेछन्, अर्काको पछि लागेर उनीहरूकै आदेश मान्ने र अन्धसमर्थक । 

तरुण दलको एउटा टोली भारत भ्रमणमा जाने व्रmममा उहाँकी प्रिय साथी शैलजा आचार्यले उहाँलाई पनि सँगै जान प्रस्ताव गरेपछि भारत पुग्दा चिनाजानी भएको थियो बृजराज सिंहसित उहाँको, त्यही भेटबाटै निकट हुनुभएका  उहाँहरू आपसी कुराकानी र परिवारको आग्रहमा वैवाहिक जीवनमा बाँधिनु भएको हो ।

पाइला भारतीय भूमिमा टेके पनि सपना, तर्कना, माया मोह नेपालकै बढी छ उहाँमा । यही मायाले तान्छ र त बर्सेनि जसो नेपाल आउनुहुन्छ, साहित्यले त्यति वास्ता नगरे पनि साहित्यलाई माया गर्न पनि लेखेका कविता छपाउन पनि अघि सर्नु हुन्छ । उहाँले चिनेजानेका धेरैजसो अस्वस्थ जीवन बिताएर बसेका छन्, भेट्नुपर्ने साहित्यकार खासै छैनन् । माइतीघर, त्यसमा पनि भाइ अनुपराज शर्मालाई भेट्न नेपाल आइरहनुहुन्छ उहाँ ।

तीन छोरीसँग भारतको नयाँ दिल्लीमा बसिरहनु भएकी उहाँसँग कसैले तपाईंको कविता चाहियो भनेर नमागे पनि आफूले लेखेका कविता आफैँ लिएर छपाउँदै आउनुभएको छ । खै कतिले पढ्छन् ? कतिले चिन्छन् ? त्यो त मलाई थाहा छैन तर लेख्नु, लेखेको कुरा छाप्नुमा आनन्दित हुन्छु र त निरन्तर लेख्दै आइरहेको छु । 

झन्डै सात दशकअघिको समय स्मरण गर्ने हो भने नेपाली काँग्रेससँग निकट रहेर २०१७ सालमा तत्कालीन राजा महेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा पहिलो पटक जेल जीवन भोग्ने उहाँले पछिल्लो दुई पटकसमेत तीन पटक जेल जीवन भोग्नु प¥यो । 

इतिहासको कुनै समय राजनीतिमा बितेका जीवन इतिहासमा मात्र लिपिबद्ध भए उहाँका लागि वर्तमान राजनीतिमुक्त छ । तर सँगै सुरु गरेको सहयात्री साहित्यले भने छाडेको छैन, राजनीतिबाट जस्तै साहित्यबाट सहजै कहाँ टाढिन सकिन्छ र ? बरु त्यसैको मायाले डो¥याइरहन्छ, यसैमा रम्नुहुन्छ, आफ्ना कुरा, अर्काले भन्न नसकेका खासगरी यथार्थ, विद्रोह, व्यङ्ग्य, निस्सारताका कुरा कवितामा अभिव्यक्त गर्ने उहाँ मूलतः नारी संवेदनाका कुरालाई  अभिव्यक्त गर्न सिपालु स्रष्टाका रूपमा सुपरिचित हुनुहुन्छ ।