• १२ मंसिर २०८१, बुधबार

कांग्रेस रूपान्तरणमा चासो

blog

हिजो साउन ६ गते नेपाली कांग्रेसका संस्थापक महामानव बिपी कोइरालाको स्मृति दिवस मनाइयो। आज नेपाल कम्युनिस्ट पार्टीका समादरणीय नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस हो। आजका मितिसम्म कांग्रेस पार्टी र कम्युनिस्ट पार्टी सबैले आआफ्ना नेताले निर्धारण गरेको मार्गमा हिँडिरहेको दाबा गर्दै आएका छन्। यिनै नेताहरूका नाममा राजनीति गरेर कहिले सत्तारोहण गर्न सफल भएका छन् त कहिले प्रतिपक्षमा बसेर सत्ताको विरोध गर्दै आएका छन्। बाटो के समातेका छन्, सबैलाई थाहा छ तर भाषणमै मात्र भए पनि यी दुई नेतालाई चिरजीवी भने बनाएका छन्।

समन्वयवादी राजनीतिज्ञ बिपी र नेपालमा साम्यवादी विचारका प्रवर्तक यी दुई नेताले प्रवाह गरेका विचारमा मतभेद र बहस हुन सक्ला तर एक नेताले नेपालमा प्रजातन्त्र र स्वतन्त्रताको बिउ रोप्ने काम गरे भने अर्का नेताले साम्यवादको। कुन विचार फलदायी हुन सक्छ र कुनले त्यति राम्रो प्रतिफल दिन सक्दैन भन्नेमा विवाद गर्न सकिएला तर विचार र सिद्धान्तका बारेमा गरिने जुनसुकै बहसले दिने परिणाम सुखद नै हुन्छ। बिपीले भन्नुभएकै थियो – विरोध कटुताहीन र सैद्धान्तिक हुनु पर्छ। विचारको सङ्घर्षबाट मुलुक र जनताको समृद्धि देख्ने यी दुई नेतामा हार्दिक श्रद्धासुमन।

यिनै नेताहरूले स्थापना गरेका मुलुकका पुराना एवं ठुला दलमा रूपान्तरणको सन्दर्भ अहिले व्यापक रूपमा चलेको छ। रूपान्तरण सोच र विचारमा होइन कि व्यक्तिमा मात्रै खोज्न थालिए झैँ देखिँदै छ। रूपान्तरणको सार के हो भन्ने खोज गरिएको छ कि छैन, थाहा छैन तर भाषणमा भने सर्वत्र सुनिन्छ। बिपीको पार्टी नेपाली कांग्रेसमा स्वतन्त्रता अलि बढी भएका कारण रूपान्तरण भन्ने शब्दले मज्जैले ठाउँ पाएको छ। पुष्पलाललाई मान्ने पार्टीहरूमध्येको सबैभन्दा ठुलो नेकपा (एमाले)मा भने अध्यक्षको बढी हालीमुहाली हुँदा रूपान्तरणको आवश्यकता महसुस गरिएको भए पनि यो पक्षधरहरूको स्वर मधुरो छ। 

कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि अहिले चलिरहेको छ। कांग्रेसमा विभिन्न बुझाइ भएका सदस्य छन्। व्यक्ति परिवर्तनलाई नै रूपान्तरण ठान्नेहरूको सङ्ख्या पनि कम छैन। अमुक नेताको ठाउँमा अमुक नेतालाई स्थापित गरिनु नै रूपान्तरण हो भन्ने ठान्नेहरूको बाहुल्य हुँदा रूपान्तरणको बहसले सार्थकता पाउन सकेको छैन। रूपान्तरण भनेको त सारमा, रूपमा, नेताहरूको आचरणमा, व्यवहारमा, पार्टीको कार्यशैलीमा परिवर्तन आउनु पर्छ। यस्तो मान्यता राख्नेहरूको स्वरले कांग्रेसमा ठाउँ पाउन सकेको देखिँदैन। सरकारमा रहेकाहरूले सुशासनमा जोड दिँदै भ्रष्टाचारका विरुद्धमा कम्मर कसेर लाग्नु रूपान्तरण हो तर कांग्रेसको बहस त्यतातिर केन्द्रित हुन सकेको देखिँदैन। यो बैठकबाट आरम्भ गरिएको प्रत्यक्ष प्रसारणलाई नै रूपान्तरण भनिएको हो भनेर व्याख्या गर्न लागेको 

पनि देखिन्छ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रयासमा अहिले जारी बैठकलाई कांग्रेसकै फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको छ। पारदर्शिताको सन्दर्भमा यो एउटा नयाँ फड्को नै हो। भित्र एउटा छलफल गर्ने र बाहिर जनमानस र सञ्चार माध्यममा अर्कै कुरा बताउने दलहरूलाई यो एउटा चुनौती पनि हो। कांग्रेसका केन्द्रीय पदाधिकारी र सदस्यलाई जिम्मेवार र जवाफदेही बनाउन यो एउटा सार्थक प्रयास पनि हो। यति हुँदाहुँदै पनि बैठकमा सदस्यले राखेका विचारले भने कुनै उत्साह जगाउने काम गर्न नसकेकोतर्फ कांग्रेसले ध्यान दिन जरुरी छ।

पार्टी र पार्टीका सदस्यले रूपान्तरणका सन्दर्भमा बहस गरेको सुनिनुपर्नेमा केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई लगाइएको मुद्दाका पक्ष र विपक्षमा धारणा राखेको मात्र सुनिनुले बैठकले उत्साह पैदा गर्न सक्ला जस्तो देखिँदैन। खाँण निर्दोष हुँदाहुँदै मुद्दा लागेको भए उहाँलाई जोगाउन पार्टी लाग्नै पर्छ अन्यथा कार्यकर्ताले पार्टीको भर गर्न सक्दैनन्। उहाँ दोषी हुनुहुन्छ भने पार्टीले नै उहाँलाई कठघरामा उभ्याउन सक्नु पर्छ। पार्टीको पूरै बैठक नै यसैमा मात्र केन्द्रित गरियो भने देश र जनताका मुद्दा ओझेलमा पर्दछन् र यसले सकारात्मक परिणाम दिन सक्दैन।

देश दुःखेका बेला लगाउने मलम के हो, त्यसबारे कांग्रेस बैठकमा छलफल हुनुपर्ने हो। रोग, भोक, अशिक्षा, गरिबी, भ्रष्टाचार र कुशासनले ढाड भाँचिएका जनताका हड्डीमा कुन खाले प्लास्टर गर्नुपर्ने भन्नेबारेमा छलफल हुनुपर्नेमा सभापति पक्षधरले महामन्त्रीलाई र महामन्त्री पक्षधरले सभापतिलाई खुइल्याउने प्रयास मात्रै गरे भने कांग्रेसको बैठक बैठकमा मात्र सीमित हुने छ। जनताले आशा गरेर भविष्यमा भरपर्दो पार्टीका रूपमा रोज्ने ठाउँ रहँदैन। रूपान्तरणका सन्दर्भमा जसरी केन्द्रीय सदस्य मधु आचार्यले राखेका विचार ग्रहणीय देखिन्छन्, त्यस्तै विषयमाथि छलफल चलाइएमा पार्टीले अग्रगति लिने सम्भावना रहन्छ। एजेन्डासहितको कांग्रेस, जगमा रहेका इमानदारको कांग्रेस, सुशासनयुक्त र भ्रष्टाचारमुक्त कांग्रेस, डिजिटल कांग्रेस आदिका बारेमा व्याख्यासहित उहाँले राखेका प्रस्तावले पार्टीलाई केही गति प्रदान गर्न सक्छ।

सांसद सङ्ख्याका बारेमा जनताले प्रश्न उठाइरहेका छन्। सरकारका डेलिभरीका बारेमा जनतामा असन्तोष छ। धर्मनिरपेक्षता र धर्म परिवर्तनका लागि सक्रिय संस्थाका गतिविधिमा आमनागरिकले चिन्ता प्रकट गरिरहेका छन्। सङ्घीयताका बारेमा पनि प्रश्न उठाउनेहरू अत्यधिक भइसकेका छन्। यस्ता सन्दर्भ कांग्रेस बैठकका एजेन्डा बनेर कांग्रेसको ठोस निर्णय बाहिर आउन सक्नुपर्ने हो तर आजसम्म व्यक्त गरिएका विचारले त्यस्तो निर्णय आउला भन्ने सङ्केत दिएको छैन। यी सम्बन्धमा नेता शङ्कर भण्डारीले कार्यकर्ताका अभिलेख, संविधान संशोधनलगायतका बारेमा राखेका विचार पनि सान्दर्भिक देखिन्छन्। अब बाँकी रहेका वरिष्ठ भनिएका नेताले बैठकलाई देश र जनताका समस्यातर्फ मोड्न सफल हुन्छन् कि हुँदैनन्, हेर्न बाँकी नै छ। 

जनतामा उत्साह भर्न अब बाँकी सदस्यले बोल्दा ध्यान दिन आवश्यक छ। नेपालको सीमा ठाउँठाउँमा मिचिएका छन्, भारतले सीमामा निर्माण गरेका पूर्वाधारले डुबानमा परेका जनता र मुलुकको पीडा असह्य छ। गत वर्ष रोजगारीका लागि खाडीतिर गएका साढे सात लाख र अध्ययनका लागि अन्यत्र गएका डेढ लाख युवाका पीडा आफ्नै छ। यस्ता विषयले कांग्रेसको बैठकमा प्रवेश पाएको देखिएन भने पुरानो साख फर्काउन गाह्रो हुन्छ। संविधानमा हुन पुगेका केही महत्वपूर्ण त्रुटिका बारेमा पनि गहन छलफल गरी संविधान संशोधनका एजेन्डा तय गर्न कांग्रेस बैठक सफल हुनै पर्छ।

कांग्रेसलाई सिङ्गो नेपाली कांग्रेसका रूपमा आमनागरिकले देख्न नपाएको केही दशक बितेको छ। पहिले पहिले गिरिजा कांग्रेस, शेरबहादुर कांग्रेसमा विभक्त कांग्रेस आजभोलि देउवा कांग्रेस, शेखर कांग्रेस, गगन कांग्रेस आदिका रूपमा विकसित भएको छ। कांग्रेसका सदस्यलाई कसैले सोध्यो भने म देउवाको, म गगनको, म शेखरको जस्ता जवाफ पाइन्छ, म कांग्रेसको भन्ने सदस्य विरलै भेटिएलान्। केहीले म विश्वप्रकाशको पनि भन्लान्। म कांग्रेसको सदस्य भन्ने होनहार राजनीतिज्ञ सायदै कसैले भेटेको होला यति बेला। यस्ता विसङ्गति चिर्दै सिङ्गो कांग्रेस र कांग्रेसी बनाउने अभियानका बारेमा यो बैठकले छलफल चलाउन त्यत्तिकै जरुरी छ।

पहिले पहिले पनि कांग्रेसका नेताहरूका बिचमा मतभेद नभएको होइन। राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदिको विकासका सन्दर्भमा नेताहरूका बिचमा विचारको द्वन्द्व नहुने गरेको होइन। नेताहरूका कार्यशैलीलाई लिएर पक्ष र विपक्षमा धारणा नआउने गरेको पनि होइन। बिपी र सुवर्ण शमशेर, बिपी र गणेशमान सिंह, गणेशमान र कृष्णप्रसाद भट्टराईका बिचमा पनि सदैव मतैक्य रहेको थियो भन्ने पक्कै होइन तर त्यति बेला यी शीर्ष नेताहरूले देशलाई शिरमा र पार्टीलाई हृदयमा राखेर तर्कवितर्क गर्ने गर्दथे। उनीहरूका बिचको द्वन्द्वले पार्टीलाई कमजोर बनाउने होइन कि झन् खारेर जनताका 

माझमा नेपाली कांग्रेसलाई लोकप्रियताको शिखरमा चढाउने काम गर्दथ्यो।

विवाद त्यति बेला पनि थियो र अहिले पनि छ। त्यति बेलाको विवादले पार्टीलाई भावी मार्गदर्शन दिने काम गर्दथ्यो। अहिलेको विवादले कांग्रेसलाई व्रmमशः ओरालो यात्रातिर झार्दै लगेको सबैले अनुभव गरेको विषय हो। उति बेलाको बहस भनेको देशको समृद्धि र नागरिकको समुन्नतिका लागि पार्टीले अपनाउनुपर्ने मार्गका विषयमा लिएर हुन्थ्यो भने अहिलेको विवाद पार्टीको शीर्षस्थानमा को रहने र कसका मान्छेले बढीभन्दा बढी अवसर पाउने भन्नेमा केन्द्रित देखिन्छ। उति बेला क्षमतावान्, योग्य र इमानदार पात्रलाई उपयुक्त जिम्मेवारी दिने सन्दर्भमा बेमेल हुने गर्दथ्यो भने अहिले मेरा नातेदार, ढोके, बैठके र हुक्केहरूलाई मौका दिनै पर्छ भन्नेमा झैझगडा हुने गरेको पाइन्छ।

यी विवादमा दुवै या तीनै पक्ष सबै सन्दर्भ र प्रकरणमा गलत अवश्यै छैनन्। पार्टीभित्रका सबै गुट र उपगुटमध्येको कुनै एक पक्ष पनि सबै विषयलाई लिएर गल्ती नै नगरेको या दुधले नुहाएको पनि छैन। आमजनताले र पार्टीका कार्यकर्ताले मूल्याङ्कन गर्ने भनेको अधिकांश सन्दर्भ र विषयमा कुन पक्ष चाहिँ सही छ भन्ने हो। जुन पक्षले प्रायः सत्यका पक्षमा आवाज उठाउने, पाइला चाल्ने र कम गल्ती गर्ने गर्छ, सोही पक्षलाई सबल बनाउन सबै कांग्रेसी जुट्ने हो भने यो पार्टीको विगतको साख फर्काउन कुनै अप्ठेरो थिएन। आफ्नो वैयक्तिक उन्नतिलाई प्राथमिकता दिएर पार्टीको भविष्यलाई अनदेखा गर्ने कार्यकर्ताको बाहुल्य हुँदा कांग्रेसको रूपान्तरण भन्ने पदावली वक्तव्यमै सीमित हुन पुगिरहेको छ।

कांग्रेस देशको सबैभन्दा पुरानो, आमनागरिकको भरोसा बोकेको, लोकतान्त्रिक एवं समाजवादी विचारलाई आत्मसात् गरेको पार्टी हो । नागरिक स्वतन्त्रताका लागि तीन–तीन पटक सफल जनआन्दोलनको नेतृत्व गरेको कांग्रेस रूपान्तरित भइदिए हुन्थ्यो भन्नेहरूको सङ्ख्या अझै पनि नेपालमा पर्याप्त छ। मनैदेखि लोकतन्त्रको आदर्शलाई बोक्ने भएका कारण कांग्रेस पार्टी जीवन्त रहनु पर्छ भन्नेहरूको लर्को अन्यको भन्दा ठुलै देखिन्छ तर यही पार्टीका नेताका कारण नागरिकमा उत्साह जाग्न सकेको छैन।

कांग्रेसलाई नै गाली गरेका भरमा विसं २०७९ मा सम्पन्न निर्वाचनमा केही दल उदाए। उनीहरूका गालीमा जनताले किन विश्वास गरे र कांग्रेसको दाबीमा किन भरोसा गर्न सकेनन् भन्ने छलफल यो बैठकले गर्छ कि गर्दैन भन्ने सरोकारवालाले चासोपूर्वक हेरिरहेका छन्। सही मार्ग पहिल्याएर तदनुरूप मार्गमा हिँड्न सक्नु नै रूपान्तरण हो। कांग्रेसको रूपान्तरण, कांग्रेसमा रूपान्तरण र रूपान्तरित कांग्रेसी नेताहरू जनताले खोजिरहेका छन्। हेरौँ, कांग्रेसको यो बैठकले के गर्छ ?  

Author

डा. शान्तिकृष्ण अधिकारी