• १२ मंसिर २०८१, बुधबार

संयुक्त जनआन्दोलनका सिद्धान्तकार

blog

पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक, नेपाली कम्युनिस्ट आन्दोलनका अथक क्रान्तिकारी योद्धा र संयुक्त जनआन्दोलनको सिद्धान्तकार हुनुहुन्छ। आजभन्दा ७४ वर्षपहिले अर्थात् विक्रम संवत् २००६ वैशाख १० (सन् १९४९ अप्रिल २२) का दिन भारतको कलकत्तामा एक बङ्गालको घरमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो। नेपाल कम्युनिस्ट पार्टीका अन्य संस्थापक सदस्यमा निरञ्जनगोविन्द वैद्य, रामविलास जोशी र नरबहादुर कर्माचार्य हुनुहुन्छ। पार्टी स्थापनाको सुरुमै कमरेड पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित गरिएको थियो। त्यसैले कमरेड पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुनुहुन्छ। 

पुष्पलाल नेपाली संयुक्त जनआन्दोलनको सिद्धान्तकारसमेत हुनुहुन्छ। किनभने २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहद्वारा सैनिक ‘कु’ गरी प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्थ गरेर ३० वर्षे निरङ्कुश तथा तानासाही एवं निर्दलीय पञ्चायती व्यवस्था लागु गरियो। नेपाली कांग्रेस, नेपाल कम्युनिस्टलगायत सम्पूर्ण राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाइयो। नेपाली कांग्रेसका सभापतिसमेत रहेका जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालगायत नेपाली कांग्रेस, कम्युनिस्ट पार्टीका दर्जनौँ अगुवा नेताहरूलाई जेलमा कैद गरेर देशमा निरङ्कुश तथा तानासाही पञ्चायती व्यवस्था लादियो। 

राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर नेपाली जनताका सम्पूर्ण राजनीतिक अधिकार खोसियो। मुलुकलाई ३० वर्षसम्म अन्धकारमा कैद गरियो। पार्टीका नेतालाई भारत प्रवासमा आश्रय लिन बाध्य पारियो। नेपाली कांग्रेस, नेपाल कम्युनिस्टलगायत सम्पूर्ण राजनीतिक पार्टी प्रतिबन्धित अवस्थामा भूमिगत गतिविधि सञ्चालन गर्न बाध्य पारियो। पुष्पलालले भने जीवनको अन्तिम घडीसम्म अर्थात् २०३५ साल साउन ७ गतेसम्म उहाँले भारत प्रवासमै बसेर पार्टी सञ्चालन गर्नुभयो, विडम्बना ५४ वर्षको उमेरमा पुष्पलालको भारतको राजधानी नयाँ दिल्लीमा मृत्यु भयो। पुष्पलालको देहावसान भएको आज ४५ वर्ष पूरा भएर ४६ वर्षमा प्रवेश गर्दै छ। त्यसैले आज नेपालका कम्युनिस्ट पार्टीहरू र उहाँका अनुयायीले देशव्यापी रूपमा ४५ औँ स्मृति दिवस धूमधामका साथ मनाउन गइरहेका छन्। 

पुष्पलालको जीवनकालमा राष्ट्रिय राजनीतिक परिस्थितिका साथै नेपाल कम्युनिस्ट पार्टीभित्र पनि पीडादायी घटना घटित हुन पुगे। उहाँको पार्टी जीवन पार्टीभित्रको वैचारिक समस्या र पार्टी नेतृत्वमा समेत ज्यादै उतारचढावको स्थितिबाट गुज्रिएको थियो। २००८ सालमा सम्पन्न गरिएको पहिलो राष्ट्रिय सम्मेलनबाटै भित्रका अवसरवादीले नेतृत्व हत्याउन पुगेकाले उहाँलाई महासचिवबाट वञ्चित गराइयो। २००९ साल माघ १० गतेदेखि तत्कालीन नेपाली कांग्रेसको मातृकाप्रसाद कोइरालाको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो। पार्टीलाई भूमिगत कार्यशैली अपनाएर सञ्चालन गर्न बाध्य पारियो।

२०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनको आयोजना गरियो। उक्त महाधिवेशनमा पनि चरम अवसरवादी एवं राजावादीहरूले नेतृत्व हत्याउन सफल भए र मनमोहन अधिकारीलाई महामन्त्री पदमा निर्वाचित गरियो। पुष्पलाललाई नेतृत्वमा आउन दिइएन। २०१४ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनले राजावादी डा. केशरजङ्ग रायमाझीलाई महासचिव पदमा निर्वाचित गरियो। पुष्पलाललाई पार्टीको मुख्य नेतृत्वबाट वञ्चित गराइयो। त्यस्तै २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्यलाई महासचिव पदमा निर्वाचित गरियो। तेस्रो महाधिवेशनले निवर्तमान महामन्त्री डा. केशरजङ्ग रायमाझीलाई दरबारियाको आरोपमा गद्दार घोषणा गरी पार्टीबाट कारबाही गरियो।

२०१९ सालमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनले रायमाझीलाई नेपाली क्रान्तिको गद्दार घोषणा गरी अनुशासनको कारबाही गरेर पार्टीबाट निकाल्न त सफल भयो तर राजनीतिक कार्यक्रममा भने पुष्पलालले पार्टी स्थापनालगत्तै २००६ साल वैशाख १२ गते प्रकाशित गरेको पहिलो पर्चामार्फत घोषणा गरिएको नयाँ नेपाली जनवादी क्रान्तिको कार्यक्रमलाई हटाएर त्यसको ठाउँमा ‘राष्ट्रिय प्रजातन्त्र’ नाम दिइएको पुँजीवादी संसदीय कार्यक्रम पारित गरेर सैद्धान्तिक रूपमै नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी बाटोमा अग्रसर गरायो। त्यसपछि तुलसीलालको नेतृत्वले सही दिशा र सही नेतृत्व प्रदान गर्न नसकेपछि २०२०/२०२२ सालबिचमा नेपाल कम्युनिस्ट पार्टी विभाजन भएर देशव्यापी रूपमा छरपस्ट हुन पुग्यो र टुक्राटुक्रामा परिणत हुन पुग्यो। यो महान् नेपाली नयाँ जनवादी क्रान्ति र सिङ्गो नेपाली कम्युनिस्टको एक दुःखान्त परिघटना थियो। 

विभाजित नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तुल्याउने उद्देश्यले २०२५ सालमा पुष्पलालले भारतको गोरखपुर नेपाल कम्युनिस्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नु भयो। उक्त तेस्रो राष्ट्रिय राष्ट्रिय सम्मेलनले महान् नेपाली क्रान्तिको कार्यक्रम ‘नौलो जनवाद’ नामक राजनीतिक कार्यक्रम पारित ग¥यो र पुष्पलाललाई महामन्त्री पदमा निर्वाचित ग¥यो। महान् नेपाली क्रान्तिको बाटोमा पुष्पलालले तय गरेको त्यो नौलो जनवादी क्रान्तिको बाटो सही थियो। त्यसले गर्दा कमरेड पुष्पलाललाई सही क्रान्तिकारी कम्युनिस्ट योद्धाका रूपमा स्थापित गर्न ठुलो मद्दत पु¥याएको थियो।

यसै क्रममा २०३७ सालमा मोहनविक्रम सिंह र मनमोहन अधिकारीले ‘केन्द्रीय न्युक्लियस’ को गठन गरेका थिए भने २०२८ सालमा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा रहेकै अवस्थामा भारतीय कम्युनिस्ट नेता चारु मजुम्दारले नेतृत्व गरेको भारतीय किसान विद्रोह ‘नक्सालवाडी’ को अनुसरण गर्दै कोसी पूर्वीय क्षेत्रीय अः कमिटीले ‘वान युनिट, वान एरिया, वान एक्सन’ को नारा दिएर जमिनदार वर्गलाई खत्तम गर्ने उद्देश्यले मोहनचन्द्र अधिकारीको नेतृत्वमा झापा विद्रोह विस्फोट गराइएको थियो। 

झापा विद्रोहले एकातिर निरङ्कुश राजतन्त्रको तानासाही व्यवस्थालाई ठुलो धक्का दिएको थियो भने अर्कोतिर दक्षिणपन्थी भाषमा डुब्न पुगेको नेपाली कम्युनिस्ट आन्दोलनलाई नराम्ररी झकझक्याएको थियो। तत्कालीन तानासाही तथा फासिस्ट पञ्चायती व्यवस्थाले झापा विद्रोहमाथि भीषण दमनचक्र चलायो। झापा विद्रोहको नेतृत्व गरेका मोहनचन्द्र, सिपी मैनाली, राधाकृष्ण मैनाली, केपी शर्मा ओली, नरेश खरेल, रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेललगायत झापा विद्रोहका सम्पूर्ण अगुवालाई गिरफ्तार गरेको थियो।

गिरफ्तार गरेकामध्ये रामनाथ दाहाल, नारायण श्रेष्ठ, विरेन राजवंशी र कृष्ण कुइँकेललाई झापा जेलबाट इलाममा जेल सरुवा गर्ने निहुँमा २०२९ साल फागुन २१ गते राति सुखानीको जङ्गलमा लगेर पुलिसले गोली ठोकेर निर्ममतापूर्वक हत्या गरेका थिए। जेल परेका झापाली राजनीतिक बन्दीमध्ये सिपी, प्रदीप नेपालले २०३२ सालमा नक्खु जेल तोडेर भागेका थिए। राधाकृष्ण मैनाली, केपी ओलीले १४÷१४ वर्ष जेल जीवन बिताएका थिए भने नेता मोहनचन्द्र अधिकारीले १८ वर्ष जेल जीवन बिताएका थिए। 

यही परिपे्रक्ष्यमा २०२९ सालमा अधिनायकवादी तथा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलनको अपरिहार्य आवश्यकता भएकाले नेपाली कांग्रेस र कम्युनिस्टले संयुक्त मोर्चा बनाएर सशक्त रूपमा संयुक्त जनआन्दोलनले मात्र २०१७ साल पुस १ गते निरङ्कुश राजतन्त्रले सैनिक बलद्वारा अपदस्थ गरिएको प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई पुनर्बहाली गर्न सकिन्छ। नेपालका ठुला दुई वटा राजनीतिक पार्टी एक्लाएक्लै लडेर पञ्चायती व्यवस्थालाई फाल्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको सिद्धान्त अगाडि सारेका थिए।

२०३५/३६ सालमा संयुक्त विद्यार्थी आन्दोलनको उठान भयो। त्यस संयुक्त विद्यार्थी आन्दोलनले निरङ्कुश राजतन्त्र नेपाली जनतासामु घुँडा टेक्न बाध्य भयो। ‘बहुदलीय व्यवस्था रोज्ने कि निर्दलीय पञ्चायती व्यवस्था रोज्ने’ भन्ने विकल्पमा जनमत सङ्ग्रह गर्ने घोषणा गर्न बाध्य भयो। २०३७ साल वैशाख २० जनमत सङ्ग्रह भयो तर कांग्रेस र कम्युनिस्ट पार्टीबिचमा सहकार्य हुन सकेन। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) र नेपाल कम्युनिस्ट पार्टी (चौम) ले उक्त जनमत सङ्ग्रहलाई बहिष्कार गरेका थिए। कांग्रेस र कम्युनिस्टबिचमा सहकार्य नभएकै कारण ठुलो धाँधलीका साथ जनमत सङ्ग्रहमा निर्दलले नै जित्यो। 

तर २०४६/४७ सालको पञ्चायती व्यवस्थाविरोधी संयुक्त जनआन्दोलनमा कांग्रेस र कम्युनिस्टबिचमा सहकार्य भएकै कारणले निरङ्कुश राजतन्त्रले राजनीतिक पार्टीका सामु घुँडा टेक्न बाध्य भयो र २०४६ साल चैत २६ गते ३० वर्षे निरङ्कुश तथा निर्दलीय व्यवस्थाको अन्त्य गरेर २०१७ सालमा निरङ्कुशद्वारा अपहरणमा परेको प्रजातान्त्रिक बहुदलीय व्यवस्था पुनस्र्थापना हुन पुगेको थियो। यसरी २०४६/४७ सालको संयुक्त जनआन्दोलनले सफलता प्राप्त गरेपछि र २०६२/६३ को १९ दिने ऐतिहासिक संयुक्त जनआन्दोलन सफल भएपछि संयुक्त जनआन्दोलनसम्बन्धी पुष्पलालको सपना साकार भएको मानिन्छ। त्यसपछि नेपालका सबै कम्युनिस्ट पार्टी र तिनका नेताले पुष्पलाललाई क्रान्तिकारी कम्युनिस्ट योद्धा र गुरु मान्न बाध्य भइरहेका छन् र साउन ७ गते पुष्पलालको फोटो र शालिकमाथि फूलमाला र अबिर चढाएर सलाम ठोक्ने र आफ्नो स्वार्थसिद्ध गर्दै आइरहेका छन् र पुष्पलाललाई नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज र नेता मान्दै आएका छन्।

ऐतिहासिक कदमले एकातिर पुष्पलाललाई नेपाली कम्युनिस्ट आन्दोलनको पार्टी संस्थापक महासचिव, अग्रज नेता र गुरु मान्दै आएको भए पनि नेपालका कम्युनिस्ट पार्टी र तिनका नेताहरू भने पुष्पलालका महान् नेपाली नयाँ जनवादी क्रान्तिका सुन्दर सपनाहरू साकार पार्ने विषयमा चुक्दै आएका छन्। २०४६ साल यताका ३४ वर्षका बिचमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट पार्टीहरू कहिले एकल त कहिले संयुक्त रूपमा पटक पटक सरकारमा गएका छन् तर उनले नेपाली जनताको जनतन्त्र, गाँस, बास, कपास, राष्ट्रिय स्वाधीनताका विषयमा कहिल्यै पनि गम्भीर भएनन्। 

मुलुकको शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्र अत्यन्तै महँगो भएर सर्वसाधारण जनताका छोराछोरीहरू शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट वञ्चित भइरहेका छन्। स्वास्थ्य क्षेत्र निजीकरण गरिएकै अत्यन्तै महँगो भएकाले जनता आधारभूत औषधी उपचारबाट वञ्चित भएर अकालमै मर्न बाध्य भइरहेका छन्। 

 आज एकातिर कम्युनिस्ट पार्टीको नामबाट सरकार सञ्चालन गर्न गएकाहरूले नै गैरकम्युनिस्ट कार्य गर्दै आएकै कारण गैरसंसदीय राजनीति गर्दै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू जसले नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य राखेका कम्युनिस्ट पार्टीहरूलाई ओझेलमा पारिएको छ। आज महान् नेपाली नयाँ जनवादी क्रान्तिको बाटोमा दक्षिणपन्थी संशोधनवाद मुख्य बाधकका रूपमा खडा हुन पुगेको छ। यिनै तथ्यगत कारणले गर्दा कमरेड पुष्पलालका महान् नेपाली नयाँ जनवादी क्रान्तिका सुन्दर सपनाहरू साकार हुन सकेका छैनन्, अधुरै रहेका छन्।

लेखक क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका पोलिटब्युरो सदस्य हुनुहुन्छ।  

Author

हस्तबहादुर केसी