• २० असोज २०८१, आइतबार

स्थानीयद्वारा पर्यटकीय क्षेत्रको सरसफाई

blog

सन्दकपुर गाउँपालिकास्थित पर्यटकीयस्थल टोड्के झर्ना सरसफाईमा पुगेका स्थानीय । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन ६ गते । इलामका पर्यटकीय स्थलहरुको सरसफाई गर्न यतिबेला स्थानीय आफैं जुटेका छन् । जिल्लाका उत्तरी पर्यटकीय स्थलहरु टोड्के झर्ना, नयाँबजारस्थित उत्तरेपोखरी, इलामको पुरानो चियाबगान लगायतका स्थानमा थुप्रिने फोहोरलाई स्थानीयले हरेक शनिबार आफैं सरसफाई गर्नेगरेका हुन् ।  

पछिल्लो समय सन्दकपुर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल टोड्के झर्नामा स्थानीयबासी र नजिकैमा रहेको श्याम्बल माविका विद्यार्थी र शिक्षकले श्रमदान गरी हरेक शनिबार सरसफाई र झर्नाको संरक्षणको काम गर्न थालेको विद्यालयका शिक्षक प्रदीप पौड्यालले बताउनुभयो ।

यता इलाम चिया बगानमा पनि १३ औं साता सरसफाई कार्यक्रम भइरहेको छ । पर्यटकीय स्थललाई सफा राख्नुपर्छ भन्ने उद्देश्यले सरसफाई सुरु गरिएको सरसफाईमा संलग्न सामाजिक अभियन्ता गायत्री दाहालले बताउनुभयो । सरसफाई अभियानका लागि उद्योग वाणिज्य संघ इलामका अध्यक्ष तथा समाजसेवी कृष्ण पौड्यालले डस्टविन र ग्लोब्स उपलब्ध गराउनुभएको दाहालले जानकारी दिनुभयो ।  यसैगरी इलाम नगरपालिका –७ वडा कार्यालयले सरसफाई अभियानका सहभागीलाई खानेपानीको व्यवस्था गरेको जनाएको छ ।  

शनिबार विदाको सदुपयोग गर्दै इलाम नगरपालिका –६ स्थित धार्मिक तथा पर्यटकीयस्थल सेतीदेवी मन्दिर वरपर सरसफाई र वृक्षारोपण सम्पन्न गरिएको छ । उता इलाम नगरपालिका वडा २ ले वडाबासीमा अपिल नै जारी गरेर आज शनिबारदेखि आफ्नो टोल, गाउँ र वडाका हरेक श्रेत्रमा श्रमदान गर्न आग्रह गरेको छ । 

वडाध्यक्ष गिरिराज रिजालले ‘म जन्मे हुर्केको ठाउँलाई महिनाको पहिलो शनिबार मेरो गाउँलाई’ नारासाथ श्रमदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । वडाको आग्रहअनुसार कार्यक्रम शुरु गरिएको वडाध्यक्ष रिजालले बताउनुभयो ।