• २० असोज २०८१, आइतबार

दिगो शान्ति र स्थायित्वका लागि एकजुट हुनुपर्छ : सभापति देउवा

blog

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कार्यक्रमको उदघाटन गर्नुहुँदै । तस्बिर : जयकृष्ण यादव ।

जयकृष्ण यादव 

इनरुवा, साउन ६ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझै पनि दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सुनसरीको इनरुवामा शनिबार ४१ औं वीपी स्मृति दिवस तथा काँग्रेस सुनसरीको जिल्ला सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने उहाँको भनाइ छ ।

काँग्रेसको जिल्ला सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “पार्टीभित्रको झिनामसिना विवादहरु आन्तरिक रुपमा मिलाउँदै लोकतन्त्रको रक्षा, दिगो शान्ति र स्थायित्वको पक्षमा लाग्नुपर्ने बेला आएको छ ।” सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन नभई, कार्यकर्ताबीच जनमुखी सेवाभाव हुनुपर्ने बताउनुभयो ।  

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको काँग्रेस सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको चर्चा गर्नुहुँदै २०८४ को निर्वाचनपछि एकल रुपमा कांग्रेसको सरकार बनाउनेगरी अभियानमा जुट्न उहाँले पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने बताउँदै अब कोही पनि कुनै गुटको पछि नलाग्ने र सबै काग्रेंस भएको सन्देश दिने प्रण गर्नुपर्ने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास, समृद्धि र जनभावनाको कदर गर्ने पार्टी काँग्रेस भए पनि त्यसलाई बुझाउन नसक्दा समस्या देखिएकाले त्यसमा लाग्न सबैलाई आग्रह गर्नुभयो । 

नेता विजयकुमार गच्छदारले काँग्रेस एकजुट भएको विश्वास जनतालाई गराउन नेता नै एक ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो । आफू वीपीबाबु र गीरिजाबाबुसँगै काग्रेंसको बारेमा बुझेको र देशका लागि काँग्रेस बाहेकको विकल्पमा नरहे पनि नेता कार्यकर्तावीच बुझाई फरक पर्दा समस्या भइरहेको बताउनुभयो ।

केन्द्रीय सदस्य राजीव कोइरालाले मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न काँग्रेसभित्र कुशलता, पारदर्शीता र जवाफदेहिता हुनुपर्ने बताउनुभयो । जिल्ला सम्मेलन पार्टीका सुनसरी सभापति केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।