• १५ मंसिर २०८१, शनिबार

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

काठमाडौं, साउन ६ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गर्नुभएको छ। 

अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गर्नुभयो। शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद: बहस र सङ्घर्ष’ विषयक कार्यक्रममा बोल्दै उहाँले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने समेत बताउनुभयो। 

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षडयन्त्र हुनसक्दछन्। त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन। नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानुपर्दछ। किन ? यहाँ कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्। यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरी, उसका आफ्नै सीमा बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ।’’

अध्यक्ष नेपालले व्यक्तिवाद हाबी भएकै कारण तत्कालीन नेकपा विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले पुँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गर्नुभयो। त्यस अवसरमा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्तालाई अध्ययनशील बन्न सचेत गराउनुभयो।