फडिन्द्र अधिकारी
पोखरा, साउन ६ गते । नेपाली लेखक सङ्घ, कास्कीको अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित हुनुभएको छ । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्षमा कमल पौडेल ‘अथक’, सचिव सञ्चय न्यौपाने ‘प्राञ्जल’, सहसचिव श्रीराम अधिकारी ‘गोर्जे’ र कोषाध्यक्षमा मेघनाथ आचार्य हुनुहुन्छ । सदस्यमा तारानाथ पराजुली, रोशन तिमिल्सिना, गोपालप्रसाद अधिकारी, मनिषा पौडेल र भेषराज पौडेल ‘उदास’ निर्वाचित हुनुभएको छ । बाँकी १ सदस्य कार्यसमितिले पछि मनोनीत गर्ने निर्वाचन समिति संयोजक लक्ष्मण थापाले बताउनुभयो ।
कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले नेपाली लेखक सङ्घले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज वकालत गर्दै आएको उल्लेख गर्नुभयो । ‘साहित्यमा सम्राट् पनि नाङ्गो हुन्छ’ भन्ने बीपी कोइरालाको अभिव्यक्तिलाई आत्मसात् गर्दै संस्थाले निष्पक्ष ढङ्गबाट विचार अभिव्यक्तिको पक्षपोषण गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश अध्यक्ष डा ईश्वरमणि अधिकारीले सङ्घ कास्कीले स्थापनाकालदेखि पाँचौँ अधिवेशनसम्म उल्लेखनीय गतिविधि गरेको जनाउनुभयो ।
नवनिर्वाचित अध्यक्ष ऋतुले नयाँ कार्यसमितिले संस्थाले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै नवीन शैलीका नयाँ कार्यक्रम थाल्ने प्रतिबद्धता जनाउनुभयो ।
साहित्यकार लक्षण थापाको संयोजकत्वमा रितादेवी कँडेल र रमेश थापा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो । अधिवेशनपछि काव्य गोष्ठीसमेत भएको सचिव प्राञ्जलले बताए।
कार्यक्रममा नेपाली लेखक सङ्घ, कास्कीका संस्थापक अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, निवर्तमान अध्यक्ष सञ्जीव पौडेललगायतले बोल्नुभएको थियो ।