• १५ मंसिर २०८१, शनिबार

बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता : पम्फा भुसाल

blog

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसाल ।

काठमाडौं, साउन ६ गते । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताउनु भयो । उहाँले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताउनु भयो ।

उपाध्यक्ष भुसालले समाजवादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने बताउनुभयो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ । तर विडम्बना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ । त्यसलाई एकीकृत, केन्द्रीकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्ने गरी प्राप्त गरेका थियौँ । तर एकता कायम भइरहन सकेनौँ । तर हामी अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ । हामीले समाजवादी मोर्चा बनाएका छौँ । मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने हो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो ।’’

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भूमिका निभाउने बताउनुभयो । उहाँले कम्युनिस्टहरू एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरूको उदय हुने जानकारी दिनुभयो ।