• २० असोज २०८१, आइतबार

बबियामा बीपी कोइरालाको सालिक अनावरण

blog

वीपी स्मृति दिवसको अवसरमा जिल्लाको इनरुवा बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सभापति देउवा । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, साउन ६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा शनिबार सुनसरीको इनरुवा नगरपालिका –९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ । 

एक कार्यक्रमबीच सभापति देउवाले सालिक अनावरण गर्नुहुँदै जननायक विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । विभिन्न राजनीतिक उतार–चढावहरू भोग्नुभएका कोइरालाले देश र जनताका लागि गर्नुभएको योगदान सदैव स्मरणीय रहने उहाँले बताउनुभयो । 

देउवाले कोइरालाको राजनीतिक र साहित्य क्षेत्रमा गर्नुभएको अमिट छाप नेपाली माझ रहिरहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा रहेको ब्रिटिस साम्राज्यवादविरुद्ध पनि लड्नुभएका कोइराला अनेक जेल–यातना सहनुभएको थियो । लामो अनुभव बटुलेका भारतीय नेताहरूसँग बीपी कोइरालाको सुमधुर सम्बन्ध थियो ।”

देउवाले सुनसरी कांग्रेसले ग्रामीण र सहरी क्षेत्रको मध्यभागमा जनताको नेताको रूपमा स्मरण गराउन बीपीचोक नामकरण गरेकोमा धन्यवाद दिनुभयो । उता सभापति देउवा अहिले कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा सहभागिता जनाउनुभएको छ । 

जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको पार्टीका जिल्ला सचिव वीरेन्द्र शाहले जानकारी दिनुभयो । जिल्ला सम्मेलन जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा भएको थियो ।