जानु पाण्डे
कपिलवस्तु, साउन ६ गते । कपिलवस्तुमा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् । जिल्लामा लम्पी रोगका कारण ३ सय ६० गाईगोरुको ज्यान गएको छ । जिल्लामा बुधवारबाट भ्याक्सिन लगाउन सुरु गरिएको हो ।
सबैभन्दा धेरै प्रभावित रहेको बाणगंगा नगरपालिकाबाट भ्याक्सिन लगाउन सुरु गरिएको छ । कपिलवस्तुमा खरिद भएका २ हजार ६ सय भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
जिल्लामा गत कात्तिक महिनाबाट लम्पी स्किन रोग देखा पर्न सुरु गरिएको विज्ञ केन्द्रले जनाएको छ । पहिलो पटक कपिलवस्तु नगरपालिकामा देखापरेको थियो । त्यसको नौ महिनापछि खोप जिल्लामा खोप लगाउन सुरु भएको छ । असारको दोस्रो सातामा ७ लाख रकम निकासा भए पछि भ्याक्सिन खरिद भएको थियो । सो रकमबाट २६ सय भ्याक्सिन खरिद भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख विष्णुप्रसाद खनालले बताउनुभयो ।
जिल्लामा रहेका १० पालिकामा भने असारको अन्तिम सातामा १ लाखका दरले भ्याक्सिन खरिदको लागि रकम पठाएको थियो । पालिकाले खाता बन्द गर्ने बेला बजेट आएपछि बजेट फ्रिज भएको छ ।
बाणगंगा नगरपालिकाका भेटेरिनरी चिकित्सक यमलाल पोख्रेलले भन्नुभयो, ‘अन्तिम दिन खातामा पैसा आएको जानकारी भयो । खाता बन्द हुने दिन कसरी खरिद गर्ने ? एक साता अगाडि रकम आएको भए पालिकाले भ्याक्सिन खरिद गर्न सकिने अवस्था थियो ।’
लम्पी रोग फैलिँदै गर्दा प्राविधिक जनशक्तिको समेत अभाव देखिएको छ । विज्ञ केन्द्र र १० पालिकाभर ४० जना पशु प्राविधिक छन् । विज्ञ केन्द्रका अनुसार १० जना प्राविधिकहरू भ्याक्सिन लगाउन खटिएको कार्यालयले जनाएको छ । साना किसान कृषि सहकारी संस्था जगदीशपुर र केही कृषकले आफै भ्याक्सिन खरिद गरी लगाएका छन् ।
उन्नत जातका जर्सी र होलिस्टेन गाईगोरुमा धेरै प्रभाव परेको देखिएको छ । जिल्लामा ९६ हजार गाई गोरु बाछा रहेको तथ्याङ्क छ । करिब १५ हजार छाडा गाईगोरु छन् ।