• ९ मंसिर २०८१, आइतबार

युद्ध र मित्रता (कविता)

blog

जतिसुकै ठुलो किन नहोस् युद्धका लागि– रणभूमि

त्यसैको कुनामा कतै होओस्

युद्ध गर्दा गर्दा थाकेका योद्धाहरूका लागि विश्रामस्थल 

कुनै अर्को कुनामा होओस्– पानी पिउने स्थान 

सानो होस् तर बनाइएको होओस् 

–केटाकेटी खेल्ने मैदान 

–बुढा बाआमा सुस्ताउने चौतारो 

–प्रेमी, प्रेमिकाहरूले चुम्बन साट्न मिल्ने स्थान


जतिसुकै क्रोधले भरिएका किन नहून्– आँखाहरू

कुनै कुना होस्– आँसुका लागि 

जतिसुकै कठोर किन नहोस्– हृदय 

कतै अलिकति रहिरहोस् 

भावना उम्रन सक्ने कमलो सुर्को 

ओठहरूमा रहिरहोस्– मुस्काउन सक्ने कला 

बोलीमा मिठास नहराओस्


तोड्ने, फोड्ने, मार्ने, जित्ने हुङ्कार बोकेको भए पनि 

तोडिएका, फोडिएका, मारिएका र हारेका प्रति 

कहीँकतै सहानुभूति अङ्कुराओस् 

रगत बगेका छातीहरूलाई श्रद्धाञ्जली दिन

क्रोध, अहङ्कार, आवेगहरूले 

भावना, प्रेम र मानवीयतालाई बाटो छोडिदिऊन्

घाउहरूमा मल्हल लगाउने औषधि मन जीवित रहोस्


खेल होस् या युद्ध 

मित्रताका लागि छाती सधैँ चौडा बनोस् 

हातहरू मिल्नका लागि तयार रहून् 

यत्ति चै थाह होस् कि 

खेल होस् या युद्ध– अवश्य सकिने छ 

र सकिँदा–

क्रोधको शीतले छोपेको बालीलाई

मित्रताको न्यानोले पगाल्न सक्ने 

घामको अस्तित्व जीवित रहिरहोस्


आवेगको भुमरी जतिसुकै चले पनि

शान्त भएपछि विश्रामका लागि

अलिकति ठाउँ रहोस्

मात्तिएको नदीले किनार भत्काएपछि भएको 

नदीको अस्तित्व जस्तो

घमण्डले बनाएको मसानघाटमा एक्लै उभिएर जितेँ के भन्नु !

बँचिरहोस्–

हुरीले लाछेको रूखको जस्तो पलाउने आशा 


योद्धा, खेलाडी जे जे भए पनि– हामी मान्छे हौँ 

यो हरफ– ज्युँदो रहिरहोस् !