रफुजी हुँ ज्वाइँ नानी ! दाँत देखाउँदै, बत्तिसमुजा चाउरी पार्दै काकी हाँस्न थालिन् । काकीको मुखबाट रफुजी शब्द सुन्ने बित्तिकै मनमनै हाँस्न थाले । आखिर काकीले कहाँबाट अंग्रेजी रफुजी शब्द सिकिन् ? जबकी काकीको निम्ति कालो अक्षर भैंसी बराबर छ । अंग्रेजी त झन् परको कुरा ।
काकी जुन स्थानमा बस्थिन्, त्यहाँ नजिकै शरणार्थी शिविर रहेछ । शरणार्थीलाई अंग्रेजीमा रिफ्युजी भनिन्छ । शरणार्थी अर्थात् घरवारविहीन । शरणार्थी अर्थात् परनिर्भर । शरणार्थी अर्थात् पराश्रित । बोर्डिङ पढ्दै गरेका नातिहरूले शरणार्थीलाई रफुजी भन्ने गरेको सुनेपछि उनले आफूलाई पनि त्यही सोच्दै ठुटे अंग्रेजी सिकिछन्– रफुजी ।
मैले आश्चर्य चकित हुँदै सोधेँ, ‘रफुजी तर कसरी काकी ?’
‘आफ्नै घरमा रफुजी नि नानी !’ काकीले भनिन्, ‘छन् गेडी सबै मेरी ! छैनन् गेडी सबै टेढी, होइन त नानी ?’
‘हो काकी !’, सहमतिमा मैले मुन्टो हल्लाएँ ।
माझघरे काकी मेरी साख्य काकी थिइनन् । मेरी श्रीमतीको माइती गाउँको काकी पर्ने थिइन् । गाउँभरि नै उनी माझघरे काकीको नामले चर्चित थिइन् । गाउँको माझमा घर भएको माझघरे काकासँग विवाह भएपछि उनी माझघरे काकीको नामले चिनिएकी थिइन् । उनको वास्तविक नाम मैना थियो ।
पहाडबाट तराई झर्दा बिहानको १० बजिसकेको थियो । काठमाडौँ जाने दिवा बस सेवा सबै छुटिसकेका थिए । म रात्रि बसको प्रतीक्षा गर्दै छोरा र श्रीमतीको साथमा समय कटाउनलाई काकीको डेरामा पुगेको थिएँ । त्यहाँ काकीको छोरा होटेल चलाएर बसेका रहेछन् । चार कोठाको फ्ल्याट भाडामा लिएका रहेछन् । सटर भएको कोठामा होटल, त्योभन्दा पल्लो कोठामा नातिहरू, माझको कोठामा छोराबुहारी र छेउको कोठामा काकी थिइन् ।
जेठको उखरमाउलो गर्मी । जस्ताको छानोबाट आएको तातोले टाउको फुट्ला झैँ गर्मी भइरहेको थियो । पङ्खा त चलिरहेको थियो तर तातो हावा फ्याँकिरहेको थियो । नजिकैको शौचालयबाट मलमूत्रको नाक फुट्ला झैँ गन्ध आइरहेको थियो । मलाई भित्रभित्र उकुसमुकुस भइरहेको थियो ।
माझघरे काकीबारे निकै किस्साहरू सुनेको थिएँ । काकी जवानीमा निकै सुन्दर थिइन् रे । उनको आवाज पनि निकै सुमधुर थियो रे । उनले गोठाले गीत, सङ्गिनी गीत गाउन थालेपछि समय बितेको पत्तो नै पाइँदैन थियो रे । कसैको घरमा विवाह भयो भने सङ्गिनी, रत्यौली गाउनलाई उनलाई नै बोलाइन्थ्यो रे । काका पनि त्यस्तै सुन्दर गीत गाउँथे रे । गीत गाएर नै काकाले काकीलाई ल्याएका थिए रे । त्यस्ती काकी आज मूर्तिवत थिइन् । चल्न चल्मलाउन नसक्ने थिइन् । एउटा साँघुरो कोठामा नारकीय जीवन जिउन बाध्य थिइन् ।
काकी तपाईंको यो दुर्गति कसरी भयो ? मैले जिज्ञासा राखेँ ।
दिन बिग्रियो ज्वाइँ नानी ! दिन बिग्रियो ! काकीले खुइया काढिन् । अतीततिर फर्किइन् । घरको बार्दलीमा बसेर सङ्गिनीको गेडाहरू गुनगुनाउँदै थिएँ । चिप्लिएर तलको ढुङ्गामा बजारिएँ । कानमा डङ्ग्रङ्ग आवाज आएको थियो । त्यसपछि के भयो, केही थाहा छैन । होसमा आउँदा आफूलाई अस्पतालको ओछ्यानमा पाएँ । हातमा सियो रोपिएको थियो । टाउकोभरि घाउ नै घाउन थियो । काकाबाट थाह पाएँ, म त अस्पताल पुगेको महिना दिन पो हुन लागिसकेको रहेछ । मेरुदण्ड पुरै खुस्किएको रहेछ । त्यो दिनदेखि कम्मरमुनिको भाग नचल्ने भयो ।
काकी आँखाबाट बरर आँसु झार्न थालिन् । अब मुर्दा कुरे झैँ यही कोठा कुर्दै काल पर्खिनु बाहेक अर्को उपाय छैन । काकीका अनुहारमा चरम निराशाका बादल मडारिन थाले ।
हिम्मत नहार्नुस् काकी ! सास छउन्जेल आशा हुन्छ, मैले सान्त्वना दिएँ ।
‘नाति केटो भोकायो होला, तर के गर्नु आफ्नो हात चल्दैन, आफ्नो हात चल्ने भए नातिलाई, ज्वाइँलाइ कति मेजबानी गर्थें !’ हामीलाई उचित स्वागतसत्कार गर्न नसकेकोमा काकी पछुतोमा डुबिन् ।
‘केही छैन काकी, हामीले भर्खरै होटलमा खाना खाएर आएको भोक लागेको छैन । हाम्रो होइन, आफ्नो चिन्ता गर्नुस् काकी !’ मैले सम्झाएँ ।
‘रमेश ! ओ रमेश यता आइज त ?’ काकीले छोरालाई बोलाइन् । किन आमा भन्दै रमेश आइपुग्यो । ‘चर्पी आयो, कोपरा थापिदे बाबू !’ काकीले भनिन् ।
रमेशले काकीको दुई हातलाई आफ्नो काँधमा राख्यो, नीलो पर्दाले बारेर कोठामा कोपरा थापेर आमालाई दिसापिसाब गरायो । कोठामा एकक्षण फेरि मलमूत्रको चर्को गन्ध फैलिन थाल्यो । दिसापिसाब गराइसकेपछि रमेशले काकीलाई यथास्थानमा ल्याएर राख्यो । डिटेल पानीको फोहोरा छर्किएर कोपरा लिएर शौचालयतिर गयो ।
काका छउन्जेल उनलाई काकाले नै दिसापिसाब गराइदिन्थे । कोठामा डिटोल पानीको फोहोरा छर्किदिन्थे । काका पोहोर साल मुटुको व्यथाले बिते । अब काकीलाई चिन्ता छ– अबको दिन झन् सकसमय छ । सास्तीपुर्ण छ ।
अहिलेसम्म त छोराले छिःछिः दुरदुर गरेको छैन । उसले पनि कति दिन सहला र ! काकी खुइया काड्न थालिन् भनिन्, ‘ज्यूँदै नरकमा परेँ ज्वाइँ नानी ! कालले पनि चटक्क चुँडेर लैजाँदैन ।’
‘हिम्मत नहार्नुस् काकी !’ त्यस्तो केही पनि हुनेछैन, जे हुनेछ राम्रै हुनेछ, चिन्ता गर्नु हुन्न, चिन्ता चिताको आगोभन्दा पनि खतरनाक हुन्छ’, मैले सान्त्वना दिएँ ।
‘छ्या आमा त कति गनाएको’, बाहिरबाट बुहारीको आवाज आयो । उनीहरूको निम्ति म गनाउने भइरहेछु । तर मेरो यो फरियामा अझै रमेशेले आची गरेको दुर्गन्ध आइरहेछ । काकी आँसु झार्दै फरिया देखाउन थालिन् । काकी केही क्षण गम्भीर मुद्रामा डुबिन् ।
‘काकी तपाईं त मिठा गीत पनि गाउनु हुन्थ्यो रे होइन, मलाई पनि एक दुई लाइन सुनाइदिनु न ! आफू लोकसाहित्य प्रेमी, जहाँ पनि लोकगीत सुन्न÷खोज्न मन लाग्छ ।’
‘अब स्वर सुकिसक्यो, सारा गीत भुलिसकेँ । के गाउनु नानी ?’
‘दुई लाइन भएपनि गाउनु न हजुरको गीत कस्तो रहेछ, मलाई पनि सुन्न मन लाग्यो’, मैले कर गरेँ । अब तपाईंले कर नै गर्नु भयो, दुई लाइन सुनाइदिन्छु–
माझीदाइको निर्माया हातैमा जाल पनि
दुखियालाई आउँदैन काल पनि ।’
काकी लामो लेग्रो तान्दै गाउन थालिन् । अब यो थलै गुहु, थलै मुत भइसकेको ज्यूँदो लाससँग कहाँ गीत बाँकी छ र भन्दै काकी पुनः चिन्तित मुद्रामा आइन् । ‘एकजना दिदीलाइ पनि मलाई जस्तै भएको थियो । खाटको बिच भागमा प्वाल पारेर तल कोपरा थापिएको थियो । कोपरामा हरियो झिँगा भन्किन्थ्यो । त्यो झिँगा दिदीको वरिपरि झुमिन्थ्यो । एकदिन उनी खाटमा नै कुहिएर औंसा परेर मरिन्’, काकी आफ्नो दुर्दिन सम्झिएर घोर त्रसित हुन थालिन् ।
घाम डुब्दै थियो । हामी बसपार्क जाने बेला हुँदै थियो । ल त काकी हामी लाग्यौँ, फेरि कुनै दिन आउँछौ है ! हामीले बिदा माग्यौँ । ‘हस् नानी ! नमरी बाँचे, कालले साँचे यो रफुजी काकीको कोठामा आउने बाटो नभुल्नु है नानी !’ काकीले बिदा दिइन् । हामी बसपार्कतिर लाग्याैँ ।
काठमाडौँ आएको महिना दिनपछि खबर आयो– रातभरिको तारन्तार रगत उल्टीको कारण काकीको देहान्त भयो । त्यही राति सपनामा मैले काकीलाई देखेँ ।
‘काकी तपाईं त कति छिट्टै जानू भयो ।’
‘ज्वाइँ नानी म त त्यही दिन नै मरिसकेकी थिएँ, जब मेरा शरीर नचल्ने भएँ, जुन दिनदेखि काका बिते र म आफ्नै घरमा शरणार्थी जस्तो भएँ, त्यही दिन नै मलाई कालीदहको कालीनागले निलिसकेको थियो’, काकीले सपनामै भनिन् ।