• २० असोज २०८१, आइतबार

कोशीमा डेङ्गुको प्रकोप बढ्दो

blog

हिले समाचारदाता

हिले, साउन ६ गते । कोशी प्रदेशमा डेङ्गुको सङक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ। यो वर्ष अहिलेसम्म कोशी प्रदेशमा ३५७ जनामा डेङ्गुका बिरामी फेला परिसकेका छन्।

निर्देशनालयका अनुसार साउनको पहिलो सातासम्म ३५७ जना सङ्क्रमित फेला परेका हुन्। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा निकै उच्च हो। अघिल्लो वर्ष यो अवधिमा जम्मा ४२ जना मात्रै सङ्क्रमित फेला परेको कार्यालयको स्वास्थ्य अधिकृत विवेचना चौलागाईले बताउनुभयो। स्वास्थ्य निर्देशनालयले विभिन्न सचेतना कार्यक्रमसहित परीक्षणका लागि किट व्यवस्थापनलगायतका कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो।

अहिलेसम्म कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ। बिहीबारसम्मको तथ्याङ्क अनुसार सुनसरीमा २४२ जनामा देखिएको छ। यसमध्ये पनि सुनसरीको धरान उपमहानगरपालिकामा अत्यधिक रहेको छ। त्यस्तै सङ्खुवासभामा ३०, मोरङमा २५, झापामा २४, तेह्रथुममा १५ सङ्क्रमित फेला परेका छन्। त्यस्तै धनकुटामा आठ, भोजपुरमा पाँच, खोटाङमा चार, इलाममा दुई तथा ओखलढुङ्गा र ताप्लेजुङमा एक एक सङ्क्रमित फेला परेका छन्। अहिलेसम्म कोशी प्रदेशमा पाँचथर, उदयपुर र सोलुखुम्बुमा सङ्क्रमित फेला नपरेको कार्यालयले जनाएको छ। 

विगतका वर्षहरूमा डेङ्गुको सङ्क्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलिने गरेको थियो। पहाडी र हिमाली जिल्लाहरू तुलनात्मक रूपमा तराईका जिल्लाभन्दा सुरक्षित हुने गरेका थिए तर गत वर्षबाट भने नतिजा फरक देखिन थालेको छ। तराईका जिल्लासँगै पहाडी र हिमाली जिल्लामा समेत यसको प्रकोप फैलिन थालेको छ। बर्खाको समयमा पानीका कारण यसको प्रकोप बढ्ने गरेको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो। 

“बर्खामा पानी जताततै जम्ने भएकाले लामखुट्टे बढ्छन् र यो रोगको प्रकोपसमेत बढ्छ,” उहाँले भन्नुभयो। सर्वसाधारण सचेत नभएसम्म यो रोगको प्रकोप कम नहुने उहाँको बुझाइ छ। त्यसो त यो नियन्त्रणको लागि कार्यालयले कुनै रणनीतिक योजना बनाएको छैन। जिल्ला र स्थानीय तहसँग समन्वय गरी बुझ्ने, परीक्षणका लागि आवश्यक पर्ने किट वितरण र सचेतनाबाहेकका अन्य कार्यक्रम कार्यालयले गरेको छैन। “धरानमा बढी फैलिएको छ दैनिक ५० भन्दा माथि सङ्क्रमित फेला पर्न थालेका छन्, हामी धरानमा कसरी अघि बढ्ने भन्नेबारेमा कार्यक्रम पनि आयोजना गर्दैछौँ। पहिले धरान केन्द्रित हुन्छाैँ,” बस्नेतले भन्नुभयो।