मीना कँडेल
कावासोती (नवलपुर), साउन ५ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन 'झोलाविहीन शुक्रबार' बनाउने नीति ल्याएको छ ।
बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरि विद्यालयहरुलाई क्रमशः 'झोलाबिहिन शुक्रबार' बनाउने नीति लिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
आधारभूत तहलाई पूर्ण प्रविधिमैत्री बनाइने, बालविकास केन्द्रमा बालबालिकामैत्री सिकाइ सामग्री र बालबालिकाको बसाइलाई व्यवस्थित गराउने, विद्यार्थी सङ्ख्या र भूगोल समेतका आधारमा विद्यालयको समायोजन र शिक्षक दरबन्दी मिलानलाई जोड दिइने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।
विद्यालयमा सिकाइ क्रियाकलापको गुणस्तर वृद्धिका लागि अभिभावक शिक्षक व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गरिने, शिक्षासँगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरी सिकाइलाई जीवनाेपयोगी बनाउन आधारभूत ज्ञान, सरसफाइ र फोहाेरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलहरुको जानकारी र स्थानीय उत्पादनबारे गर्न सकिने खोजका विषयहरु र हितको स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिने उहाँले बताउनुभयो ।
यस्तै, विद्यालय अनुगमन, अवलोकन र नियमित निरीक्षणका आधारमा गरिने मूल्याङ्कन पद्धतिलाई निरन्तरता देइने, विद्यालय सुधार योजना निर्माण र कार्यान्वयनमा जोड दिइने उपप्रमुख पार्वत तिवारी बताउनुहुन्छ । विद्यालयको शिक्षण सिकाइ, अन्य व्यवस्थापन सुधार लगायत समग्र शैक्षिक गुणस्तर सुधारका निम्ति सामुदायिक विद्यालयहरुमा प्रतिस्पर्धाका माध्यमबाट प्रधानाध्यापक छनाेट गर्ने नीति लिइनेछ । सबै प्रमुख प्रशासयिक अधिकृत र विद्यालयका प्रधानाध्यापक बीच कार्यसम्पादन करार गरिने उल्लेख गरिएको छ ।