• ३१ जेठ २०८१, बिहिबार

माझी महिलाको दिनचर्या : कुखुरा बेचेर नुनतेल जोहो

blog

सिन्धुपाल्चोक (इन्द्रावती), साउन ५ गते । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १ गते मेलम्ची र इन्द्रवतीमा आएको गेग्य्रानसहितको बाढीले यो बस्ती पूर्ण रूपमा विस्थापित बनायो।

त्यसपछि इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँमा करिब ३६ घरधुरीको एकीकृत माझी बस्ती निर्माण भयो। यो माझी बस्तीमा प्रायः आधा उमेर ढल्केका तथा विवाहित महिलाको दैनिकी घरधन्दामै बित्छ। केही ससाना केटाकेटी खेलेर दिन काट्छन् भने धेरै जसो विद्यालय जाने, पढ्ने, लेख्ने गर्छन्। 

घरका छोरा मान्छे ज्याला, मजदुरी गर्ने, कोही साहुको खेतबारीमा काम गर्छन्। देशका अन्य गाउँठाउँमा झैँ युवा उमेर समूहका व्यक्ति यो माझी बस्तीमा निकै कम छन्। 

“दुई वर्षअघिको बाढीले घरजग्गा, खेतबारी सबै बगायो। जोगाएर राखेको अन्नपात सबै बगायो,” प्रकाश माझीले भन्नुभयो, “बाढीका कारण नदीका माछा पनि लाखापाखा लागे।”  पार्वती माझीको दैनिकी पनि एकीकृत माझी बस्तीको घरैमा बित्छ। श्रीमान्ले कमाएर ल्याए खाने, नल्याए के खाने भन्ने चिन्ता उहाँलाई बेलाबखत लाग्ने गरेको छ। दिन कटाउन र थोरै आयआर्जन हुने आशाले १०–१२ वटा कुखुरा पाल्नुभएको छ। उहाँले तिनै कुखुरापालनबाट नुन, तेल र चामलको जोहो गर्ने गरेको बताउनुभयो। उहाँले एउटा कुखुरा दुई हजारदेखि २५ सय रुपियाँसम्ममा बिक्री हुने गरेको बताउनुभयो। महिनामा दुई, चार वटा कुखुरा बिक्री हुन्छन्।  

“दोस्रो विवाह भएकाले आमा समूहलगायतका समूहमा बस्न नमिल्ने भयो,” उहाँले भन्नुभयो, “दुई विवाह भएकाले समूहमा बस्न मिल्दैन भनेका छन्। पहिला त आमा समूह, साना किसान समूहमा बसेका थियौँ। यता बस्न मिल्दैन भन्छन्।” सानोमा विद्यालय पढ्न पाउनुभएन, उहाँका श्रीमान् आयस्रोतका लागि डन्डी बोक्ने, गाह्रो लाउने मिस्त्री मजदुरी गर्नुहुन्छ। 

ठुलीकान्छी माझीलाई आफू जन्मेको वर्ष नै थाहा छैन। रोपाइँको समय भयो तर खेतबारी कहीँ पनि छैन। उहाँले भन्नुभयो, “बेँसीको घरजग्गा बाढीले बगायो। दुलहाले यहाँ घर बनाउनुभयो अनि सरेको। काम केही पनि छैन। पाँच वटा कुखुरा, दुई वटा बाख्रा छन्।” उहाँले विद्यालय पढ्नुभएन तर प्रौढ शिक्षा पढेकाले आफ्नो नाम लेख्न भने सक्नु हुन्छ। 

ठुलीकान्छी भन्नुहुन्छ, “मेरा बुढा खेत खन्न जानुभएको छ। वृद्ध भत्ता लिनुहुन्छ। तर मेरो उमेर कति वर्षको भन्ने ठ्याक्कै थाहा भएन। म खै कति वर्षकी भएँ। बाउआमाले यति, उति वर्षको भनेर भनेनन्। सानैमा विवाह गर्दिनुभयो थाहा नै भएन। पहिला साटोपाटोमा विवाह गरेको हो। बाउआमाले दिएको ठाउँमै बसेकी छु।” खेतीपाती भइदिएको भए जीवनयापनमा सहज हुने भन्दै फाट्टफुट्ट पशुपालनले नुनतेलको जोहो गर्न सघाएको उहाँले बताउनुभयो।

यस्तै ३३ वर्षकी सुस्मिता माझीले कक्षा तीनसम्म पढ्नुभएको छ । उहाँको श्रीमान् काठमाडौँमा साधारण व्यवसाय गर्नुहुन्छ । आठ, दश वटा कुखुरा र पाँच, छ वटा बाख्रा पाल्नुभएको छ । 

कक्षा ३ पछिको पढाइ किन अगाडि बढाउनुभएन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “सानो उमेरमा के भयो, भयो, बाख्रा गोठालो भइयो । यत्तिकैमा पढाई छुट्यो ।” जङ्गल क्षेत्रमा बाघले बाख्रा खाएर दुख दिने पनि गर्दो रहेछ । “पोहोर साल बाघले तीन, चार वटा बाख्रा खायो”, उहाँले भन्नुभयो ।

सुस्म्तिा भन्नुहुन्छ, “दिदीबहिनीले खासै माछा मार्दैन । सानो उमेरमा अरुको लहैलहैमा माछा मार्न जान्थेँ ।” बाढी आएपछि वनको जङ्गलबिच बस्दै आएकोमा एकीकृत माझी बस्तीमा  झन्डै चार वर्ष भएको उहाँको भनाइ छ । 

पुरुषले मात्रै किन बाहिर काम गर्न जानुभएको भन्ने जिज्ञासामा उहाँले महिलाले भन्दा पुरुषले काम गर्न सक्ने र पारिश्रमिक पनि बढी प्राप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ज्याला, मजदुरी गर्न जाँदा पुरुषलाई भन्दा महिलालाई पारिश्रमिक हल्का कम हुन्छ । पुरुषले जति नै महिलाले काम गर्न सक्ने स्थिति हुँदैन ।” 

उहाँलाई लागेको छ, माझी समाजमा पहिलेकोभन्दा भेदभाव अचेल कम भएको छ । उहाँले भन्नुभयो, “महिलाले निर्णय आफैँ गर्न पाउँछ पहिला सासू आमाको पालामा यस्तो थिएन होला । महिलाले नै घर व्यवहार धान्ने, हामीलाई ज्ञान पनि हुन्छ, त्यो कारणले सकिन्छ पनि ।”

सरकारी जग्गामा यो एकीकृत माझी बस्ती बनाइएकोले यसको लालपुर्जा आफूहरूसँग नभएको गुनासो उनीहरूको छ । यस बस्तीको सामाजिक तथा आर्थिक सुधार एवम् परिवर्तनका लागि सरोकारवाला निकायको ध्यान जानुपर्दछ ।

स्थलगत रिपोटिङका क्रममा गोरखापत्र अनलाइनका तर्फबाट सपना थामी र मनोज रत्न शाहीले तयार पारेको भिडियो:

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।