गोरखापत्र अनलाइन
काठमाडौं, साउन ४ गते । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताबखाना (निजामती) मा छड्के अनुगमन गर्नुभएको छ । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुग्नुभएको थियो । किताबखानामा मन्त्री मोदीको यो दोस्रो पटकको छड्के अनुगमन हो ।
अनुगमनका क्रममा मन्त्री मोदीले कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गर्नुभयो । सो अवसरमा कर्मचारीहरुको उपस्थिति र कार्यशैलीबारे उहाँले चासो राख्नुभएको थियो ।
सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताबखानाको सेवा प्रवाहबारे जानकारी लिनुभयो । सेवाग्राहीसँग मन्त्री मोदीले कर्मचारीको सेवा प्रवाहबारेमा समेत चासो राख्नुभएको थियो ।
कार्यालय कक्षको अवलोकनपश्चात् मन्त्री मोदीले किताबखानालाई अझ व्यवस्थित र सुदृढ बनाउन मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नुपर्छ, मैले कैफियत जनाउने गरेको छु’ मन्त्री मोदीले भन्नुभयो, “मेरालागि सबै दर्जाका कर्मचारी समान हुन्, साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम मबाट हुँदैन ।”
मन्त्री मोदीले आफूले सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ’ मन्त्री मोदीले भन्नुभयो, “त्यसका लागि तपाई हामी सबैको व्यवहारमा सेवाग्राहीले अनूभुति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।”
मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।
किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने काम गर्छ । हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९ जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन् ।