• २२ वैशाख २०८१, शनिबार

सुन तस्करी प्रकरण : भन्सार विभागद्वारा छानबिन समिति गठन

blog

काठमाडौं, साउन ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको ।

विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार विभागका अनुसन्धान शाखाका निर्देशक मानबाहदुर पौडेलसहित छ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।  यो समितिले पाँच दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।

खड्काले भन्नुभयो, ‘‘विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिले पाँच दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बुझउनेछ ।’’

उहाँले भन्सार कार्यालयका कर्मचारीको कमजोरी वा आन्तरिक त्रुटिले सुन भित्रिएको आशङ्कामा अनुसन्धान गर्न समिति गठन गरिएको बताउनुभयो । छानविन समितिले भन्सार जाँचपास गर्दाको गतिविधि र भन्सार प्रक्रिया अनुसार नै जाँचपास गरे नगरेको अनुसन्धान गर्नेछ ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलबार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको जानकारी दिनुभयो । उहाँले सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो ।