• २० असोज २०८१, आइतबार

अनुमतिबेगर झिकिएको चार कराेड फिर्ता

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ४ गते । झापाका ठुला सहकारी संस्थामध्येमा पर्ने नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यको खाताबाट कल्याणकारी कोषका लागि भन्दै सदस्यको अनुमतिबेगर झिकेको चार करोडभन्दा बढी रकम सदस्यकै खातामा फिर्ता गरिदिएको छ । 

करिब ६० हजार सदस्यको खाताको रकम सात सयका दरले सहकारीले झिकेर सहकारीको कोषमा दाखिला गरेको थियो । 

मङ्गलबार बिहान खाताबाट पैसा झिकेको सहकारीका सदस्यले थाहा पाएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना गरेपछि बेलुका नै उक्त रकम सहकारीका सदस्यको खातामा फिर्ता आएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीका अनुसार कल्याणकारी कोषका लागि झिकिएको रकम पुनः फिर्ता गरिएको हो । “सहकारीका कतिपय सदस्यले यस विषयमा कुरा उठाएपछि सदस्यमा आधारित सहकारी भएकाले उक्त रकम खातामा नै फिर्ता पठाइएको छ,” उहाँले भन्नुभयो ।

सहकारीका सदस्यको खाताबाट आकस्मिक रूपमा रकम झिकिएको विषयमा तीव्र आलोचना भएपछि सहकारीको आकस्मिक बैठक बसेर सदस्यको खाताबाट तानिएको रकम फिर्ता गर्ने निर्णय भएको सहकारीले प्रेस विज्ञप्ति जारी गरेर सबैमा जानकारी गराएको छ ।

एनएमसीले आफ्ना एक लाख ५० हजार सदस्यको खाताबाट सात सयका दरले कल्याणकारी कोषमा योगदानस्वरूप रकम झिक्ने तयारी गर्दै खातामा रकम हुनेको रकम सहकारीले तानेको जनाइएको छ । पाँच हजारभन्दा कम सेयर कायम भएका सदस्यलाई सहकारीले मृत्यु राहत कोषको सुविधा नदिएको अवस्थामा त्यो सुविधा सबैलाई दिनका लागि यो रकम झिकिएको सहकारीले स्पष्ट पार्न खोजेको छ ।

एनएमसी सहकारी संस्थाले पाँच हजारभन्दा माथिको सेयर हुने सदस्यका लागि मृत्यु राहत ५० हजार, दीर्घरोग उपचारमा २५ हजार, परिवारजनको मृत्युमा शुद्ध्याइँ खर्च १० हजार, प्राकृतिक प्रकोपमा २५ हजार, दुर्घटना उपचार खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराउँदै आएको थियो । 

सहकारी संस्थाले आर्थिक अवस्था र सेयर पुँजीका आधारमा विभेद गर्न नपाइने अवस्था छ । सहकारी संस्थाकी सूचना अधिकारी तेजुकुमारी घिमिरेले विभेद भएको ठानेर नै सबैलाई यस कल्याणकारी योजनामा हाल्न सात सय झिकिएको भए पनि सदस्यको आग्रहमा फिर्ता गरिएको बताउनुभयो ।