• ८ वैशाख २०८१, शनिबार

कोदोको रक्सीलाई ब्राण्ड बनाइँदै

blog

विक्रीका लागि राखिएका रक्सी । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ  

प्युठान, साउन ३ गते । जिल्लाको गौमुखी गाउँपालिकाले ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ । 

गाउँ सभाको पन्ध्रौँ अधिवेशनले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि पनि कदम चालेका छौँ’ उहाँले भन्नुभयो, “साउन १ गतेदेखि नै बजार अनुगमन सुरु गरिसकेका छौँ ।’ सो निर्णयको बारेमा यसअघि नै वडा वडामा प्रचार प्रसार गरिएको समेत उपाध्यक्ष रानाले बताउनुभयो ।

स्थानीय पदमबहादुर केसीले पालिकाले राम्रो निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “गाउँमा प्लास्टिकका रक्सीको  व्यापक प्रयोग छ” उहाँले भन्नुभयो, “यसले धेरै मानिसको स्वास्थ्यमा असर गरिरहेको छ । यसलाई पूर्णरुपमा रोक्न जिल्लाभरका पालिकाले निर्णय गर्नुपर्छ ।”

गाउँपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएको जनाएको छ । गौमुखी गाउँपालिकाको सबै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्राण्डको रूपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।