• ७ वैशाख २०८१, शुक्रबार

बेनीको कालीपुल बसपार्क सञ्चालनमा

blog

बुधबारदेखि व्यवस्थित रुपमा सञ्चालनमा आएको बेनीको कालीपुल बसपार्क । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन ३ गते । डेढ दशकपछि म्याग्दीको सदरमुकामस्थित कालीपुल बसपार्क सञ्चालनमा आएको छ । सङ्घीय, प्रदेश र बेनी नगरपालिकाको संयुक्त लगानीमा बसपार्कमा भौतिक पूर्वाधार निर्माण भएसँगै मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको बसपार्क व्यवस्थित रुपमा सञ्चालनमा ल्याइएको हो । 

बसपार्कमा निर्माण भएको सुविधासम्पन्न टर्मिल भवन बुधबार औपचारिक रुपमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । बसपार्कलाई सरसफाइ गरेर चिटिक्क पारिएको छ । सवारीसाधन व्यवस्थित रुपमा पार्किङ गरेर राखिएका छन् । 

बसपार्कमा टर्मिनल भवन,पार्किङ स्थल ,शौचालय, खाजाघर र प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण भएपछि हिउँदमा धुलो, बर्खामा हिलो र अव्यवस्थित पार्किङको समस्या हटेको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘बसपार्कलाई थप व्यवस्थित र पूर्वाधारयुक्त बनाउन नगरपालिकाले आवश्यक योजना बनाउँछ । मुस्ताङ प्रवेशद्वारका रुपमा रहेको कालीपुल बसपार्कलाई आगामी दिनमा नमुनाका रुपमा सञ्चालन गर्ने योजना छ ।’’    

विगत तीन वर्ष यता बसपार्कलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको थियो । काली गण्डकी नदी कटानको जोखिममा परेको बसपार्कको संरक्षणका लागि तटबन्धन निर्माण, बसपार्क कालोपत्रे, ट्याक्सी र बस पार्किङ स्थल ढलान गरेपछि धुलो र हिलोको समस्या हटेको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । 

बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउन गुरुयोजना अनुसार बसपार्कमा करिब साढे दुई करोड रुपियाँ लागतमा टर्मिनल भवन निर्माण गरिएको थियो । अपाङ्गमैत्री रहेको टर्मिनल भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालय लगायतका पूर्वाधारहरु निर्माण गरिएका छन् । 

बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले कालीपुल बसपार्क गुरुयोजना बनाउन २१ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । डिपिआर अनुसारको निर्माणकार्य अझै बाँकी रहेको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । 

पार्किङमा राखिने सवारी सधानलाई समयको आधारमा २५ देखि दुई सय रुपियाँ प्रति गोटाका दरले शुल्क निर्धारण गरिएको छ । भवन परिसरमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । व्यवस्थित बसपार्क निर्माण भएपछि यातायात व्यवसायीलाई सहज भएको यातायात व्यवसायी लालबहादुर थापाले बताउनुभयो । 

२०६४ मा पर्वत र म्याग्दी जोड्ने काली गण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुल बसपार्क सञ्चालनमा आएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।