• १४ वैशाख २०८१, शुक्रबार

मेरो बिहे (कथा)

blog

मेरो बिहेको दिन बेलुका ओछ्यानमा एक्लै बसिरहेकी थिएँ । ढोका विस्तारै खोलेर मेरो श्रीमान् कोठामा पसे । ढोकाको चक्कुल विस्तारै लगाए । विस्तारै ओछ्यानमा आए र हात अघि बढाउँदै भने “म तिम्रो गाला छुन सक्छु” । मैले उनको हात समातेँ र मेरा गालासम्म पु¥याएँ । उनले मेरो गाला छामे र मलाई सोधे  तिमी कस्ती छौ ?

मैले उत्तर दिएँ “म एकदमै राम्री छु” ।

तर म राम्री छैन । मैले उनलाई ढाँटेँ । विवाह अघि हामीले एकअर्कासँग नभेटीकनै बिहे भयो । मेरो भट्ने इच्छा नै भएन र सायद उनको पनि । भनिन्छ श्रीमान् श्रीमतीमा केही कुरा पनि ढाँट्नु हुँदैन । सबै कुरा खुलस्त भयो भने दाम्पत्य जीवन सहजसँग बित्छ । जब शङ्काको सानो ठाउँ रह्यो भने त्यसले भित्रभित्रै जङ्गलमा डडेलो लागे जस्तो सानो झिल्कोले पूरै वन डडाएर सखाप बनाए जस्तो दुवै जनाको जीवन तहसनहस बनाइदिन्छ । 

मेरो पनि इच्छा त आम केटीको जस्तो नै थियो फरक कहाँ हुन  सक्थ्यो र ? म पनि त त्यही समाजमा नै हुर्किएकी थिएँ ।

एउटा सानो परिवारको कल्पना थियो मेरो पनि ।

मेरा सुन्दर सपना थिए । बिहेपछि रमाइला ठाउँहरूमा हनिमुन जाने । आफूलाई राम्रो लागेको ठाउँहरू श्रीमान्को हात समाउँदै घुम्ने । विभिन्न राम्रा लागेका ठाउँका, दृश्यहरूको कुरा गर्ने । राम्रा राम्रा दृश्यलाई क्यामेरामा कैद गर्ने । मेरा साथीहरूको बिहेपछिको हनिमुनको फोटोहरू सोसल साइटमा देख्दा म पनि यसरी नै हनिमुन जाने छु र यस्तै गरेर फोटो खिच्नेछु भनी मनमनै इच्छाहरूको लामै सूची तयार भएको थियो ।  पोखरा घुम्ने । फेवातालमा डुङ्गाबाट सयर गर्ने फेवातालबाट माछापुच्छे« हिमाल कैद हुने गरी फोटो खिच्ने । यस्तै अनेक अनेक । मेरा सपनाहरू धेरै ठुला थिएनन् । सुन्ने मान्छेलाई लाग्न सक्छ कस्तो केटाकेटी सोचाइ ।

बुवाले सधैँ काली भनेर बोलाउँदा मलाई खुसी लाग्थ्यो र हजुर भन्दै दगुर्दै पुगिहाल्थेँ । सानोमा मलाई कालीको अर्थ थाहा थिएन । जब म जवान हुँदै गएँ त्यसपछि कालीको अर्थ थाहा भयो । त्यसपछि काली भनेर बोलाउँदा म बोल्न छोडेँ । स्कुलमा पनि मिल्ने साथीहरूले त मेरो नामबाट नै बोलाउँथे तर जो मलाई जिस्क्याउने हेतुले बोलाउँथे तिनीहरू  काली नै भन्दथे । परिवारमा सबै जना गोरा छन् । म मात्र कालो कसरी भएँ भन्ने प्रश्न मेरो मनमा सधैँ आइरहन्थ्यो । अहिले पनि छ । कहिलेकहीँ लाग्थ्यो म अस्पतालमा साटिएँ कि । मेरो बाआमा अर्कै छन् कि जस्तो पनि लाग्थ्यो । अर्काे मन भन्थ्यो होइन बा र आमाले त दिदी, दाइ, बहिनीलाई जस्तै मलाई पनि त माया गर्नुहुन्छ यस कारण म साटिएको चाहिँ हैन । मेरो पढाइ मध्यम थियो । जाँचमा पास मात्र हुने । बाह्र कक्षापछि मैले पढाइ छोडेँ । घरभन्दा अलि परको ब्युटिपार्लरमा काम सिक्न थालेँ र पछि त्यहीँ नै काम गर्न पनि थालेँ । मेरो वर्ण कालो थियो । त्यस कारण पनि मैले आफू कसरी गोरी र राम्री हुने भन्नेमै मेरो ध्यान जान थाल्यो । गोरो हुने अनेक थरी क्रिमहरू दल्न थालेँ । बाआमाका हामी चार जना सन्तान । सबै जना दुई वर्षको फरकमा जन्मिएका थियौँ  । विवाह रोलक्रम अनुसार हुनुपर्ने भएन । दिदीको बिहेपछि मेरो पालो आउनुपर्ने तर  मेरो भएन बहिनीको भयो । मलाई हेर्न आउनेले मलाई मन पराएन ।  बहिनीसँग भए गर्ने तर मसँग चाहिँ नगर्ने जवाफ आयो  केटोको घरबाट । यो सुनेपछि मलाई कस्तो कस्तो भयो बहिनीसँग पनि रिस उठ्न थाल्यो । 

कलेजमा पनि सँगैका साथीहरूको केटा साथीहरू थिए । मेरो थिएन । साथीहरू ब्याइफ्रेन्डले दिएको उपहार देखाउँथे । कलेजको एक दुई जना केटा मलाई मन परेको थियो तर भन्ने हिम्मत नै भएन ।

म तिनीहरूको अगाडि कहिल्यै परिनँ । यदि मैले मायाको प्रस्ताव राखेँ र उनीहरूले स्वीकार गरेनन् भने त्यो पीडा सहन सक्ने शक्ति ममा थिएन ।

बाह्र कक्षापछि पनि पढाइ निरन्तर भइरहेको भए कोहीसित मेरो पनि मायाप्रीति बस्थ्यो कि जस्तो लाग्थ्यो धेरै पछिसम्म ।

पढाइ छोडेपछि काममा त केटा मान्छेसँग भेट हुने र गफ गर्ने भन्ने भएन । ब्युटिपार्लरमा केटाहरू आउने कुरै भएन ।

आफू नराम्री भए पनि म दिनहुँ अरूलाई राम्रो बनाइरहेको हुन्थे ।

आपूm  पनि उनीहरूलाई हेरेर मक्ख पर्दथेँ । आफू नराम्री भएको बिर्सन्थेँ । कतिपय मेरा ब्युटिपार्लरका ग्राहकहरूलाई मैले नै शृङ्गार गरिदिनु पर्दथ्यो । मैले धेरै दुलहीको सिँगार गरेँ । साडी लगाइदिएँ । कपाल बनाइदिएँ । मलाई एक दिन आफैँ सिँगारिन मन लाग्यो । मैले आफूलाई यति राम्ररी शृङ्गार गरेँ कि मेरो कालो छाला राम्रैसँग गोरो भएको थियो । सँगै काम गर्नै साथी पनि मलाई जिस्क्याउन थाली कस्तो राम्रो देखेको भनेर । म सुन्दर देखिएँ । यो मेरो रूप देखेपछि मन नपराउने त को होला र ? जस्तो भयो मलाई । तर सोचेँ यो त मेकअप पो हो त अनुहार धोएपछि त फेरि उही स्थानमा अनुहार त आइहाल्छ अनि फेरि के गर्ने नि ?

मेरो विवाह नभएको कारणले गर्दा  बा र आमाका अनुहार सधैँ  उदास हुन्छन् । विवाहका  लागि कति केटाले हेरे अब त मैले गन्न पनि छोडिसकेँ । अब त म केटाहरूको अगाडि उभिँदा उभिँदा थाकिसकेँ । तर मेरी आमा थाक्नुभएको थिएन । बिहे गर्ने मेरो उमेर घर्किसकेको छ । तर मेरी आमाले केटा खोज्न छोड्नुभएको छैन ।

त्यस्तै एक दिन कामबाट घर फर्किंदा आमाको अनुहारमा खुसी देखेँ । 

“के भयो आज तपाईंको अनुहार त उज्यालो छ त ?” मैले सोधेँ ।

 “आज एउटा बिहेका लागि केटाको कुरा आएको छ तेरा लागि,” आमाले भन्नुभयो ।

“छोड्दिनुस् यी कुरा, उसले पनि मलाई हेरेपछि पक्कै पनि बिहे गर्दैन,” मैले आमालाई भनेँ ।

आमाले भन्नुभयो, “उनीहरूले भोलि जवाफ दिन्छन् रे ।”

अखिर किन भोलि आजै हुँदैन भने भइगो नि ।

भोलिपल्ट सधैँ झैँ म आफ्नो काममा व्यस्त भएँ । ब्युटिपार्लरको काम दिनभरी नै उभिएर गर्नुपर्ने । कपाल काट्ने, आँखीभौँ मिलाउने, कपाल रङ्ग्याउने आदि आदि कुनै काम पनि बसेर गर्न नमिल्ने ।  सधैँको समयमा कामबाट लखतरान हुँदै घर आएँ ।

आमाको अनुहार आज फेरि उदास थियो । आमाले सधैँ झैँ मसँग खासै कुरा गर्नु भएन । म मन मनै सोच्दै थिएँ आज जवाफ दिने भनेका थिए । जवाफ नो भयो होला अनि आमा उदास हुनुहुन्छ ।

सधैँ आमालाई बिहेको कुरा गर्न हतार हुन्थ्यो तर आज चुपचाप देखेर मलाई खुल्दुली लाग्यो । धेरैबेरसम्म पनि चुप नै हुनुभयो । 

म चाहन्थेँ, आमाले आज बिहेको कुरा गरे हुन्थ्यो । मलाई हरेक दिन बिहेको कुरा सुन्ने बानी परेको थियो । म सुन्न चाहन्थेँ तर आमा मौन । 

मेरो छटपटी अति भएपछि मैले एकै सासमा सोधेँ

“आमा त्यो हिजोको केटाको के जवाफ आयो त ?”

एक छिनपछि विस्तारै आमाले भन्नुभयो, “मैले नै हुँदैन भनिदिएँ ।”

म जिल्ल परेँ । मलाई सधैँ केटाका तर्फबाट हुँदैन भन्ने सुन्ने बानी परेको तर आज हाम्रो तर्फबाट हुदैन किन भनियो ।

मैले आमासँग झोक्किँदै भनेँ, “किन फेरि हुँदैन भन्न परेको नि ? बल्ल बल्ल पाएको केटा पनि तपाईं गुमाउन चाहनुहुन्छ ? म सधैँ तपाईंको बोझ भएर बस्न चाहन्न । सधैँ छिमेकीको कुरा काट्ने विषय हुन चाहन्नँ ।”

मैले यी सबै यति चर्काे आवाजमा भने कि कोठा नै थर्किरहेको थियो ।

एकछिन पछि भन्नुभयो, “मलाई पनि हुँदैन भन्न त कहाँ मन थियो र ? केटा कमजोर आँखाको छ भन्ने थाहा पाएपछि पो हुन्न भनेको हुँ ।”

म स्तब्ध भएँ । मेरा लागि भगवान्ले यस्तै जोडी बनाएका रहेछन् त ?

रातभरिको छटपटिपछि मैले आमालाई भनेँ “म उसैसँग बिहे गर्छु ।”

आमाले हुँदैन भनिरहनुभएको थियो तर मेरो जिद्धिले उसैसित बिहे गरेँ र आमाको बोझ कम गरिदिएँ । मेरा इच्छा, सपना एकातिर पन्छाएर । 

थापाथली, काठमाडौँ