‘प्रेम अमर रहेछ । प्रेम दुबोजस्तो हुँदोरहेछ । प्रेम चन्द्रमा जस्तो रहेछ र रहेछ प्रेम समुद्र जस्तो । प्रेमले यो उमेर, त्यो उमेर पनि भन्दो रहेनछ । प्रेम अमूल्य रहेछ रे, अमृत रहेछ प्रेम । प्रेमको कुनै नियम हुँदोरहेनछ र प्रेमको कुनै साँध, सिमाना पनि हुँदोरहेनछ । लाग्छ प्रेम नगरिएको जीवन बाँच्नका लागि केवल बाँच्नका लागि सङ्घर्ष गरिरहेको मेसिन जस्तो हुँदोरहेछ । कुन दिन मेसिनको कुनै पाटपुर्जा अकस्मात् चुँडिन्छ र मेसिन जस्तो जीवनको अन्त्य हुन्छ । तर प्रेम गरिएको जीवनको मृत्यु भए पनि प्रेमको अन्त्य हुँदैन, त्यो अजर अमर भइरहन्छ । चोखो प्रेममा यौनको तृष्णा नहुन पनि सक्छ... ।’ यस्तै केके केके मनमा गुनिरहँदा मधुर आवाजमा बजिरहेको रेडियोमा पुरानो गीत गुन्जियो–
‘चट्टै छिन्यो टेलिफोन तार
आउन छोड्यो मायाको खबर...’
मेरो कान कसो कसो ठाडो भयो । मैले रेडियोको भोल्युम अलिकति बढाएँ । यो पुरानो गीत अहिले मलाई नयाँ भयो । टेबुलमा बजिरहेको रेडियोतर्फ नै मेरो नजर मोडिएको थियो । केही क्षणमा गीत बजेर सकियो । रेडियोमा अरू–अरू केके केकेको विज्ञापन बज्नथाल्यो । तर मेरो मनको अन्तर तहमा चाहिँ ‘चट्टै छिन्यो टेलिफोन तार’ हरफ रननन बजिरह्यो । ‘आउन छोड्यो मायाको खबर’ मेरो भित्र भित्र दिलभरिभरि रननन गुञ्जिरह्यो ।
यो त्यही समय थियो, सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेको थियो । यो त्यही समय थियो, वि.सं. २०७८ साल फागुन १२ मा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी नेपालको सदनमा सरकारद्वारा टेबुल भएको थियो र सदनमा सहमति र असहमतिको किचलो बबन्डर भइरहेको थियो । सदन र सडकको वातावरण रनक्कै तातिरहेको थियो । उक्त एमसिसी सन् २०२२ फेब्रुअरी १६ को समय सीमाभित्र अनुमोदन गरिसक्नुपर्ने अवस्था थियो । समाजवादी दलहरू एमसिसी पास गर्ने पक्षमा थिए भने साम्यवादी दलहरू एमसिसी नेपालका लागि राष्ट्रघाती हुने भनी सुझाइरहेका थिए । अन्ततः २०७८ फागुन १६ गते संसद्बाट बहुमतले एमसिसी अनुमोदन भएको थियो ।
अँ, मेरो मन चाहिँ ‘चट्टै छिन्यो टेलिफोन तार...’ ले तानिरहेको थियो । मेरो मनको अन्तर तहमा कतै केही चट्ट चुँडिए झैँ भइरहेको थियो । त्यो क्षणमा शरद ऋतुको बिहान पहाडको चुचुरोबाट घाम उदाउँदाको दृश्य झैँ मेरो मनको सम्झनाको चुचुरोमा मनमाया झलल्ल उदाउनुभयो । रमाइलो सम्झनाका टुक्राहरू सम्झनाकै रुमालमा पोको पारेर राख्नु र बेलामौकामा सो रुमाल फुकाएर हेर्नुमा आनन्द हुँदोरहेछ । सो बेला आफूले आफैलाई बिर्सिइँदो रहेछ ।
के रहेछ, के रहेछ यो प्रेम भनिने चिज, आँखाका आँखैमा बस्दोरहेछ । त्यो आँखाको भाषा मुस्कानमा बर्सिएपछि आफैले आफैलाई बिर्सन थालिँदो रहेछ ।
एक दिन, त्यो एक दिन मनमायासँग चोखो प्रेम–प्रीति गाँसिने संयोग जुरेको हो कि के हो कुन्नि ! जसै म बिहानको अखबार किन्न जानलाई भाडाको घरको फ्ल्याटको ढोका खोल्नलाई खापा तानेको मात्र के थिएँ उहाँ त्यहाँ त्यत्तिखेर बिहानको चिया खाने सीताराम दुधको पोको लिएर ढोकैमा आइपुग्नु भएको रहेछ । उहाँ फिस्स हाँस्नुभयो । फिस्स मुस्कुराहटको उत्तर मैले पनि फिस्स हाँसेरै दिएँ । उहाँ भित्र पस्नुभयो । म बाहिर बाहिरिएँ । पत्रिका पसलतर्फ बाहिरिन त म बाहिरिएँ तर त्यो उहाँको फिस्स मुस्कुराहट चाहिँ मभित्र भित्र कहाँ कहाँ पसेछ । उफ् ! त्यो फिस्स मुस्कुराहट हृदयको पानाभित्र कहाँ कहाँ पसेछ । हृदयको पानाभित्र कहाँ कहाँ पसेछ... ।
काठमाडौँबाट प्रकाशित हुने दैनिक पत्रिकाहरू शनिबारको अङ्क पाँच सातवटा प्रायः म किन्ने गर्छु र किनेँ त्यो दिन पनि । किनिसक्नासाथ छिट्छिटो हानिएँ कोठातर्फ । मलाई त्यो बिहान पत्रिकाले भन्दा पनि त्यो फिस्स मुस्कुराहटले तानेको छ । त्यो फिस्स मुस्कुराहट भित्र कहाँ कहाँ बसेको छ ।
काठमाडौँको कपनमा भण्डारी गार्मेन्टदेखि नजिकै कोठा भाडामा बस्ने हामी त्यस घरको फ्ल्याटमा चारवटा कोठामध्ये अगाडिपट्टिको कोठामा म बस्छु । फ्ल्याटको तेस्रो कोठामा उहाँको बसाइ छ । चार वटा कोठाको रेस्टरुम एउटै मात्र छ । कहिलेकाहीँ पेट गडबड भएको अवस्थामा कुनै अर्को मान्छे रेस्टरुममा पसेको छ भने पर्खन कत्रो मुस्किल हुने गर्छ, त्यो भोग्नेलाई मात्र थाहा छ ।
फ्ल्याटमा पुगेर कोठाको साँचो खोल्दै गर्दा उहाँ रेस्टरुमबाट फुत्त निस्कनुभयो । हाम्रो हँसिलो नजर फेरि जुध्यो । म फ्याट्टै बोलिहालेँ, “पत्रिका पढ्नुहुन्छ ?” “हुन्छ, पढौँ न”, उहाँले भन्नुभयो । पत्रिका उहाँलाई दिएँ र म कोठाभित्र पसेँ ।
कोठाभित्र पस्नासाथ दैनिकको हेडलाइनहरूमा आँखा दौडाएँ । तर आँखा पत्रिकामा मेरो मन चाहिँ मनमायाको “हुन्छ, पढौँ न” बोलीमा दौडिरहेको छ । हामीबीच एकआपसमा कुनै औपचारिक परिचय भएको छैन । उहाँको नाम के हो ? घर कहाँ हो ? कुन अफिसमा कार्यरत हुनुहुन्छ जस्ता कुराका बारे केही थाहा छैन । म अहिले सम्झन्छु, पुरानो परिचित व्यक्तिहरूसँगको कुराकानी जस्तो गरी म कसरी त्यसबेला फ्याट्ट बोल्न सकेको “पत्रिका पढ्नुहुन्छ ?” भनेर ।
केही समयपश्चात पत्रिका लिएर उहाँ मेरो कोठाको खुलै राखिएको सिसाको झ्यालमा बाहिर उपस्थित हुनुभयो र भन्नुभयो, “पत्रिका लिनुस् दाइ !” पत्रिका लिएँ । अनि त हाम्रो औपचारिक परिचय आपसमा भयो, उहाँ कोठा बाहिर झ्यालनिर उभिएर म कोठाभित्र झ्याल छेउनिर भएर । मानौँ अब हामी पुरानो परिचित मित्र जस्तो भयौँ । यति छिट्टै छोटै समयमा नै हामी झ्यामिन पुग्यौँ ।
रोजरोजै हाम्रो बोलीचाली बाक्लिँदै गयो । हुँदाहुँदै प्रत्येक दिन शुभ बिहानी र शुभ साँझ आदान–प्रादनमा पुग्यौँ । यस्तैमा एक शनिबार बेलुकीको चार बजेर सत्र मिनेट हुँदा हाम्रो घरपट्टि बा टाढैको दूरीमा उभिएर बोलाउनु भयो र हामीलाई भन्नुभयो, “मेरी श्रीमतीलाई कोरोना पुष्टि भयो, तपाईंहरू सुरक्षित हुनुहोस् ।” अब हामी अनायास चिहिल–बिहिल अवस्थामा पुग्यौँ । उहाँ कोठामा साँचो लगाएर उहाँको घर चितवन हानिनुभयो । म मेरो घर सङ्खुवासभातिर हुर्रिएँ । त्यस घरमा बस्ने अरूहरूले केकसो गरे कुन्नि, थाहा भएन । पछिबाट उहाँले आफ्नो जागिर उतै सरुवा मिलाउनुभयो । म सङ्खुवासभातिरै बस्न थालेँ ।
“...म उस्तै छु, मेरो चाहना उस्तै छ । भन्छन् कोही कसैले ‘प्रेम सृष्टिको उपहार हो र प्रेम आफैमा सुन्दर हुन्छ’ म सम्झनाको सुन्दर बगैँचामा सिर्जनाको बिउ छरेर प्रेमका फूलहरू गोडिरहेछु । जिन्दगीमा चोखो प्रेमको न्यानो अनुभव सँगालिरहेछु । यो प्रेम भनिने चिज अवसर पाउनासाथ आफसे आफ पलाएर मौलाउँदोरहेछ । खासमा प्रेम भगवान नै हो किनकि प्रेमले जीवन चलाउँछ । प्रेमले कहिले हसाउँछ र कहिले रुवाउँछ पनि । प्रेमभित्र विराट् क्षमता हुन्छ र प्रेमले सुन्दर संसार सिर्जना गर्न सक्दछ । अनि विध्वंस पनि मच्चाउन पुग्छ । त्यसो त प्रेम एउटा सृष्टि हो र सृष्टिका लागि प्रेम हो । प्रेम अमर छ र यो अमर प्रेम छोटो जीवनको थाँक्राेमा लहरिँदै लहरिँदै जाँदोरहेछ । यस्तै केके केके मनमा सोच गरिरहँदा रेडियोमा अघिको विज्ञापनको समय सकिएछ र ब्रेकपछिको पुराना गीत गुञ्जन कार्यक्रममा फेरि अर्को पुरानो गीत गुञ्जियो :
‘वनै खायो डढेलोले
मनै खायो
त्यै मोरीको पापी मायाले...’
भोजपुर, कुलुङ